–युवराज संग्रौला

हामी सबैले गम्भीर चिन्तन गर्नुपर्ने अवस्था आएको छ । हामी एउटा राष्ट्र हौं । त्यसैले हामीले एउटा राष्ट्रकाे जस्तो व्यवहार गर्न जान्नुपर्छ । हामी अहिले संसार नै अप्ठ्यारो अवस्थामा आएका छौँ । धेरै कुराहरु बाहिर प्रकट भएका छन् र देख्न सकिन्छ । मन्थन गरौँ, चिन्तन गरौं, फेरि मन्थन गरौँ ।

१. जब चीन कोरोना भाइरसका विरुद्ध लडाइँ लडिरहेको थियो । वुहान बन्द गरिएको थियो । चिनियाँ जनता आतंकित थिए । चीन विश्वलाई सहयोग र सद्भावका लागि आह्वान गरिरेहेको थियो । तर, त्यसबेला युरोप र अमेरिका ठट्टा गर्दै थिए । ट्रम्पले पटक-पटक चिनियाँ भाइरस भनी व्यङ्ग्य गरे । युरोपका शहरमा चिनियाँ मानिसहरु कुटिए । नेपालमा एउटा पत्रिकाले मजाक गर्दै माओको मुखमा मास्क लगाएको तस्बीर छाप्यो ।

नेपाल सरकारले मानवताका आधारमा सिमाना जोडिएको छिमेकीलाई सहयोग गर्नुपर्छ भनेर मैले लेखें । स्वयंसेवक आफ्नो इच्छाले जान चाहने एउटा चिकित्सकको समूह चीन पठाउनुपर्थ्यो । नेपालले चीन सँगको कुटनीतिमा ठूलो त्रुटी देखायो, त्यसबेला । चीन गएका नेपाली विद्यार्थीलाई घर आउने अधिकार थियो । तर, सरकारले रेस्क्यु, इभ्याक्युएशन वा उद्धार जस्ता गलत शब्द प्रयोग गर्यो । चिनियाँ जनताप्रति त्यसबेला जुन संवेदना हामीले देखाउनुपर्थ्यो, हामीले देखाएनौं । हामीलाई त्यसले कतै छोएन । तर, जब माहामारी पश्चिम पुग्यो, हाम्रा आँखा अचानक खुले ।

२. यो भाइरस रोग थियो । यसकाे राष्ट्रिय थिएन । यो मानिसको विरुद्ध थियो । राष्ट्रियताको विरुद्ध थिएन । तर, युरो-अमेरिकन संचारमाध्यमले यसलाई राजनीति ठट्टामा बदले । साप र चमेरो खाएर त्यस्ताे भएको भनेर लेखे । पश्चिमी संस्थाले जनावर मारेको पाप कराएको भनेर लेखे । केही नेपाली संचारमाध्यमले पनि यही कुरा दोहोर्याए ।

अब चीन सकियो भनेर पश्चिमले खुसी देखायो । जब रोगका विरुद्ध लडाइँ सुरु गर्यो चीनले । अधिनायकवादको कुरा उठाए । कुटिकुटी मानिस थुनेको आरोप लगाए । अर्थात रोगलाई राजनीतिकरण गरे । त्यसकाे नक्कल गर्ने नेपालमा पनि थिए । पश्चिमी मुलुकले त्यसबेला चीनलाई यस माहामारीका विरुद्ध सहयोग गर्नुपर्ने थियो । रोगमा राजनीति गर्नु हुने थिएन ।

३. अहिले चीनले बदला लिएन । चीनले अन्तराष्ट्रिय दायित्वलाई राम्रोसँग आगाडि बढाइरहेको छ । उसले अहिले समवेदना र मानवीयताका आधारमा युरोपलाई सहयोग गर्नुपर्छ भन्ने ठान्यो । उसले सहयोगका हात अगाडि बढायो । अहिले नेपाली पत्रकार माओका मुखमा टासेको मास्कले युरोपिएन जनताका मुखमा पस्नबाट भाइरस रोकिरहेका छन् । यस माहामारीले विश्वका थुप्रै लुकेका कुराहरुलाई पनि बाहिर ल्याएको छ ।

