जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि जस्तोसुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिन तथा आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तु किन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिए ।

कोरोनाभाइरसका कारण विश्व नै त्रसित भएको बेलामा समान्य रुघाखोकी समेतको उपचारमा चिकित्सक तथा अस्पतालहरुले हेलचक्र्याई गरिरहेको गुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकहरुलाई सूची तयार गरि प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए ।

उनले भने, ‘राज्यको सुविधा प्रयोग गरे पनि संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारबाही गर्छौ, तपाईंहरु सिफारिस गर्नुस् लाइन्सेन्स खारेजीसम्मको कारबाही हुन्छ ।

महामारी नियन्त्रणको लागि आवश्यकता अनुसारको व्यवस्था जिल्लास्तरमै गर्न सुझाव दिदै मुख्यमन्त्री राउतले रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत जनाए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राखेकाे जिज्ञासामा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव र उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायले सम्बन्धित विषयहरुमा आ–आफनो धारणा राखेका थिए भने मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले अहिले विषेश परिस्थितमा गर्नुपर्ने काम र कानूनी अवस्थाबारे धारणा राखेका थिए ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकहरु सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here