–अर्जुनबाबु माबुहाङ

इतिहासकार इमानसिंह चेम्जोङले सन् १९४८ देखि १९७४ सम्ममा लिम्बू जातिबारे दर्जनौँ पुस्तक लेखेका छन् । नेपालका लागि ब्रिटिस रेजिडेन्ट ब्राएन हटन हज्सनले १८४० यता दार्जिलिङमा रहँदा सिक्किम र नेपालबाट संकलित सामग्री अंग्रेजले भारत छाडेपछि बेलायतको इन्डिया अफिस लाइब्रेरी पुर्‍याइएको थियो । आज ती सामग्री ‘हज्सन पाण्डुलिपि’ को रूपमा सुरक्षित छन् । हज्सन पाण्डुलिपि लिएर १९५५ मा प्रोफेसर आरके स्प्रीग नेपाल आएका थिए । सिरिजङ्गा लिपि पढ्न जान्ने मान्छे खोज्दै हिँड्दा इलाममा स्प्रीग र चेम्जोङको भेट भयो ।

ती सामग्री भेटेपछि चेम्जोङको लिम्बू इतिहास, भाषा, साहित्य र संस्कृतिसम्बन्धी खोज–अनुसन्धान अझ गहिरियो । उनलाई १९५२ मा नेपाल झिकाइयो । उनले १९६१ देखि १९७५ सम्म त्रिभुवन विश्वविद्यालयमा किरात इतिहास एवं संस्कृतिविद्को रूपमा रहेर काम गरेका थिए । उनको मृत्यु १९७६ अक्टोबर ८ मा दार्जिलिङमा भएको थियो । चेम्जोङको योगदानको कदर गर्दै विसं ०५५ मा नेपाल सरकारले उनको तस्बिर अंकित हुलाक टिकट प्रकाशनमा ल्याएको छ । कक्षा १० को नेपाली पाठ्यपुस्तकमा उनको जीवनी पनि छापिएको छ । उनको नाममा किरात याक्थुङ चुम्लुङले ‘इमानसिंह साहित्य पुरस्कार’ स्थापना गरेको छ । लिम्बूवानका विभिन्न ठाउँमा उनको पूर्ण कदको सालिक ठड्याउने कार्य जारी छ ।

लिम्बुः न काशी गाेत्रे न ल्हासा गाेत्रे

चेम्जोङले आफ्नो पहिलो पुस्तकको नाम नै किरात इतिहास राखेर १९४८ मा प्रकाशनमा ल्याए । यो पुस्तकको पहिलो संस्करण कमैसँग मात्र भए पनि अन्य संस्करण धेरै पटक प्रकाशन भएका छन् । पुस्तकका प्रत्येक पृष्ठमा लिम्बूहरू ल्हासा र काशी गोत्रे भएको र किराती जाति भएको तर्क अगाडि सारिएको छ । यस्तो किन र कसरी लेखे त चेम्जोङले ?

वास्तवमा ‘किरात’ न भूगोल हो, न जाति, न भाषा, न त धर्म–संस्कार ।

चेम्जोङमा ब्रिटिस लेखक एचएच रिस्लेको प्रशस्तै प्रभाव परेको देखिन्छ । रिस्लेको पुस्तक गजेटियर अफ सिक्किम (१८९४/ १९७२) पृष्ठ संख्या ३६–३७ मा याक्थुङ्बा लिम्बू जातिका देउता तागेरा निङवाफुमाङका अवतार मुबोक्वामाले मालिंगोको खरानी र लुइँचेको बिष्टा मुछेर मनुष्यधारी महिला मुजिङ्ना खेयोङ्ना बनाए । उनैका सन्तान काशीदेखि ल्हासासम्म फैलिए । पछि तिनैका सन्तान कोही ल्हासादेखि त कोही काशीदेखि आएकाले काशीबाट आउनेलाई ‘काशी गोत्रे’ र ल्हासाबाट आउनेलाई ‘ल्हासा गोत्रे’ भनियो ।

