जनकपुरधाम । प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा मंगलबार सरकारलाई हस्तान्तरण गरेको छ ।

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डा. राम केवल साहले समाजिक विकासमन्त्री नवलकिशोर साहलाई र मन्त्री साहले मुख्यमन्त्री लालबाबु राउत उक्त मस्यौदा हस्तान्तरण गरेका हुन् ।

कार्यदलले तयार पारेको मस्यौदामा प्रदेश नं २ को स्वास्थ्य क्षेत्रमा देखिएको समस्या, सुधारका लागि गर्नुपर्ने उपाय तथा स्वास्थ्य क्षेत्रको पुर्नसंरचना लगायतको विषय समेटिएको छ ।

उक्त समारोहमा मुख्यमन्त्री लालबाबु राउतले कार्यदलले तयार पारेको मस्यौदाले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारलाई मार्ग दर्शक हुने विश्वास व्यक्त गरे ।

सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्र सोच अनुरुपको सफलता पाउन नसकेको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन पुनःसंरचना आवश्यक रहेको बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले स्वास्थ्य नीतिको मस्यौदा तयार भएझैं सरकारलाई अगामी दिनमा काम गर्न सबै क्षेत्रको नीति बनाउनु आवश्यक रहेको बताए ।

उनले अगामी दिनमा सरकारले यस मस्यौदालाई प्रारम्भीक आधार बनाएर आफनो नीति तथा कार्यक्रम बनाउने विश्वास व्यक्त गरे ।

सामाजिक विकासमन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झासहितका वक्ताहरुले मस्यौदामाथि आ–आफनो विचार राखेका थिए ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here