दार्चुला । मार्मा गाउँपालिका–५ मुरैका पानसिंह महताले बुधबार बिहानैबाट मार्माको लटिनाथमा क्वारेन्टाइन खोज्दै आए पनि भेटाउन सकेनन् ।

उनी भारतको बंग्लोरबाट कञ्चनपुरको बनबासा नाका हुँदै बुधबार बिहान मार्मा गाउँपालिकाको लटिनाथ बजार पुगेका थिए ।

बंग्लोरमा आफूसँगै काम गर्ने एक जना भारतीय नागरिकको मृत्यु भएको हुनाले उनले आफूलाई कोरोना संक्रमणको आंशकाका कारण उनी आइसोलेशन कक्षमा राख्न अनुरोध गरेका थिए ।

उनले बिहानैबाट आफूलाई क्वारेन्टाइन कक्षमा राख्न इलाका प्रहरी कार्यालय लटिनाथलाई अनुरोध गरेका थिए । त्यसको व्यवस्था नभएको प्रहरीले जनाएपछि उनी दिनभरि अलपत्र परे ।

स्वास्थ्य चेकजाँच नगरीकन घर जानलाई उनकाे मनले मानेन । उनले भने, ‘कोरोना संक्रमण भए घर परिवारलाई सर्ने हुँदा घर नगइकन बसिरहेको छु ।’

तर साँझमा भने उनी लटिनाथकाे एक स्कुलमा क्वारेन्टाइनमा पुगे ।

मार्मा गाउँपालिकामा दिउँसोसम्म क्वारेन्टाइनकाे व्यवस्थापन हुन सकेको थिएन । अहिले तराईका गौरीफन्टा र बनबसा नाकाबाट मार्मा गाउँपालिकाका २२ र अपीहिमाल गाउँपालिकाका १० जना आउँदै गरेकाेले रस्कोट माध्यमिक विद्यालयको ५ कोठामा ३० बेडको अस्थायी क्वारेन्टाइन बनाउने तयारी भइरहेको स्थानीय दिनेशबहादुर सिंहले बताए ।

तराईबाट आइरहेको कोही सिधै गाउँघरतिर जाँदैछन् । भारतका विभिन्न ठाउँबाट अहिले गाउँमा आउने क्रम बढिरहेको र मानिसहरु सिधै गाउँ पुगिसकेका छन् । यसले कोरोनाको संक्रमण गाउँमा बढ्ने सम्भावना बढिरहेको उनकाे भनाइ छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here