ललितपुर । पाँच वर्षमा एकपटक ललितपुरमा हुने सम्यक महादान पर्व आगामी फागुन १४ र १५ हुने भएको छ ।

हिरण्यवर्ण महाविहार (क्वाबहाः) को लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापनमा सो पर्व हुन लागेको हो ।

यस पर्वलाई लिच्छिविकालीन संस्कृति र सभ्यताको धरोहरको रुपमा लिइन्छ । सात सय वर्षदेखि यो पर्व निरन्तर चल्दै आएको छ ।

वि.सं १८६१ सम्म प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सो पर्व १८६२ सालदेखि प्रत्येक पाँच वर्षको एकचोटी सञ्चालन हुन थालेको हो ।

तत्कालीन राजा रणबहादुर शाहले गुठीको जग्गा सरकारी गर्न थालेपछि गुठीको आयस्ता कम भयो । यसले गर्दा पाँच वर्षको एकचोटी सो पर्व आयोजना गर्न थालिएको हो । अब हुन लागेको पर्व ५३ औं हो ।

यस पर्व सञ्चालनको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनसम्पर्क तथा प्रचारप्रसार संयोजक लोकमान शाक्यले बताए ।

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको संयोजनमा बुधबार पत्रकार सम्मेलन गरी तयारीबारे जनाइएको हो ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here