काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किरात भनेको नेपालकै ऐतिहासिक विशिष्ट सभ्यता, संस्कृति र पहिचान भएकोले प्रदेश १ को नामाकरण गर्दा किरातलाई जसरी भए पनि सम्बोधन गर्नुपर्ने बताएका छन् ।

नेता पौडेलले किरात राई यायोक्खाको टोलीसँगको भेटमा आफूले पनि प्रदेश १ को नामाकरण गर्दा किरातलाई सम्बोधन गर्नेगरी काम गर्न पार्टीका नेता तथा सांसदहरुलाई आग्रह गर्ने बताए ।

यायोक्खाको टोलीले मंगलबार बिहान काठमाडौंको बालाजु बरायोटारस्थित पौडेल निवास पुगेर प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने बताएको थियो ।

पौडेलले नेपालको पूर्वी पहाड हजारौ वर्षदेखि नै किरातको नामले चिनिदै आएको पनि बताए । उनले यायोक्खाको माग जायज भएको र त्यसमा आफ्नाे समर्थन रहेको बताए ।

यायोक्खा अध्यक्ष दिवस राई नेतृत्वको यायोक्खाको टोली मंगलबार बरायोटारस्थित पौडेल निवास पुगेको हो ।
यायोक्खाका उपाध्यक्ष जीवन हाताचो राईले प्रदेश १ लाई किरात नामाकरण अभियान जारी रहने बताए ।

उनले संघीय सरकार र प्रदेश १ सरकारको समेत नेतृत्व गरिरहेको दल नेकपाका सचिवालयका सबै सदस्यहरुसँग भेट्ने योजना रहेको सुनाए ।

यायोक्खाले नेकपाका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपाका अन्य नेताहरुमा योगेश भट्टराई, सुवास नेम्वाङ, भीम आचार्य लगायतलाई भेटिसकेका छन् । बामदेव गौतम, इश्वर पोखरेल र विष्णु पौडेललाई पनि भेट्ने योजना रहेको उपाध्यक्ष राईले बताए ।

यसैगरी यायोक्खाले कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शसांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मासँग पनि किरात प्रदेशको विषयलाई लिएर भेटिसकेको छ । यता, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई पनि भेट्ने यायाेक्खाकाे योजना छ ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here