क. युरोप र अमेरिकामा भएको विज्ञानकाे विकास मानिसको जीवन बचाउने क्षमता, प्रविधि र औषधीको खोज, अनुसन्धान र निर्माण भन्दा हातहतियार र अन्यथा प्रयोगका कुराहरुमा भएको रहेछ । जुन क्षमता चीन, कोरिया र जापानले कोरोना रोक्न देखाए, जस्ता उपकरणहरु प्रयोग गरे, त्यो युरोप र अमेरिकामा देखिएन । यो भ्रष्ट पुँजीवादी उपभोक्तावादी अर्थतन्त्रको विशेषता रहेछ ।

चीन विश्वलाई सहयोग र सद्भावका लागि आह्वान गरिरेहेको थियो । तर, त्यसबेला युरोप र अमेरिका ठट्टा गर्दै थिए । ट्रम्पले पटक-पटक चिनियाँ भाइरस भनी व्यङ्ग्य गरे ।

ख. पुँजीवाद र समाजवादको बिचको फरक प्रष्ट देखिएको छ, अहिले । चीनमा जब यो भाइरसका विरुद्ध लडाइँ चलिरहेको थियो, सबैलाई सरकारले गर्ने सहयोग उस्तै थियो । गरिबले काम गर्न नपाएर मर्नुपर्ने र धनीले अलिसान महलमा आइसोलेसनमा बस्ने स्थिती देखिएन । तर, पुँजीवादी अमेरिकामा धनीका लागि महंगा अस्पताल छन्, सबै सुबिधा छ्न् । तर, तल्लो आर्थिक अवस्था भएका जनताको हालत खराब छ । त्यहाँका संचारमाध्यामले त्यो कुरा किन बाहिर ल्याउदैनन् ? किनभने सबै संचारमाध्याम कर्पोरेट हाउसका अधिनमा छ्न् र उनीहरुको स्वार्थ भ्रष्ट पुँजीवादको सेवा गर्नु हो ।

यता नेपालमा पनि उनकाे प्रभाव छ । त्यसैले ट्रम्पकाे मुखमा मास्क लगाएको तस्बीर छाप्दैनन् । माहामारीको सामाना गर्न पुँजीवाद असफल हुने रहेछ भन्ने कुरा २० हजार मानिसमा संक्रमण हुँदा ६००० मरेका घटनाले पुष्टि गर्छ । नेपालमा पनि धनीहरुको यो माहामारी रोक्ने सहयोग देखिएन । धनीका अस्पतालमा ज्वरो आएका मानिस छिर्नै नपाउने अवस्था पो आयो ।

ग. पश्चिमी पुँजीवादी अर्थतन्त्रका लागि यो माहामारी त्रासधीपूर्ण हुने देखियो । एसिया खासै प्रभावित नहुने पनि देखियो । एसियामा माहामारीलाई रोक्न चीनको सहयोगले भूमिका खेल्ने पनि देखियो । तर, पश्चिमी प्रभावमा रहेको नेपालको राजनीति र कर्मचारीतन्त्रले चीनप्रति माहामारीका समयमा नेपाल हाम्रो असल मित्र हो भन्ने भाव देखाउन सकेन । यो कुरा सरकार र दलहरुलाई अहिले पनि महसुश भएको जस्तो लाग्दैन । यसले नेपालको चीनसँगकाे कुटनीतिमा धमिरा लागेको आंशका गरिएको छ ।

घ. चीनले अहिले जसरी WHO र UN सँग समन्वय गर्दै सहयोग आगाडि ल्यायो, त्यसबाट कुटनीतिमा उसकाे परिपक्वता प्रकट भयो । उसकाे उत्पादन प्रणाली पुनः संचालनमा आयो । उसकाे अर्थतन्त्रले क्षति व्यहाेर्नुपर्ने अवस्था अब रहेन, तर विकसित देशको अर्थतन्त्रले ठूलो क्षति व्यहाेर्नुपर्ने देखियो । चीनले एक अर्थमा छलाङ मार्यो भन्दा हुन्छ ।अन्तराष्ट्रिय सम्बन्धमा चीनको भूमिकालाई बर्खास्त गर्न अब सम्भव छैन ।

