खोटाङमा हालै स्थानीय सरकारकाे रूपमा रहेकाे नगरपालिका र प्रहरी तथा स्थानीय प्रशासनले घरेलु रक्सी जफत गरी नष्ट गरेकाे छ ।

यसै सन्दर्भमा ह्विस्की, रक्सी, आराखा, हेङमा, ऐलाबारे वैज्ञानिक विश्लेषण गर्नका लागि पूर्व उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार, वरिष्ठ चिकित्सक तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. केके राईसँग हामीले केही प्रश्न गरेका छाैं ।

खोटाङमा हालै घरेलु रक्सी नाश गरेको खबर आएको छ, रक्सीकाे परम्परागत प्रयोगलाई रोक्न सम्भव छ कि छैन ?

आदिवासी किरात जनजातिहरुको हरेक चाडपर्व, पितृकार्य, कूलकुटुम्ब वा नातागोता भेटघाट, सत्कार, कोेशेली लाने, ल्याउने, चेलीबेटी वा कन्यकाे कुरा चलाउन, कुटुम्बकहाँ माग्न आउँदा, जाँदा, विवाह भोजभतेर खुवाउँदा, खाँदा आदि हरेक कार्यमा परम्परागत संस्कारगत रुपमा रक्सी अति आवश्यक मानिन्छ । विना रक्सी कुनै परम्परागत कार्य सम्भव छैन । कि धर्म परिवर्तनपछि मात्र सम्भव होला ।

किरात जनजातिहरुले कसरी रक्सी उत्पादन गर्छन् ? रक्सी बनाउने प्रविधि कस्ताे हुन्छ ?

आदिवासी किरात जनजातिहरुका पुर्खाहरुले हजारौ वर्षदेखि विकास, विस्तार र निरन्तरता दिँदै आएको परम्परागत इन्डिजिनस ज्ञान, सीप, प्रविधिको एक निरन्तरता हो, प्रविधि । शुद्ध नकुहेको अर्गानिक कोदोलाई सफा तरिकाले पकाएर सेलाएपछि शुद्ध सफा वनस्पति मर्चाको धुलो छर्केर माटोको घैलामा हावा नजाने गरी बन्द गरेर करिब हप्ता राखेपछि मगमग बासना आउने जाँड बन्छ । त्यही कोदोको जाँडबाट किरात जनजातिहरुले घरेलु प्रविधिको विशेष प्रकारका परम्परागत भाँडाहरु प्रयोग गरि परम्परागत तरिकाले घरघरमा आराखा वा रक्सी तयार पार्छन् ।

यही ज्ञान र सीपको प्रयोगबाट जापानको ‘साके’ले विश्व बजार खाएकाे छ । यही आदिवासी इन्डिजिनस ज्ञान, सीप र प्रविधि सिकेर त्यसको व्यवसायिक प्रयोग गरेर गोरे सरहरुले बेलायती स्कटलैण्डको विभिन्न स्कच, ह्विस्की, ब्रान्डी, रेड्लेबल, ब्लाकलेबल, ब्लुलेबलहरु विश्वभरि बेचेर विश्व अर्थतन्त्र कब्जा गरेका छन् ।

घरेलु रक्सी उत्पादनलाई व्यवस्थित गराै, यसकाे गुणस्तर कायम गरौ ।

रक्सीकाे फाइदा के छ ?

रक्सी हजारौ वर्ष पुराने औषधि पनि हो । हजारौ वर्षसम्म बजारमा दुखाइ, थकाइ, अनिद्रा, अरुचि, तनाव आदिको औषधि उपलब्ध थिएन । त्यही बेलादेखि रक्सीको औषधीजन्य गुणहरुले गर्दा बेलाबेलामा रक्सी प्रयोग गर्न  थालिएको पाइन्छ । अहिले पनि ठूलाठूला अन्तर्राष्ट्रिय सम्मेलन, राजकीय सम्मेलन बैठकहरुमा रक्सीको सेवन र टोस्टबाट बैठक सुरु गरिने परम्परा छ ।

बेलायतबाट आयात गरिएको स्कच, ह्विस्की, ब्रान्डी र नेपाली कोदोको रक्सीमा केही आधारभुत फरक छ कि छैन ? भिन्न ब्राण्डको भिन्न स्वाद किन हुन्छ ?

