जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस संक्रमण बढ्न थालेपछि प्रदेशवासीको नाममा ६ बुँदे सन्देश जारी गरेका छन् ।

मुख्यमन्त्री राउतले बुधबार उक्त सन्देश जारी गरेका हुन् ।

यस्ता छन् अनुराेधः

आदरणीय प्रदेशवासी दिदीबहिनी तथा दाजुभाईहरु
१. विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकार, निजी क्षेत्र, गैसस र सम्पूर्ण जनसमुदायलाई आआफ्नो स्थानबाट योगदान गर्न हार्दिक आग्रह गर्दछु ।

२. आफ्नो स्थानीय तहमा गत दुई हप्ताभित्र अन्यत्रबाट आएका संक्रमण संकास्पद व्यक्तिहरुको पहिचान गरी त्यस्ता व्यक्तिहरु भेटिएमा तत्काल छुट्टै राख्ने प्रबन्ध (आइसाेलेशन) मिलाउनुहुन र यस सम्बन्धमा कुनै पनि किसिमको सहयोग र सहायता आवश्यक भएमा प्रमुख जिल्ला अधिकारी वा प्रदेशस्तरीय एकिकृत सूचना केन्द्रमा सम्पर्क गर्नुहुन सवै पालिका प्रमुखहरुलाई अनुरोध गर्दछु ।

३. नेपाल सरकारले घोषणा गरेको देशव्यापी लकडाउनलाई सफल पार्न सम्पूर्ण जनसमुदाय, जनप्रतिनिधि, संचारकर्मी, नागरिक समाज राष्ट्रसेवक, निजी क्षेत्र, गैससलगायत सबैलाई विशेष अनुरोध गर्दछु ।

४. निहित स्वार्थ राखी दैनिक उपभोग्य सामानहरुको कृत्रिम अभाव सिर्जना गर्ने, कालाबजारी गर्ने जस्ता जनविरोधी एवं गैरकानूनी क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैमा अनुरोध गर्दछु । यस्ता किसिमका गलत कामकारवाही भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गर्दछु । जनतालाई दैनिक उपभोग्य सामानहरुको सहज र सुलभ आपूर्तिको व्यवस्था मिलाउन एवं बजारको अनुगमन प्रभावकारी तुल्याउन सम्बद्ध निकायलाई निर्देश गर्दछु ।

५. कोरोना संक्रमण नियन्त्रण गर्न प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको छ । यस क्रममा आइपर्ने कुनै पनि किसिमका समस्या समाधान गर्न प्रदेश सरकारको संयन्त्रहरु तयारी अवस्था रहेको छ । सुरक्षाकर्मी स्वास्थ्यकर्मीलगायत यस कार्यमा अहोरात्र खटिने जनशक्ति सबैलाई सहयोग पुर्याउनुहुन समेत आव्हान गर्दछु ।

६. दक्षिणी सिमाका सबै साना ठूला प्रवेशद्वारमा विशेष निगरानी र सुरक्षा व्यवस्था मिलाउनु हुन सुरक्षा संयन्त्रलाई विशेष अनुरोध गर्दछु । साथै संकटको यस घडीमा जनताको जीउधनको सुरक्षामा कुनै किसिमको आँच आउन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुहुन समेत निर्देश गर्दछु ।
धैर्य र संयमित भई घरमा नै बसौं, आफू र आफ्नाको जीवन जोगाउने पूण्य कार्यमा सहयोग गरौ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here