नुवाकाेट । नुवाकोटको विदुरस्थित लोकतान्त्रिक चौतारामा एकदिने ३९औं रञ्जना लिपि कार्यशाला र क्यालिजात्रा भएको छ ।

विदुर सिटी युथ क्लबको आयोजनामा भएको कार्यशालामा तामाङ, नेवार, गुरुङ, क्षेत्री, बाहुनलगयात ९५ भन्दा बढीले सहभागिता जनाएका थिए । १२० जनाले क्यलिग्राफीमा प्रत्यक्ष सहभागिता जनाए ।

नेपालमा १६औं र १७औं शताब्दीसम्म निकै प्रचलनमा रहेको रञ्जना लिपि महायानी बौद्ध धर्म मान्ने भारत, चीन, जापान, मंगोलियालगायत देशमा पनि प्रयोगमा छन्  । नेपालमा पनि केही शिलालेख र अभिलेख र हाल कला विधामा पनि यसको प्रयोग बढ्दो छ ।

संयुक्त राष्ट्रसंघमा नेपालको लिपिमा दर्ता भएको रञ्जना लिपिको प्रवर्द्धनको लागि नुवाकोटमा एक दिने कार्यशालाको आयोजना गरिएको क्लबका अध्यक्ष सुनील श्रेष्ठले बताए । उनले नुवाकोटमा जारी महोत्सवको टाईटल पनि रञ्जना लिपिमै बनाएको जानकारी दिए ।

कार्यशालामा पृथ्वी मावि, स्पार्कल एकेडेमी, कल्याणकारी विद्या मन्दिर, नव जीवन मन्टेश्वरीका विद्यार्थी र शिक्षक शिक्षिका लगायतले सहभागिता जनाएका थिए ।

सेतो कागजमा रञ्जना लिपिका साधारण शब्दहरू कोर्न कोसिस गर्दै गरेका विदुर नगरपालिका वडा नम्बर ४ का सदस्य बसन्त रिजाले मौलिक लिपिबारे सुने पनि जिल्लामा त्यसबारे अध्ययन गर्न नपाएको बताए ।

रञ्जना लिपिले संस्कृति, परम्परा, धर्म र मौलिक पहिचानलाई झल्काउँने भएको यसको लेखनलाई सिकाईको माध्यमबाट व्यवहारमा उतार्दै लैजाने र नुवाकोटमा मात्र नभई रसुवामा पनि प्रवर्द्धन गर्नुपर्ने बेत्रावतीका शशी डङ्गोलले धारणा राखे ।

लिपिको अध्ययनबाट घरमा प्रयोग गरिने धर्म ग्रन्थ, साधना र तथा गोप्य मन्त्रमा रहेका लिपिहरू सजिलै बुझ्न सकिने नेपाल लिपि गुथीका सचिव पवित्र कसा:ले बताए ।

कार्यशालामा कतिपय भने लेख्न मात्र नभएर बोल्न पनि सिकिरहेका थिए । कतिपयले मसी छोप्दै लेख्नुपर्ने झन्झट मानिरहेका थिए । पहिलो चरणको सुरुवात भएर लिपि लेखनको लागि कलमलाई साटो कुचोको ड़ाठलाई प्रयोग गरिएको  गुथीका सचिव कसा:ले बताए ।

त्यस्तै, छैठौं नुवाकोट महोत्सवको अवसर पारेर महोत्सवस्थलमा पनि रञ्जना लिपि क्यालीजात्रा गरिएको क्लबका सचिव प्रदीपकुमार पण्डितले जानकारी दिए । क्यालीजात्रामा नेपाल लिपि गुथीका उपाध्यक्षको समुहले महोत्सवमा आउने अवलोकनकर्ताहरुको नाम रञ्जना लिपिमा लेखेका थिए ।

रञ्जना लिपिमा लेख्न मिल्ने मोबाइल एप ‘रञ्जना स्क्रिप्ट’  बाट नेपालमा प्रचलित पुरानो लिपि रञ्जनाको वर्णमाला सिक्न र रञ्जना लिपिमा लेखेर सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने छ ।

कार्यशाला त्रिशुली सामाजिक क्लब, पिपलबोट समुह, न्यू स्पोर्ट्स ब्वाईज क्लब, कोलेनी थ्रीडी क्लब, नुवाकोट युनाईटेड फुटबल क्लब, दारी ग्यांग, सामर्थ्य नुवाकोट, नुवाकोट जेसीज, र समृद्ध नुवाकोटको संयुक्त सह-आयोजनामा भएको हो  । कार्यशाला विदुर नगरपालिका, नारायणी बेकरी र टिमुरे बस तथा मिनिबस यातायातको सहयोगमा भएको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here