भाँचिएकाे तरबार । तस्बीर भूपेन्द्रकुमार राईबाट

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ हलेसीगढीस्थित होलेसुङ चौतारीमा रहेको ढुंगाको तरबार तोडफोड गरिएको छ । तरबार दुई टुक्रा पारिएको आफूहरुले हिजो (शुक्रबार) मात्र थाहा पाएको स्थानीय भूपेन्द्रकुमार राईले बताए ।

होलेसुङ चौतारीको परिकल्पनाकार समेत रहेका उनले उक्त तरबार कि उरुन्ठेउला केटाहरुले कि त होलेसुङको प्रगति देख्न नचाहनेहरुले नै तोडफोड गरेको हुन सक्ने बताए ।

ढुंगा कुँदेर निर्माण गरिएको उक्त तरबार चौतारीको छानामाथि राखिएको थियो । जहाँ स्टिलको धनुषबाँण समेत राखिएको छ ।

तरबार ताेड्नुअघि चाैतारीकाे छानामा रहेकाे तरबार र धनुषबाँण

हलेसी थुमका राजा होलेसुङ र उनका दश भाइ छोराहरुको सम्झना र सम्मानका लागि तीन महिनाअघि मात्र होलेसुङ चौतारी निर्माण गरिएको थियो ।

कोरोनाभाइरस रोकथामका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि वातावरण सुनसान बनेको मौकामा होलेसुङ चौतारीमा तोडफोड भएको हो ।

अज्ञात व्यक्तिबाट तरबार तोडफोड भएको थाहा पाउनासाथ आफूहरुले नगरपालिकाका प्रमुख इवन राई र स्थानीय सुरक्षा प्रशासनलाई जानकारी गराएको राईले बताए । उनले भने, ‘नगरप्रमुखबाट सत्यतथ्य पत्ता लगाई जो कोहीलाई भए पनि कारबाही गर्ने आश्वासन प्राप्त भएको छ ।’

हलेसीगढी नेपालकै ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक महत्वका गढीहरुमध्ये एक प्रमुख गढी हो ।
नेपालमा बाइसे–चौबिसे राज्यहरु भएको बेला हलेसी थुममा राजा होलेसुङ र उनका दश भाइ छोराहरुले शासन गरेका थिए । सो स्थानमा होलेसुङ दरबारको भग्नावशेष अहिले पनि देख्न सकिन्छ ।

राजा होलेसुङको सम्झनामा स्थानीयबासी तथा विभिन्न राजनीतिक दलका व्यक्तिहरुको सल्लाहअनुसार हाल सो क्षेत्रमा होलेसुङ पार्क निर्माण कार्य पनि भइरहेको छ ।

उक्त क्षेत्रलाई नगरपालिकाको ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी स्थानीय समुदायलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउने लक्ष्य राखिएकाे छ ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here