४. के हुन्छ नेपालमा चीनको शसक्त उदयको यो अवस्था र पश्चिमको यो संकटले ? थुप्रै प्रभाव पर्ने कुरा टडकारो छ । भारत यदि यस माहामारीको प्रकोकमा चीनकै तहमा आयो भने भारतलाई यो समस्या सम्बाेधन गर्न सम्भव हुँदैन । पैसा र विज्ञान नभएर होइन । भारतको जनसंख्या सचेत छैन र नेपालमा जस्तै अनुशासनहिन अल्पज्ञानको शिकार भएको छ ।

यहाँ पनि कालोबजारी र भ्रष्टाचारको बिगबिगी छ । भारतमा माहामारी फैलियो भने नेपाल तहसनहस हुन्छ । के सहयोग माग्ने हक छ हाम्रो चीनसँग अझै ? सहयोग त चीनले फरि पनि गर्छ । तर, उनीहरु हामीलाई सहयोग दिनु अगाडि एक पटक हाम्रो प्रवृत्ति देखेर मुस्कुराउनेछन् । के पश्चिमाले हामीलाई चिकित्सक र औषधी ल्याउने छ ? त्यसैले भनेको होला नि श्रीमती श्रीमान् छोड्न सकिन्छ छिमेकी बदल्न सकिन्न भनेर । हामीले भूकम्पमा चीनले लगाएको गुण स्मरणसम्म गरेका छौँ ? सरकारमा बस्नेहरुले मूल्यांकन गर्दा राम्रो होला ।

५. यो समस्यालाई सरकारले हेलचेक्राइ नगरोस् । तत्काल निम्न कुरा गर्नुपर्ने देखिन्छ ।

क. चीनसँग सहयोग मागोस् । चिकित्सक, औषधि र प्रविधि तत्काल ल्याओस् । आइसोलेशन गृह निर्माणमा सेनाको प्रयोग गरोस् । बाँचे मात्र पछि प्रगति गरिने हो ।

ख. कालाबजारी रोक्न र माहामारीका नाममा देखिएको कालाबजारी र स्थानीय तहमा देख्न थालिएको अपब्यय रोक्न आपात्काल घोषणा गरियोस् ।

ग. सिमाना बन्द गरियोस् र तराइका सबै शहरमा उच्चस्तरीय स्वास्थ समूह पठाइयोस् । तराइका जनतालाई आतंकबाट जोगाइयोस् ।

घ. घनी र ठूला मानिस बेइमान हुन्छ्न् भन्ने प्रष्ट देखिसकियो । गरिबहरुलाई रासन बाँड्ने धेरैवटा स्टोरहरु शुरु गरियोस् ।
ङ. गरिबहरु छिर्न पाउने अस्पताल तोकियोस् ।

६. हरेक समस्याले पाठ सिकाउँछ्न् । हाम्रो संघीयता कति सफल छ भन्ने यसले नै देखाउने छ । सरकारले राम्रोसँग डेलिभेरी गरेन भने र दलहरुले आफ्नो औचित्यता प्रमाणित गरेनन् भने विद्युतको तालिम केन्द्रमा नेताहरुले पुग्नुपर्ने हुन सक्छ । भित्र र बाहिर दुबैतिर घेराबन्दी भएको देख्नु भएकै होला । निरो रोम जल्दा बासुरीमा आफ्नो गीतको लय बनाउँदै थिए । अहिले पो थाह भयो उनी रोम जलोस भन्ने चाहँदा रहेछ्न् । उनी त्यहाँ ठूलो महल बनाउन चाहँदा रहेछ्न् । जति बेला रोम जल्दै थियो, उनले बार्दलीमा उभिएर हेरेछ्न्, रातमा उज्यालो । उनलाई खुब मन परेछ । त्यसपछि जुन अराजकता रोममा जन्मियो, त्यसले रोम नै मासियो । हामीले आँखा खोल्नुपर्छ । भूकम्पपछि मानिसमा अराजकता झन् मौलायो । यो माहामारीले अराजक पराबलियनहरुको ताती झनझन् बढ्ने छ । अहिलेको मोजमस्ती महंगाे हुनेछ ।

(डा. युवराज संग्राैलाकाे याे सामग्री उनकाे फेसबुकबाट साभार गरिएकाे हाे ।)

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here