नेपालको नागरिक भएर नागरिकता नहुँदाको पीडा

0
171

-सोनी खातुन

कुनै पनि देशको नागरिक भएर बाँच्न नागरिकता नभइ नहुने चिज हो । जोसँग नागरिकता हुँदैन, उसको पीडा अथाह हुन्छ । यो पीडा आफूले नभोगेसम्म बुझ्न सकिन्न । म पनि यो पीडाबाट गुज्रिरहेकी छु । म नेपाली भए पनि नागरिकता बिना नै जीवन बिताउँन मुस्किल मात्र नभएर जीवन नै असहज भएको छ ।

म २० वर्षकी भएँ । उमेरसँगै मेरो आफ्नो र परिवारप्रति दायित्व बढेको छ । मैले पनि केही काम गरी पढाई खर्च र सकेसम्म आफ्नो परिवारलाई सक्दो सहयोग गर्ने सोच बनाएकी हुन । तर मेरो नागरिकता बन्न नसकेकोले धेरै कामबाट वञ्चित हुनु परेको छ । नागरिकता बिना जीवन जिउँदा त पहिलो मेरो काम गर्ने जीवनमा पनि असर पर्दो रहेछ भन्ने बुझेकी हुँ ।

साेनी खातुन

नेपालमा बसेर आफ्नो भविष्य बनाउन नसकिने कुरा एउटा तीतो सत्य हो । मेरो सोच पनि विदेशमा काम गरी नेपालमा आफ्नो भविष्य सपार्ने ठूलो सपना थियो । तर आफ्नै देशमा नागरिकता बिना जीवन बिताउन संघर्ष गर्ने व्यक्तिले त्यो ठूलो सपना देख्नु दुरूह जस्तै भएको छ । आफूसँग नागरिकता नभएकोले लगभग शैक्षिक शिक्षा प्राप्त गरेर केही गर्न सक्छु भन्ने आशा पनि टुटेको छ । अब नागरिकता बिना आफ्नो जीवन धेरै अन्धकार बित्ने रहेछ भन्ने अनुभव गर्दै अगाडि बढ्दै छु ।

बाल्यकालमा हँदा मलाई जीवन धेरै सजिलो हुन्छ जस्तो लाग्थ्यो । बाल्यकालमा जीवन सजिलो लाग्नु स्वभाविक हो । तर आफ्नो शिक्षाको स्तर बढ्दै जाँदा जीवन सजिलो हुन्छ यो भन्ने कुरा मात्र हो भन्ने थाहा पाएँ र आफ्नो शैक्षिक अध्ययन गर्दै गर्दा स्कूल र कलेजमा नागरिकताको आवश्यक्ता पर्दा बल्ल नागरिकता के हो भन्ने थाह पाएँ । स्कूलमा जसोतसो पढ्न पाए पनि कलेजमा नागकिरता अनिवार्य हुँदो रहेछ । कलेज पढ्ने क्रममा मैले नागरिकताको आवश्यक्ता महसुस गरें । आफू नेपालको नागरिक हुँदा हुँदै पनि नागरिकताको दुःख पाइने रहेछ भन्ने कुरा पनि मैले बुझेँ । पहिला पहिला मलाई राम्रो पढाई हुँदा राम्रो जागिर पाइन्छ जस्तो लाग्थ्यो तर अहिले आएर यो थाहा भयो कि राम्रो जागिर पाउनलाई राम्रो शिक्षा भन्दा नागरिकता चाहिँदो रहेछ । नागरिकता नभपछि राम्रो जागिर होइन जागिर नै नपाइने रहेछ ।

नागरिकता नभएर जागिर खान जाँदा राम्रो बायो–डाटा हरेर भोली आउनु भन्नेहरूले नागरिकता लिएर आउनु भन्दा मन खिन्न हुन्छ । जागिर खाने क्रममा धेरै ठाउँमा रिजेक्सन भन्ने कुरा देख्नु प¥यो । सधैँ आफ्नो आत्मबल डगमगाउँदै गएको महसुस गरें । नागरिकता नभएर जागिर खाँदा मात्र दुःख नभएर अरू ठाउँहरूमा पनि दुःख भोग्नु पर्ने हुँदो रहेछ । नागरिकता नै आफ्नो पहिचान हुँदो रहेछ । चाहे आफूले जति नै राम्रो काम गरे पनि । मान्छेको विश्वास जित्न पनि धरै नै गाह्रो हुँदो रहेछ । आफू इमान्दार भएतापनि एउटा नागरिकता नहुँदा सँधै निराश हुनु पर्दो रहेछ । जागिर आफ्नो ठाउँमा छ तर नागरिकता बिना आफ्नो केही अस्तित्व नहुने रहेछ ।

