काठमाडौं । किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापाे लिम्बुले प्रदेश नं १ को नाम बहुपहिचानको आधारमा किरात लिम्बुवान हुनुपर्ने बताएकी छन् । अहिलेको परिस्थिति अनुसार चुम्लुङले आफ्नाे छैठौ महाधिवेशनको म्याण्डेड समेत छोडेर प्रदेश १ लाई बहुपहिचानको आधारमा नामाकरण गर्नुपर्ने पहल गरिरहेको उनले बताइन् । चुम्लुङको छैठौ महाधिवेशनले अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान प्रदेश बनाउने निर्णय गरेको थियो । प्रस्तुत छ सार्वजनिकले महासचिव तुम्बापोसित गरेकोे कुराकानीको सम्पादित अंशः

–पछिल्लो समय चुम्लुङले प्रदेश नं १ को नामाकरणमा कस्तो धारणा बनाएको छ ?
किरात याक्थुङ चुम्लुङले छैठौ महाधिवेशनदेखि नै अरुणपूर्वको ९ वटा जिल्ला लिम्बुवान हुनुपर्छ भनेर माग उठाइरहेको छ । तर, अहिलेको परिस्थितिमा जुन सात वटा प्रदेश छ, १ नम्बर प्रदेशमा १४ वटा जिल्ला भएकोले बहुपहिचानको आधारमा नामाकरण हुनुपर्छ भन्नेछ । र, बहुपहिचानमा पनि लिम्बुवानचाहिँ छुटाउनुहुन्न भन्ने नै हो । किरात लिम्बुवान हुनसक्छ, किरात लिम्बुवान कोशी हुनसक्छ तर लिम्बुवानचाहिँ कुनै पनि हालतमा छुट्नुहुन्न भन्ने हाम्रो तर्क छ ।

हामीले किन यो माग गर्यौ भने हिजो २०६२÷६३ को आन्दोलनपछि पनि लिम्बुवान प्राप्तिका लागि दुईजना सहिद हुनुभएको छ । अहिले जुन गठबन्धन बनेको छ, राजनीतिक दलहरुको, किरात लिम्बुवान मानेर जाने भनेर त्यसको एउटा घटक संगठनको रुपमा रहेर हामीले समन्वयकारी भूमिका गरेर सक्रिय भइरहेका छौं ।

–गठबन्धन बनेको त भर्खरै हो । त्यो भन्दा अघि चुम्लुङले प्रदेश नं १ लाई लिम्बुवान नामाकरण गर्नेसहित पहिचानसहितको नामाकरण गर्ने सन्दर्भमा के कस्तो काम गर्दै आएको थियो त ?
त्यो भन्दा पहिले हामीले निर्वाचित सांसदहरुसँग अनुरोध गर्ने अनि अर्कोचाहिँ किरात याक्थुङ चुम्लुङको लिम्बुवान प्रदेश समिति छ, जो १ नम्बरमै रहेर ९ वटा जिल्लालाई हेरिराख्नुभएको छ । उहाँहरुले त्यहाँ प्रदेशको मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेशस्तरीय निकायहरुमा र सांसदहरु जो जिल्लाबाट प्रदेशमा निर्वाचित हुनुभएकाहरुलाई लिम्बुवान नछुटाउनका लागि ज्ञापन-पत्र दिने र प्रदेश नं १ मा भइरहेकाे आन्दोलनहरुमा सहभागिता जनाउने, ऐक्यवद्धता जनाउने काम भइरहेको छ ।

–चुम्लुङले छुट्टै आफ्नाे आन्दोलन गर्ने परिस्थिति बन्दैनथ्यो महासचिवज्यू ?
हामी त सामाजिक संगठन हौ । हामीले खाली समन्वयकारी भूमिका निर्वाह गर्ने, निर्वाचित सांसदहरुसँग निर्वाचित प्रदेशसभा सदस्यहरुसँग समन्वयकारी भूमिका र उहाँहरुलाई अपिल अनुरोधसम्म चाहिँ हामीले सक्ने भयौ ।
र अर्कोचाहिँ लिम्बुजन्य संगठनहरु, जस्तै आदिवासी लिम्बुहरुभित्रको पनि लिम्बुजन्य संगठनहरुसँग समन्वयकारी भूमिका गरेर प्रदेश नं १ को अगाडि पनि धेरैचोटि नामको चर्चाहरु आउँदै गर्दा हामीले विमतिका कुरा वा फरक मतका कुरा राख्यौ । त्यसमा पनि किटान नै गरेर ल्याएका छौं, बहुपहिचानमा लिम्बुवान किरात हुनुपर्छ भनेर विज्ञप्तीमार्फत नै सार्वजनिक गर्दै आएका छौं ।