संसारभर जहाँ जसले बनाए पनि रक्सी, व्यवसायिक वा घरेलु जसरी बनाए पनि नाममा जाँड, ह्विस्की, ब्राण्डी, वाइन, बियर, स्याम्पेन, रम, भोट्का, जीन जेजे बजारी नाम दिए पनि मात लाग्ने वा असर गर्ने भित्री तत्वको बैज्ञानिक नाम इथायल अल्कोहल हो । जसकाे मलिकुलर बनावट हो C2H5Oh । केवल इथायल अल्कोहलको C2H5Oh को प्रतिशतको मात्रा कम बेसी वा सँगै रहेको पानीसँगको रेसियो कम बेसीले गर्दा स्वादमा फरक पर्न जाने हुँदा मानिसहरु आफ्नाे स्वाद अनुसार ब्राण्ड मन पराउँछन् । C2H5Oh को प्रतिशत कम हुँदा नरमपना आउने र अल्कोहलको प्रतिशत बढी हुँदा कडापन बढेर जाने हुन्छ । कुनै अवान्छित तत्व, सडेगलेको वस्तु नमिसाइकन शुद्ध अर्गानिक अन्नको गाउँघरको नेपाली घरेलु रक्सी, स्वाद र गुणस्तरको हिसाबले संसारकै उत्तम मान्न सकिने हुँदा यसकाे व्यवसायिक उत्पादनले ठूलाे बजार लिन सक्ने सम्भावना छ ।

रक्सीले नोक्सनी गर्छ कि गर्दैन ? रक्सीले कलेजो बिगार्छ भन्ने कुरा सत्य हो ?

धेरै मात्रामा दैनिक पिउँदा रक्सीको जुनसुकै ब्राण्डले कलेजो तथा अन्य अंगहरुमा नकारात्मक असर गर्न सक्दछ ।खासगरी, रक्सीको मुख्य तत्व C2H5Oh ले कलेजोलाई नोक्सानी गरेको देखिएको छ । तर, कलेजो सुन्निएर जन्डिस भएको बेला रक्सी पिउनु हुँदैन । अन्य अवस्थामा पनि रक्सीको मात्राले फरक पाने कुरा हो । स्वास्थ्य अवस्थामा कम मात्रामा कहिलेकाही पिउँदा त्यस्तो खराब असर पर्दैन । मात्रा पनि व्यक्ति अनुसार फरक हुुन सक्दछ । तर, दैनिक बानीको रुपमा लिँदै जाँदा अम्मली वा हाविचुयल, डिपेन्डेन्ट, दुब्र्यसनी हुन जाने भएमा, शारीरिक, मानसिक, आर्थिक सामाजिम रुपमा अपुरणीय क्षति हुन जाने अवस्थाबाट जोगिनु जरुरी छ ।

सरकारले घरेलु रक्सी किन नष्ट गर्छ ?

सरकारले वा राजनीतिक दलहरुले यसमा राजनीतिक चाल चलेको हो । आफ्नो फाइदा हेरेको हो । आजको जमानामा ज्ञान र प्रविधि भनेकै शक्ति सम्पत्ति हो । पुर्खाले दिएको ज्ञान र प्रविधिले किरात जनजातिहरु धनी बन्न सक्ने अवस्था आउन थाल्यो । गुणस्तरीय कोदोको घरेलु रक्सीले ठूलो बजार लिन सक्दछ ।

