स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले योजना माग गर्ने तर रकम खर्चै नहुने कुरा दुखद रहेको बताएकी छन् ।

स्याङ्जा जिल्लाको विकास सम्बन्धमा स्याङ्जामा छलफल गर्दै मन्त्री अर्यालले सडकको विषय अझ गम्भिर रहेको बताइन् ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोजना गरेको विकास सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उनले समयमै योजना सम्पन्न गर्ने सन्दर्भमा कर्मचारीले मात्र रकम खर्च गरेनन् भन्दा पनि जनप्रतिनिधिहरुले कति सहजिकरण गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुने बताइन् ।

‘के गर्दा काममा गति दिन सकिन्छ ध्यान दिउ । योजना नपरेको होइन काम नभएको हो’, मन्त्री अर्यालले भनिन्, ‘अहिलेसम्मका ठेकेदारी प्रकृयामा नै समस्या छ । क्षमता नै नभएकोले एक भन्दा बढी योजना होल्ड गरेर किन राख्ने ? सोचनीय विषय हो कि होइन ?’

छिरलिएको योजनाले समृद्धि आउन नसक्ने भन्दै मन्त्री अर्यालले अलिकति बल गर्दा सम्पन्न गर्न सकिने योजनाको पहिचान गरेर सम्पन्न गर्ने दिशामा जान आग्रह गरिन् ।

काम गर्नका निम्ति तत्परता देखाएमा बजेटको कुनै समस्या नहुने मन्त्री अर्यालको भनाइ छ ।

उनले भनिन्, ‘काम गर्ने तत्परता देखाउनुस पैसाको व्यवस्था म गर्छु । स्याङ्जाको विकास गर्ने हो भने प्राथमिकताका आधारमा राजनीतिक सहमति गरेर जाउ ।’

एक वर्षभित्रमा सम्झौता कार्यान्वयन नगरेमा सिधै सम्झौता खारेज गर्नेगरी खरिद ऐन संशोधन भएको भन्दै उनले योजना लिएर सम्पर्कबिहिन ठेकेदारको समस्या समाधान हुने बताइन् ।

अब विकास निर्माणको कार्यान्वयमा देखिएको उदासिनता त्यागेर अगाडि बढ्नुपर्ने उनकाे भनाइ छ ।

‘कार्यान्वयनमा देखिएको उदाशिनता पहिलो नम्बरमा तोडौ । विकासमा, समृद्धिमा एकता आजको आवश्यकता हो । साना साना कुरामा खेलोफड्को गरेर हामी झन पछि पर्दै गएका छौ’, अर्यालले भनिन्, ‘अब हामी साना कुरामा भुल्ने होइन । हामी कसरी आफ्नो जिल्ला बनाउने भन्ने कुरामा विकासमा समन्वय गरेर जाने वातावरण बनाउ ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here