लिम्बू जातिमा गोत्रको चर्चाभन्दा पनि मिङ्स्रा/थवासाम (पहिलो पुर्खा), माङ्गेना यक/थामालुङ (उत्पत्ति थलो), नाहाङमा यक (कर्मथलो), सामलामातेन (गर्भवती महिलाको सातो जगाएर ल्याउने ठाउँ), सामसामा तेन (मृतकको आत्मालाई पितृकहाँ पुर्‍याएर सुम्पने ठाउँ), सेभाक्कुम/चो?लुङ (मनकामना पूरा गरिने, गरिएको ठाउँ/सिद्धि प्राप्ति स्थल) भनेर बुझ्नुपर्छ । यस्ता सांस्कारिक स्थलहरू याक्थुङ्बा लिम्बू जातिका विभिन्न विधाका देवारीहरू फेदाङ्बा, साम्बा, येबा/येमाहरूले मुन्धुम गर्दा पुकार्ने गर्छन् । यी स्थल फक्ताङलुङ/कुम्भकर्ण हिमालको आसपास थाङ्वा पुम्मा/तमोर नदी हुँदै लाजिरी लाभाख्खोङ/अरुण नदीको बीच भूभागमा मात्र पर्छन् । त्यसो हुँदा याक्थुङ्बा जातिको उद्गम थलो खोज्न बनारस/काशीदेखि तिब्बतको ल्हासासम्म पुग्नुपर्दैन ।

चेम्जोङले हज्सन पाण्डुलिपिको खण्ड ८६ मा संकलित सिरिजङ्गाका लेखोट–पत्रहरू सरसर्ती पढेको देखिन्छ । पत्रहरूमा ‘माङ पोक्मा काशी ।। राजा पोक्मा काशी ।। साप्ला पोक्मा काशी ।। लामा गुरु ।। उगेन पोमा ।।’ अथवा देउ–देउताको उत्पत्ति, राजकाज, कागजी चलन काशीबाट सुरु भएको भनेर लेखिएको छ । बनारसको काशीले विशाल हिन्दु सभ्यताको प्रतिनिधित्व गर्छ । त्यस्तै, ‘लामा गुरु’ र ‘उगेन पोमा’ प्रशस्तियुक्त शब्दहरूले बौद्ध सभ्यताको प्रतिनिधित्व गर्छ । तिब्बतको ल्हासा बौद्धमार्गीहरूको उद्गमथलो हो । त्यसैले उनले लिम्बू जातिको उद्गमथलो काशी र ल्हासासँग जोड्न खोजेका हुन् कि ! तर पाण्डुलिपिको त्यही खण्डमा ‘याप्मि पोक्मा ।। इमि लुङ्मा ।।’ अथवा मनुष्यको उत्पत्ति ‘इमिलुङमा’ मा भनेर लेखिएको भलै चेम्जोङले पढ्न सकेनन् । इमिलुङमा भनेर ताप्लेजुङको लेलेपको इमिलुङधुङ/काइलुङधुङलाई भनिएको हो, जहाँ याक्थुङ्बा लिम्बू जातिका पुर्खा मुजिङ्ना खेयङ्नाका सन्तानहरू हाडनाता भएका थिए । चेम्जोङले मुन्धुमी ज्ञान पूर्ण रूपले बटुल्न सकेका भए लिम्बू जातिलाई ल्हासा र काशी गोत्र भिराउने थिएनन् ।

किरात छुट्टै जाति

पुस्तक किरात मुन्धुम खाहुन (सन् १९६५/१९८२) को पृष्ठ संख्या ३२ र ३३ मा माबोहाङ राजाको उपदेशलाई लिएर ‘याक्थुङसा:से खेप्साम्मे ओ’ वाक्यलाई नेपाली भाषामा उल्था गर्ने क्रममा ‘किराती लिम्बू वंश सबैले सुन्नु’ भनेर पढ्न पाइन्छ । चेम्जोङले ‘याक्थुङ्बा’ शब्दलाई नेपालीमा ‘किरात’ भन्नुको पृष्ठभूमि रोचक छ ।

