मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिककोतर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउने बताएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल भारत मानव विकासमैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) बुझ्दै मन्त्री ढकालले सो कुरा बताएका हुन् ।

उनले सरकारले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको बताए ।

उनले भने, ‘कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल बढाउन यस्ता सहयोगी मन र सामग्रीले बल पुर्याउँछ । सरकारले पनि मनोबल बढाउनका लागि विभिन्न काम गरेको छ ।’

उनले सरकारले एम्बुलेन्स चलाउनेदेखि उपचार कक्षामा रहेर काम गर्ने स्वास्थ्यकर्मीसम्मको मनोबल बढाउन बीमा र भत्ताको व्यवस्था गरेको बताए ।

मन्त्री ढकालले स्वाथ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्री अभाव हुन नदिने प्रतिवद्धता जनाए ।

उनले लामो समयदेखि सत्तामा विभिन्न दल हुँदा पनि नभएको काम आफूले विषम परिस्थितिकै बीचमा पनि गरेको बताए ।
मन्त्री ढकालले दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी प्रयोगशालाहरूको स्थापना गरिएको र सच्चालनमा ल्याइएको बताए ।

उनले भने, ‘यति लामो समयसम्म सत्ताको नेतृत्वमा विभिन्न दल भए पनि यो विषम परिस्थितिमा केन्द्रीय प्रयोगशालको सेवा सातै प्रदेशमा लैजाने काम व्यवहारमै गरेका छौँ ।’

मन्त्री ढकालले स्वास्थ्यका केही सामग्री उपलब्ध भए पनि अझै पूर्ण रूपमा सामग्री संकलन गरेर सम्बन्धित ठाउँमा पुर्याउने काम भइरहेको बताए ।

एनएमबी ग्रुपले चीनबाट ल्याएको सात सय थान पिपिई हस्तान्तरण गरेको छ भने नेपाल भारत मैत्री विकास संघले नेपालमै उत्पादन गरिएको तीन सय थान पिपिई हस्तान्तरण गरेको छ ।

पिपिई हस्तान्तरण कार्यक्रममा शहरी विकास राज्यममन्त्री रामवीर मानन्धर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, एनएमबी ग्रुपका तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मैत्री संघका तर्फबाट अध्यक्ष सूर्य भुसाल लगायत उपस्थित थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here