हुँ
म थेबा हुँ
मलाई जेठा नभन ।

मलाई
तिनपानी आइरकको सगुन राखेर ।
ताम्बा र गान्बाहरुले,
छ्योत गरेपछि…’
जुराएको नाम
उधुम मनपर्छ
किनभने
म थेबा नै हुँ ।

मलाई
मेरो आपाले पनि थेबा भन्नुहुन्छ
आमाले पनि थेबा नै भन्नुहुन्छ
मलाई मेरो माई पाराङले पनि मायाले
त्यसै त्यसै भन्छ ।
फुलले, कॉडाले
वन,पाखा यो डॉडाकॉडाले
यो छॉगा छहरा
घाम अनि यो जुनले पनि
त्यसै त्यसै भन्छ जस्तै लाग्छ ।

न कुनै कविले
न त कुनै कलाकारले
न त कुनै ओस्ताजले नै
तीन लोक चौध भुवन भन्दा प्यारो
चारधाम तीर्थाटन भन्दा पवित्र
अनगिन्ती स्नेह र
आफ्नै परिवेशले सिर्जेर, सिंचेर
आफ्नै मायालुहरुको प्रेमिल स्वरहरुले
उच्चारित मेरो नाम
म कसरी भुलुँ..?
त्यसैले
म थेबा हुँ ।
मलाई जेठा नभन ।

-राजेन्द्र संयोगी
बकैया-३ मकवानपुर, हाल दक्षिण कोरिया

3 COMMENTS

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here