काठमाडाैं । नेपाल लकडाउनका कारण यतिबेला सबै कलाकार घरमै छन् । चलचित्रको छायांकन नहुँदा र घरमै बस्नुपर्दा कतिपय कलाकारले आराम गरिरहेका छन् । केही कलाकार भने अहिले घरमै बसेर आफ्नो छायांकन हुने फिल्मको स्क्रिप्ट पढ्नमा व्यस्त छन् ।

यस्तै, अभिनेता दयाहाङ राई पनि आफ्नो अब छायांकन हुने फिल्मको तयारीमा जुटेका छन् । लकडाउन खुलेपछि अभिनेता दयाहाङ लगातार ६ महिनासम्म फिल्मको छायांकनमै व्यस्त हुने भएका छन् ।

अभिनेता दयाहाङको यतिबेला एउटा फिल्मको छायांकन रोकिएको छ भने उनले खेल्ने बाँकी तीनवटा फिल्मको छायांकन नै सुरु भएको छैन । यी चारवटा फिल्मको लगातार छायांकन सक्न दयाहाङलाई कम्तीमा ६ महिना लाग्ने भएको छ ।

सञ्चारकर्मी दीपेन्द्र लामाको निर्देशनमा तयार भइरहेको फिल्म ‘२ नम्बरी’को छायांकनमा दयाहाङ यसअघि व्यस्त थिए । सो फिल्मको छायांकन सुरु भएको १० दिनमै सरकारले २५ जनाभन्दा धेरै एकै ठाउँमा भेला हुन नपाउने भन्दै कोरोनाविरुद्ध सचेत रहन आदेश दियो । त्यसपछि दयाहाङले अभिनय गरिरहेको चलचित्र ‘२ नम्बरी’को छायांकन नै रोकियो । यो फिल्मको छायांकन जम्मा १० दिन मात्र भयो । निर्देशक लामाको अनुसार लकडाउनपछि दयाहाङले सुरुमा चलचित्र ‘२ नम्बरी’को छायांकन सम्पन्न गर्नेछन् । त्यसपछि मात्र उनले अरू फिल्म खेल्ने भएका छन् । यो चलचित्रमा अभिनेता दयाहाङले भुटानी नायिका छोदेनसँग जोडी भएर काम गरिरहेका छन् ।

चलचित्र ‘२ नम्बरी’को छायांकन सकेपछि सम्भवत आगामी जेठको दोस्रो सातामा अभिनेता दयाहाङ अर्को नयाँ चलचित्र ‘के घर के डेरा’को छायांकनमा व्यस्त हुनेछन् । चैतको दोस्रो साताबाट छायांकन सुरु गरिने भनिएको यो चलचित्र कोरोना संक्रमण र लकडाउनकै कारण दुई महिनापछि सरेको छ । सुव्रत आचार्यले निर्देशन गर्ने चलचित्र ‘के घर के डेरा’मा दयाहाङ राईसँगै विपिन कार्की, वर्षा राउतलगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

दयाहाङले सुटिङ सम्पन्न गर्नुपर्ने अर्को चलचित्र रेखा थापाको रहेको छ । सविर श्रेष्ठले निर्देशन गर्ने भनिएको रेखा थापाको फिल्म आगामी वैशाखको दोस्रो साताबाट छायांकन गर्ने तयारी हुँदै थियो । तर, मुलुकको अहिलेको अवस्थाको कारण रेखाको फिल्म पनि अझै दुई महिनापछि मात्र छायांकन सुरु हुने अवस्थामा पुगेको छ । दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।

यी तीनवटा चलचित्रको छायांकन सकेपछि अभिनेता दयाहाङले रामबाबु गुरुङको फिल्म कबड्डीको नयाँ शृंखला गर्नुपर्नेछ । यो फिल्मको अहिले स्क्रिप्ट लेखनको कार्य हुँदै छ । फिल्ममा दयाहाङ, रिश्मा गुरुङ, कर्मालगायतको मुख्य भूमिका हुने भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here