–किरात समुदायभित्रको राईहरुले प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गर्नुपर्छ भनेर अभियान चलाइरहेका छन् । यसमा चुम्लुङको दृष्टिकोण के छ ?
यस्तो रहेछ, हामी सामाजिक अभियान्ता हौ । सामाजिक अभियान्ता भएको हिसाबले आफ्नाे दृष्टिकोण आफै सार्वजनिक गर्न पाइन्छ, गर्न सकिन्छ । तर, यसमा किरात राई यायोक्खासँग के छ भने आन्तरिक रुपमा हामी-हामीभित्र उहाँहरुले पनि महाधिवेशनले दिएको म्याण्डेडअनुसार किरात प्रदेश माग गरिरहनुभएको छ । हामीले पनि पुनः संख्याकरण गरेर हाम्रो महाधिवेशनले दिएको म्याण्डेडअनुसार लिम्बुवान माग्ने ।

त्यो विषय भएकोले गर्दाखेरि आन्तरिक रुपमा द्वन्द्व सिर्जना नगरी आ-आफ्नाे एजेण्डा लाने भन्ने छ । बहुपहिचानको बारेमा चाहिँ उहाँहरु पनि जाने भन्नेछ । तर, व्यानर नै लिएर जाने बारेमा चाहिँ उहाँहरुले छलफल गरिराख्नुभएको छ ।
तर, दृष्टिकोण दिने कुरामा उहाँहरुको महाधिवेशनले दिएको कुरामा जान पाउनुहुन्छ, त्यसमा हामीलाई केही छैन । तर बाहिर प्रदेश नं १ मा रहेको ठूलो जातिहरुको बेमेल भनेर अरुले आरोप लगाइरहेका छन्, त्यो आरोप नलगाउन म अपिल गर्न चाहन्छु ।

–किरात राई यायोक्खाले चाहिँ लिम्बु-खम्बु सबै किराती हुन् त्यसकारण प्रदेश नं १ को नाम किरात राख्नुपर्छ भनेर एउटा अभियान चलाउने, उसले किरात लिम्बुवान वा लिम्बुवान किरात नभन्ने र चुम्लुङले चाहिँ हामी पनि किराती हौ अहिलेका लागि प्रदेश नं १ लाई किरात नै नामाकरण गर्दा हुन्छ भन्ने हिसाबले पनि त्यो अभियान गर्न नसक्ने ?
चुम्लुङको त मैले अघि पनि भने हाम्रो म्याण्डेडले दिएको त लिम्बुवान नै हो । आठौ प्रदेश भएर अर्को प्रदेश लिम्बुवान हुनुपर्छ भन्ने नै हो । हाम्रो आन्दोलन, मुद्दा, माग त्यही नै हो । तर पनि वर्तमान स्थिति हेर्दा जुन १४ वटा जिल्ला छ त्यसमा दुईटा कुरा हुनुपर्छ । र अर्को कुरा चाहिँ सामाजिक संस्था हो हामीहरु भनेको । सामाजिक संस्थाले राजनीतिक संगठनहरुसँगको समन्वयको भूमिका गरेर सहजीकरण गरेर अभियानहरुमा गएका छौं ।

अनि मुद्दा त राजनीतिक दलहरुले नै बोकिराख्नुभएको छ नि त । सबभन्दा मुख्य कुरा किरात लिम्बुवान भनेर पूर्व नेकपा एमालेभित्रको भातृसंगठनहरुले बोकिराख्नुभएको छ । कुमार लिङदेनले लिम्बुवानको मुद्दा बोकिराख्नुभएको छ । हरेक पार्टीको किरात मोर्चाहरुले बोकिराख्नुभएको छ । भर्खरै पनि १७ वटा मोर्चाको कुरा आइरहेको छ । सबैभन्दा मुख्य कुरा त यो हो नि । राजनीतिक दलले नै बोकेको मुद्दामा हामीले उहाँहरुसँग समन्वय गरिरहेका छौं ।