अर्जुनबाबु माबुहाङ

लिच्छविदेखि गोर्खालीसम्मका आर्यहरूले खम्बू (राई) हरूलाई ‘किरात’ भनेर सम्बोधन गरेको देखिन्छ । जयस्थिति मल्लको पालामा संकलित गोपालराज वंशावलीमा ‘एते द्वात्रिश किरातराजा:, तामज्जर्णकोशकीटटाद्भबाये:’ अथवा ‘यी बत्तीस जना किरात राजाहरू भए, किरात राजाहरू तामाकोसी र सुनकोसी तटमा जन्मेका’ भनेर लेखिएको योगी नरहरीनाथद्वारा विसं ०२२ मा संकलित इतिहास प्रकाशमा सन्धिपत्र संग्रहको पृष्ठ २५५ मा छापिएको छ । धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठद्वारा विसं ०३७ मा संकलित शाहकालका अभिलेखको पृष्ठ १२७ मा केलटोल बालकुमारीस्थित अभिमानसिंह बस्नेतको अभिलेखमा ‘नवलख देश किरात’ शब्दहरू परेका छन् । हज्सन पाण्डुलिपिको खण्ड ८५ का पत्रमा सिरिजङ्गा लिपिमा लिम्बू भाषामा लेखिएको लेखोटमा गोर्खालीले नेवार राज्य जितेर तामाकोसीमा आइपुगेपछि वलिङहाङ, उलिङहाङ खम्बुलाई कज्याएको र अन्तत: चौदण्डीका अगमसिंह खम्बु अरुण तरेर याक्थुङ्बा लिम्बूहरूसँग सहयोग माग्न आएको चर्चा गरिएको छ ।

पाण्डुलिपिका वलिङहाङ, उलिङहाङ र अगमसिंह खम्बुहरूलाई नै अभिमानसिंहको अभिलेखमा ‘नवलख किरात’ भनिएको हो । लिच्छविकालीन अभिलेखका ‘द्वात्रिश किरात राजा’ र अभिमानसिंहको अभिलेखका ‘नवलख किरात’ मिल्न आउँछन् । पृथ्वीनारायण शाहले लिम्बूहरूलाई गरिदिएको कागजहरूमा ‘अरू नौलाख पट्टि होइन’ भनेर लेखेको पाइन्छ । मतलव ‘नौलाख किरात’ लिम्बूभन्दा छुट्टै हुन् । अभिमानसिंहको अभिलेखमा लेखिएको ‘नवलख किरात’ र पृथ्वीनारायण शाहका ‘नौलाख’ शब्दहरू मिल्न आउँछन् । वास्तवमा आर्यहरूले ‘किरात’ भनेर सम्बोधन गरेको खम्बू/राईहरूलाई मात्र हो ।

पृथ्वीनारायणले लिम्बूहरूलाई गरिदिएको लालमोहरमा ‘तिमी तुंतुतुंम्माहां यांहां सन्तान,.. …‘लालमोहोर वांधी माथि लिम्बू कुल भाइलाई दिञ्युं’ …भनेर सम्बोधन गरिएको छ । ‘यहाँ’ भनेको याक्थुङ्बाहाङ भनिएको हो । ‘तुंतुतुंम्माहां’ भनेको तुत्तु तुम्याङहाङ वा याक्थुङ्बाहरूका पुर्खाहरूको प्रशस्ति गाइएको हो । बुझ्नैपर्ने के हो भने गोर्खालीले खम्बु/राईलाई ‘ किराती’ भनेजस्तै याक्थुङ्बालाई ‘लिम्बू’ भनेका हुन् । गोर्खालीले अथवा उतिबेलाको सत्ताले बोलेको ‘लिम्बू’ लोकप्रिय भएको हो । गोर्खालीले याक्थुङ्बाहरूलाई चिन्ने क्रममा उनीहरूका पुर्खा ‘सुसुवा लिलिम याक्थुङहाङ’ को नाम सुन्दा ‘लिलिम’ शब्द स्पष्ट सुनेर ‘लिलिम’ शब्दलाई उच्चारण गर्दा ‘लिम्बू’ शब्दको व्युत्पत्ति भएको हुन सक्छ ।

