काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र जनयुद्धको जगमा मुलुक परिवर्तनको दिशातर्फ अग्रसर भएको बताएका छन् ।

उनले अहिलेका सम्पूर्ण उपलब्धीको आधार जनआन्दोलन र जनयुद्ध नै भएको दाबी गरे ।

जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको स्मृतिमा बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहमा उपाध्यक्ष गौतमले सो कुरा बताएका हुन् ।

उपाध्यक्ष गौतमले जनयुद्धकालमा मारिएका तीनसय भन्दा बढी नेता र कार्यकर्ताले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै ती सहिद र तिनका पीडित परिवारको न्यायोचित मूल्यांकन हुनुपर्ने बताए ।

जनयुद्धका नाममा तत्कालिन नेकपा (एमाले) का दुई सयभन्दा बढी नेता तथा कार्यकर्ताको जनमुक्ति सेनाको तर्फबाट हत्या भएको र नेपाली सेनाले पनि पूर्वएमालेका सयभन्दा धेरै नेता र कार्यकर्तालाई मारेको उनले स्मरण गरे ।

उनले भने, ‘त्यसरी मारिने सबै निशस्त्र, निहत्था थिए । सबैलाई बाटो ढुकेर पक्राउ गरी हत्या गरिएको थियो ।’

उपाध्यक्ष गौतमले कुनै पनि नाममा निशस्त्र र निहत्था व्यक्तिलाई पक्राउ गरी मार्न नपाइने उल्लेख गर्दै क्रान्तिकारिताको नाममा त्यस्तो व्यवहार नाममा गर्नु अनुचित रहेको बताए ।

उनले झापा संघर्षबाट विकसित भएको कोअर्डिनेशन केन्द्र र नेकपा (माले) को भूमिका पनि स्मरण गरे ।

उनले भने, ‘झापा विद्रोह सही भए पनि वर्गशत्रु खत्तम पार्ने नाममा गरिएकोे व्यक्ति हत्या गलत थियो र वर्ग शत्रु खत्तम पाने लाइन गलत छ ।’

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here