–यायोक्खाले लिम्बुवानको पहिचानलाई नजरअन्दाज गरेको होइन तर अहिलेको लागि १ नम्बर प्रदेशलाई पहिचानको आधारमा नामाकरण गर्नका लागि एउटा साझा दृष्टिकोण बनाएर जान सक्थ्यौ तर त्यो सकेनौ भनेको छ । यसमा चुम्लुङले पनि आफ्नाे महाधिवेशनको म्याण्डेड नछोड्ने यायोक्खाले पनि आफ्नाे महाधिवेशनको म्याण्डेड नछोड्ने यस हिसाबले चुम्लुङ यायोक्खा वा किरातीहरुबिचको बेमेल त रहिरने भो हैन ?
यो बेमेल हुनु भएन । किरात याक्थुङ चुम्लुङले त महाधिवेशनको म्याण्डेड छोडिसक्यो । हामी त बहुपहिचानमा आइसकेका छौ । किरात लिम्बुवान नामाकरण गर्नुपर्छ भनेर राजनीतिक दलहरुसँगसँगै आइसकेका छौ । यायोक्खाले के गर्छ चुम्लुङले के गर्छ भन्दा पनि आफ्नाे दृष्टिकोण सार्वजनिक गर्ने हो । यायोक्खाले आफ्नाे दृष्टिकोण सार्वजनिक गरेको छ, हामीले राजनीतिक दलहरुसहितको आफ्नाे दृष्टिकोण सार्वजनिक गरेका छौं । त्यसले गर्दा यसमा बेमेलको कुरा सोच्नुभएन ।

–यतिबेला चुम्लुङ र यायोक्खा एकै ठाउँमा एउटै मञ्चमा आएर आन्दोलन गर्ने परिस्थिति किन बनेन होला त ?
हैन यो विषयमा हामी छलफलमै छौं । हामी आन्तरिक छलफल र बहसमा छौ । उहाँहरुले चाहिँ निष्कर्ष दिइसक्नुभएको छैन । अर्को कुरा चुम्लुङ र यायोक्खाको साझा मिल्ने कुराहरुमा त हामी सँगसँगैै छौं नि । नामाकरणको कुरा चाहिँ आ–आफ्नाे मुद्दा हुन सक्छ । तर, धर्मको कुरामा हामी साझा छौं, किरात दरबार, पटुक दरबारसँग जोडिएका कुरामा हामी साझा छौं ।

–तर, एकखालको लिम्बु अगुवाहरुले पछिल्लो समय हामी किरात नै हैनौ, हामी अलग हौ याक्थुङबाहरु हौ भन्ने गरेका छन् । यसलाई तपाईले कसरी लिनुहुन्छ ?
यो विषय अहिले बहसमा आएको छ । इतिहाससँग जातिसँग नाम दिएको उपनाम दिएको भन्ने बहसमा आएको छ । हामीले पनि यो बहसलाई सबै कुरा मानेर व्याख्या र छलफल गरिरहेका छौ । राष्ट्रिय चुम्लुङमार्फत, महाधिवेशनमार्फत, कार्यपत्रमार्फत छलफल गरिरहेका छौं ।

दोस्रो महाधिवेशनले हामी किरात समुदायभित्रको लिम्बु हो भनेर किटान गरेको हो । यो चुम्लुङको संस्थागत धारणा हो । यसले गर्दा हामीले यसलाई फेरि अर्को महाधिवेशन नआइकन र बहसको टुंगो नभइकन याक्थुङबा मात्र भन्न सक्दैनौ ।

–अन्तमा, १ नम्बर प्रदेशको नाम पहिचान बेगरको कोशी वा सगरमाथा भएको खण्डमा चुम्लुङ के गर्छ ?
पहिलो कुरा हामीले विरोध नै गर्ने हो । किनभने हामीले प्रदेश नं ४ लाई गण्डकी बनाउँदै गर्दा पनि विरोध गरेका थियौ । ३ नम्बरको नाम बाग्मती बनाउँदा पनि हामीले विरोध गरेका थियौ । अहिलेको एकात्मक शासकले पहिचान स्वीकारेको छैन । यो कुरा तपाईं हामी सबैलाई छर्लङ्ग छ । त्यसैले जबसम्म हाम्रो मुद्दा स्थापित हुँदैन, तबसम्म हामी निरन्तर आन्दोलनमा हुनेछौं ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here