राईहरू खम्बु

याद रहोस्, पाण्डुलिपिमा उलिङहाङ, वलिङहाङ र अगमसिंहहरूलाई स्पष्ट रूपमा ‘खम्बू’ भनिएको छ । रिस्लेको ऐजन पुस्तकको ऐजन वर्षको पृष्ठ २७ मा १८९१ मा सिक्किममा लिइएको जनगणना अभिलेखमा खम्बुहरूको जनसंख्या पुरुष ७२६, महिला ६४८ र बालबालिका ५८९ गरी जम्मा १९६३ लेखेको पाइएको छ । उक्त जनगणनाको जाति कोल्युममा ‘राई र ‘ जिमदार’ भनेर पुरुष ७४२, महिला ६९१ र बालबालिका ५८७ भेटिन्छ । ‘ किरात’ का बारेमा कुनै चर्चा छैन । गोर्खालीले लखेटेका खम्बु/राईहरूले सिक्किममा आफूलाई ‘किराती’ नभनेर ‘खम्बू’ भनेको यो जनगणना अभिलेखले प्रस्ट्याउँछ ।

यसरी बुझ्दा हाल खम्बु/राईहरूको वास्तविक जातीय पहिचान ‘ किरात’ नभएर ‘खम्बु’ थियो । नारायण संग्रौला (२०५६) को शोधपत्रमा पाइएको १८८० को कागजमा आठराईका राईलाई ‘खम्बु’ भनेर सम्बोधन गरेको पाइन्छ । गोर्खालीहरूको सरकारी कागजमा ‘खम्बु’ लेखिएको सम्भवत: त्यो पहिलो दस्तावेज हो ।

१७७४ सम्ममा खम्बुहरू गोर्खालीहरूसँग परास्त भइसकेका थिए । अभिमानसिंहले किरात हान्दा उतिखेर खम्बु/राई नवलाख (नौ लाख) मात्र थिए त ? कि हज्सनले भनेजस्तै राईबाट मात्र नौ लाख आना कर उठ्थ्यो त  ? त्यत्रो संख्या त उतिबेलाका सेतामगुराली सबैलाई जोड्दा पनि पुग्दैन ।

वास्तवमा ‘किरात’ कुनै जातीय नाम नभएर आर्यहरूले आफूभन्दा बेग्लै जीवन पद्धति बोकेका जुनसुकै झुन्डहरूलाई भनेका हुन् । पहिले आर्यहरूले खम्बु/राईहरूलाई मात्र किरात भने पनि राणाकालसम्म आइपुग्दा लिम्बूहरूको भूमिलाई पनि पल्लोकिरात लिम्बूवान भनेर सम्बोधन गर्न थालेको देखिन्छ ।

तसर्थ, चेम्जोङले आफ्ना ऐतिहासिक सामग्रीहरूमा जे तर्क गरे पनि वास्तवमा लिम्बू किराती होइनन् । १९२५ मा चेम्जोङकै अगुवाइमा कालेबुङमा निर्मित याक्थुङ्बा लिम्बू जातिको जातीय संस्थाको नाम ‘याक्थुङ चुम्लुङ’ मात्र थियो । अहिले लिम्बू जातिको जातीय संस्थाको नामको पछाडि ‘किरात’ थपिएको छ । लिम्बू जातिले किराती बनिनुको पीडाले उनीहरूको संस्कार र राजनीतिमा आजसम्म स्पष्ट पहिचान बन्न सकेको छैन । वास्तवमा ‘किरात’ न भूगोल हो, न जाति, न भाषा, न त धर्म–संस्कार । साभारः नेपाल साप्ताहिक

7 COMMENTS

  1. लिम्बु हरु किराँत होईन भनेर मानव सभयता लाई मुधुम मा खोज्नु, कसैले नदेखेको स्वर्ग र नर्क को कुरा गरेर आफै मुर्ख हुनु एउटै हो