यसलाई आवश्यक पर्ने कोदो बेच्ने किसान पनि धनी हुन सक्दछ । अरुले नजानेको ज्ञान प्रबिधि जनजातिहरुसँग भएकोले त्यही ज्ञान, सीपको प्रयोगले उनीहरुको आर्थिक स्तर माथि उठ्न सक्दछ । यातायातको सुबिधासँगै यसकाे माग शहर बजारमा बढ्न सक्दछ । तर, पुराना दलहरु आदिवासीहरुलाई झनझन् गरिब र डिपेन्डन्ट दास बनाउन चाहन्छन् । आदिवासी जनजातिहरु धनी बनिहाले उनीहरुलाई प्रयोग गर्न सकिदैन । २, ४ हजार रुपैयाँमा काम लगाउन सकिदैन । आफै धनी भइहाले चुनावी भोजको लोभमा फसाउन सकिदैन । कुरा यही हो । तर, यस्ता कुटिल चाल बुझ्ने मान्छेहरु पनि छन् है भन्नेचाहिँ बिर्सेछन् कि जस्तो छ ।

गुणस्तर विभागकाे काम कस्तो छ ? त्यहाँका कर्मचारीहरुले के गरिरहेका हुन्छन् ?

गुणस्तरीय परिक्षण गरेर गुणस्तरीय चिन्ह दिनु एकदम सामान्य काम हो । कुनै रकेट साईन्सकाे गहिराइ हाेइन । सबै डिस्टीलरी कम्पनीहरुले लिइरहेका छन् । अरबौ कमाइरहेका छन् ।

गुणस्तरीय परिक्षण प्रमाण-पत्र लिने विधि एक वेज्ञानिक प्रक्रिया भएको हुँदा यो घरेलु रक्सी प्रविधि पनि हजारौ वर्षबाट अपनाउँदै आइरहेको परम्परागत तर गुणस्तरीय प्रविधि प्रमाणित नहुने सवालै छैन । यसैले यो प्रविधिलाई पनि गुणस्तरीय चिन्ह दिनैपर्ने हुन्छ ।

गुणस्तर विभागबाट रोक्न मिल्ने कुनै बाहाना नै निकाल्न सकिदैन । बरु जाँच्ने प्रबिधि छैन भनिदियो सकिगाे । किनभने गुणस्तर बिभागमा टोपी लगाएर बस्ने ८, १० जना कर्मचारीले जम्माजम्मी जागिर मात्र खाइरहेका हुन्छन् । अरुको संस्कार, संस्कृति, परम्परा उनीहरुको रुचिको बिषय हुँदैन । International Organization for Standardization (ISO) वा गुणस्तरबारे अन्तर्राष्ट्रिय प्रचलन, प्रविधि, प्रचलनबारे पनि उनीहरुको चासो वा उत्साहको विषय नै भएन ।

अन्त्यमा यसबारे अब के गर्न उपयुक्त होला ?

घरेलु रक्सी उत्पादनलाई व्यवस्थित गराै, यसकाे गुणस्तर कायम गरौ, आदिवासी इन्डिजिनस ज्ञान, सीप र प्रविधिको जगेर्ना गर्न घरेलु रक्सी उत्पादनलाई घरेलु उद्याेगमा दर्ता गर्न अनुमति दिऔ । कसैको संस्कार, संस्कृति र परम्परालाई हेला नगरौ ।

3 COMMENTS

  1. सत्य कुरा हाे। मातेर खाएर समाजमा उछृङ्खलता ल्याउने, निम्त्याउनेलाई यश बारे चेतना दिनु पर्ने र उत्पादक पक्षलाई व्यवस्थित पार्नु जरूरी देखिन्छ।

  2. गाउघर को तीनपाने रक्सीलाई “मेडिकल सेनिटाइजर” बनाउनु मा सरकारले हौसलिया दिनु अती जरुरी छ। यो नेपाली हरु ले गर्नु सक्छन र अती सजिलो छ।

  3. डा. साब तपाई को प्रतिक्रिया अनि बुझ्ने तरिकाले ज्वाबाफ दिनुु भएकोमा मेरो समर्थन छ । सालनम छ तपाईलाई।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here