बुटवल । बलात्कारको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका गुल्मीका शिव सुवेदीका समर्थकहरुले सुवेदीविरुद्धको बयान फेर्न आफूहरुलाई दबाब दिएको बुटवल उपमहानगरपालिका–३ निवासी आशा थापाले गुनासो गरेकी छन् ।

पत्रकारिता गरिरहेका सुवेदीमाथि गत मंसिर १ गते लुम्बिनीमा आयोजित ‘लुुम्बिनी न्यूज फेस्टिवल’मा सहभागी भएकी आशा थापाकी १६ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोप छ ।

उनले लुम्बिनीस्थित लुम्बिनी बुद्ध इन्टरनेशनल होटलमा बसेकी ती युवतीमाथि जबरजस्ती गरेको पीडित युवतीको जिकिर छ ।

पीडितको बयानपछि नै जिल्ला अदालत रुपन्देहीलाई सुवेदीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।
तर, हाल आफूहरुलाई पहिलेको बयान फेर्न र सुवेदीलाई जेलमुक्त गर्न दबाब दिइएको आशा थापाले बताइन् ।

‘नाम चाहिँ अहिले नै भन्दिनँ, भन्नैपर्यो भने भन्नेछु,’ थापाले भनिन्, ‘तर हामीमाथि बयान फेर्नुस्, नत्र शिव सुवेदी एकदिन जेलबाट निस्कन्छन् । त्यसपछि तपाईंको छोरीलाई नै खतरा पनि हुन सक्छ भन्दै धम्की दिएका छन् ।’

उनले सुवेदी समर्थकहरुबाटै आफूहरुमाथि धम्की दिइएकाे दाबी गरिन् ।

बलात्कारमा परेकी युवतीले भने आफू पढ्ने कलेजका एक जना सरले कसको दबाबमा शिव सुवेदीविरुद्ध मुद्दा हालेको भन्दै सोध्ने गरेको बताइन् ।

उनले रिया बस्नेत र प्रकाश न्यौपानेले योजनाबद्ध ढंगले आफूमाथि यौन हिंसाको घटना घटाइएको र प्रहरीको खोजीपछि उनीहरु हाल फरार रहेको बताइन् ।

‘रिया बस्नेत मेरो केही समयअघि चिनजान भएकाे साथी हो, उसले भनेरै म लुम्बिनी न्यूज फेस्टिवलमा गएकी थिएँ,’ पीडित किशोरीले भनिन्, ‘हामी होटलमा बसेका थियौ, उनीहरुले नै बाहिरबाट चुक्कुल लगाइदिएका थिए ।’

होटलको कोठाको बाहिरबाट चुक्कुल लगाइदिएपछि सुवेदीले आफूमाथि जबरजस्ती गरेको ती किशोरीको दाबी छ ।
उनले सोही घटनापछि रिया बस्नेतले आफूलाई फेसबुकमा अनफ्रेन्ड गरेको र उनी सम्पर्कविहीन भएको बताइन् ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here