राजनीतिले पुँजीवाद ल्यायो,
धनको शक्तिमा ‘सामन्ती’ आयो,
दैनिक जीवनमा मानवता हरायो,
सायद त्यसैले कोरोना आयो ।

शासकहरुमा अभिमान पलायो,
यत्रतत्र विकृति मौलायो,
जनतामा निराशा छायो,
सचेत गराउन कोरोना आयो ।

‘सत्ता शक्ति’ ले ‘स्वार्थ’ फैलायो,
समयको खेलले ‘बर्ग’ जन्मायो,
जनजाति पनि ‘बर्ग’ मा बिलायो,
यही सन्देश दिन कोरोना आयो ।

दुईचार जनाले प्रमोशन पायो,
प्रमोशन लिनेले ‘बाहुनवाद’ समायो,
सत्ता निकटहरु सबै रमायो,
त्यसैले यहाँ कोरोना आयो ।

जताततै भ्रष्टाचार छायो,
युवाहरुलाई बेरोजगार बनायो,
जनशक्तिलाई विदेश धपायो,
आफ्नो देशमा कोरोना भित्रायो ।

विकासलाई डनहरुले खायो,
मन्त्रीहरु कमिशनमा रमायो,
आम जनताले लोप्पा खायो,
त्यसैले यहाँ कोरोना आयो ।

ईमान् जबान् सबै हरायो,
सत्भाव सहकार्य सबै बिलायो,
सत्य निष्ठामा प्रदुषण मौलायो,
अज्ञानताले कोरोना बोलायो ।

–डा. केके राई

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here