  2. पछिल्लाे राजनीतिक स्वार्थ प्रेरित कुरामा केन्द्रीत छन् लिम्बू समुदायका केही मानिसहरू । यसकाे एउटा उदाहरण लालीगुराँस नगरपालिका(बसन्तपुर), तेह्रथुमका मेयर अर्जुनबाबु माबुहाङकाे याे लेख । पछिल्लाे दुर्इसय अढाइसय बर्षमा भएकाे राजनीतिक चालवाजीकाे गाेटी बन्दा लिम्बू समुदायमा केही भ्रमहरू सृजना भएका छन् । त्यसलार्इ नै अहिले राजनीतिक स्वार्थ प्रेरित भएर (लिम्बूले त्याे लाभ इतिहासमा लिएकै थियाे ) लाभ लिने छाेटे प्रयासमा बाबुहाङ्जीहरू लाग्नु भएकाे छ । अनेकाैं अध्येताले किरात बारेमा प्रष्ट लेखेकाे, देखेका र समुदायले महशुस गरेकाे छन् । तर एउटा तुच्छ स्वार्थमा माबुहाङजीहरूले अाफूलार्इ एउटा भूइँफुट्टा समुदाय दावी गर्नु रमाइलै छ ।

  3. यो तर्कहरु २०७० साल अघि किन निस्किएन ? अाज किरात शब्दलाई कहिले धर्म कहिले जाति देखाएर बिरोध गर्नुको मुख्य कारण पहिचानबादि नामाकरण संग हो । ९ जिल्ला लिम्बुवान हो १४ जिल्ला होईन । अान्दोलनको सुई ९ जिल्ला बनाउने तिर हुने कि १४ को पहिचान मेटाउने ? बाँदर प्रबृतिको अापुँगि राज !!!
    फेरि लिम्बुवान याक्थुङलाजे नेपालमा मात्रै सिमित छ कि ? सिक्किमतिर नि ? खै उतातिरको दाबि ?ताप्लेजुङ क्षेत्र लिम्बुहरुको उद्गमभुमि हो र सभ्यता बिकासलाई अाधार मान्दैन भने पुर्खाक‍ो पाईला मान्दैन भने कसरी मानछौ तराईलाई लिम्बुवान ?

  4. लिम्बूहरुको बंशावली अझसम्म ५० पुस्ता माथि छैन होला त्यही पुस्तालाई हिसाब गर्दा पनि २००० बर्ष पनि पुग्दैन। चिन र कोरियामा ६००० बर्ष पहिलादेखिनै मानब बस्ती सुरु भएको बिश्वास छ तर मानिसको उत्पती स्थलनै ताप्लेजुङ भएको कुरा गर्छन। मानिसको उत्पती ताप्लेजुङ आसपासमै भएको हो भनेर कुनै पनि मानबशास्त्रीहरुले औल्याएका छैनन्। यो जिब बिज्ञानसँग पनि मिल्दैन। अब के याक्थुङ लिम्बूहरु आकाशदेखि झरे कि भुँईदेखि उम्रे? नेपाल एकिकरणको इतिहासमा पृथ्बी नारायण शाहा नै थिएनन यो पछि त्रिभुवन राजाको पालामा काल्पनिक पात्र मात्र बनाइएका हुन भन्ने तर्क पनि छ। मुकुन्दे धिमिरे जाँड नपिउँदै पनि ब्याख्या गर्दै छन। उदेख लाग्छ।

  5. This article itself is confusing. Read it. Knowledge is power. Analyse critically, then you will reach in conclusion.

  6. एकताको दर्बिलो संगठनलाई भत्काउने ब्रामनिश्ट जाल मात्र हो यस्तो किसिमको लेख यहाँ प्रस्तुत हुनु भन्दा जलाएर फ्यालिदिए राम्रो। इमान सिंह चेम्जोङ्ले यस्तो लेख लेखेकै छैन भरौटे बिकुवा लिम्बुले यस्लाई बंगाएर यस्तो हुबहु बनाएर किरात एकतामाथी संगिन प्रहार गरेको मात्र हो।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here