काठमाडौं । नेपालमा थप एक जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । योसँगै कोरोनाभाइरस संक्रमितको संख्या ५ पुगेको छ ।

तर, दुईजना भने निको भएर अस्पतालबाट फर्किसकेका छन् ।

पाँचौ संक्रमित व्यक्ति बागलुङकी युवती हुन् । उनी गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट नेपाल आएकी हुन् ।

यसअघि फ्रान्सबाट कतार हुँदै सोही विमानबाट नेपाल आएकी १९ वर्षीय युवतीलाई पनि कोरोनाभाइरस लागेको थियो ।

काठमाडौंको अनामनगर घर भएकी उनी उपचारपछि निको हुने दोस्रो व्यक्ति हुन् । तर, हाल उनी डाक्टरकै निगरानीमा घरमा बसिरहेकी छन् ।

शनिबार कोरोनाभाइरस लागेको प्रमाणित भएकी युवती बागलुङ नगरपालिकाकी हुन् ।

बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनी काठमाडौंबाट माइक्रो चढेर बागलुङ पुगेकी थिइन् । घर पुगेको ३ दिनपछि उनलाई ज्वरो आएको थियो ।

उनी अस्पताल गइन् । तर, डाक्टरलाई बेल्जियमबाट आएको कुरा भनिनन् । डाक्टरले सामान्य ज्वरो आएको भन्दै घर पठाएकाे थियाे ।

कतार एयरवेजको क्युआर ६५२ जहाजबाट नेपाल आएकी युवतीलाई कोरोनाभाइरस लागेको पत्ता लागेपछि उक्त जहाजबाट नेपाल आउनेहरुको नाम सार्वजनिक भएको थियो ।

जसमा बागलुङ नगरपालिकाकी ती युवतीको पनि नाम देखेपछि नगरपालिकाले घरमै गएर उनको स्वाब परीक्षण गरेको थियो ।

सो क्रममा उनलाई कोरोनाभाइरस पोजेटिभ भएको देखिएको हो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलका अनुसार हाल उनलाई धौलागिरी अस्पतालमै उपचार गर्ने कि काठमाडौ ल्याउने भन्ने सल्लाह भइरहेको छ ।

कतार एयरवेजको क्युआर क्युआर ६५२ जहाजबाट नेपाल आएका १५८ मध्ये ८३ जना क्वारेन्टाइनमा रहेका छन् । बाँकी ५ जना विदेशी बाहेक ७० जना कहाँ छन् भन्ने विषयमा सरकार अनविज्ञ छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here