नागरिकता नभएर आफ्नो जीवन पूरा अन्धकारमा रहने र आफ्नो नाममा केही गर्न असम्भव हुँदो रहेछ भन्ने कुरा थाहा पाएँ । आफूले सबै काम गर्न सक्ने क्षमता हुँदाहुँदै पनि केही गर्न नपाउँदा आफू पुरै तरिकाले केही गर्न नसक्ने अनुभव गरें । धेरै दुःख गरेर पढि सकें पनि आफ्नो पढाई केही काम नलाग्ने हुँदा के गर्नु के नगर्नु जस्तो अनुभव गर्दै गएँ । आफ्नो लागि केही गर्न नसक्ने अवस्थामा आमाबुवालाई छोरी भएर पाल्ने सपना चक्नाचुर भएको अनुभव गरेकी छु ।

आफूसँग नागरिकता नहुनु भनेको आफ्नो जीवन पुरा अन्धकारमा बित्नु हो । आफू गरिब भएकोले होला जागिर नहुँदा नागरिकता बिना जीवन अन्धकार लागेको हो । आफूले आफ्नो लागि आफैँ सबै गर्न सक्ने उमेरमा पनि आमाबुवामा निर्भर हुनु पर्दा साह्रै निराश लाग्छ । आमाबुवाले सक्ने पढाई लेखाई दिए तापनि आफ्नो लागि केही गर्न नसक्दाको दुःख व्यक्त गर्न सक्नु असम्भव लाग्छ ।

आफूले गर्न सक्ने काम धेरै हुन्छ तर जुनसुकै काम गर्नुलाई नागरिकताको आवश्यक्ता हुँदा आफ्नो पढाई कुनै पनि ठाउँमा उपयोग नहुने भयो । आफ्नो केही काम नहुँदा आफ्नो अस्तित्व नै नहुने अनुभव गरेकी छु । आफ्नो अस्तित्व नै नहुँदा दैनिक जीवन बाँच्न धेरै गाह्रो हुँदोरहेछ । अस्तित्वविहीन जीवन कोही पनि बाच्न चाहँदैन र म त्यही समस्यासँग जुझ्दै आएकी छु । संघर्षसँग डराउन डराएकी होइन तर संघर्ष गर्दा गर्दै आफ्नो जीवनको कुनै अस्तित्व छैन भन्ने सोचमा लागेको छु । सबै लिगल काम गर्न नागरिकताको आवश्यकता पर्छ जुन मसँग असम्भव छ । त्यसकारण जुन काम गर्दा नागरिकताको अभाव हुँदैन । त्यही काम गर्न बाध्य हुनेछु । इलिगल काम गर्न कसलाई रहर हुन्छ र तर आफ्नो अवस्था देखेर त्यो काम गर्न बाध्य हन्छु होला आउने दिनहरूमा ।

सुरूवातमा त नागरिकता के हो ? यो किन चाहिन्छ भन्ने कुरामा अल्मलेको थिएँ । जब जागिरको खोजीमा लागे, नागरिकताको मूल्य पनि बुझेँ । तैपनी मनमा आशा थियो कि सबै कार्यालयमा नागरिकता मागिदैन होला तर जति जागिरको खोजी गरें त्यति नै मेरो सोच गलत रहेको अनुभव गर्दै गएँ । जुनसुकै कार्यालयमा पनि नागरिकता आवश्यक हुने र नागरिकता बिना आफूले जागिर खाने सोच असम्भव रहेको अनुभव गरें ।

हामी सबैलाई अनुभव भएको कुरा नै हो कि नागरिकता बिना कुनै सपना पूरा गर्न असम्भव हुन्छ । त्यसअर्थ नेपालको नागरिक भएर नागरिकता नहुँदा धेरै पीडाहरू सहनुपर्ने र आफ्नो अस्तित्व नहुने कुरामा असाध्यै दुःखी अनुभव गर्छु ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here