काठमाडौं । ‘सोनाम ल्होछारको प्रवद्र्धन हाम्रो सांस्कृतिक एकताको नारा, ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनीतिक एकताको अभिभारा’

राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८५६ को उद्घाटन समारोहमा यही नारा हुने भएपछि शनिबार टुँडिखेलमा आयोजना गरिएको सांस्कृतिक समारोहमा सहभागी हुन नै अस्वीकार गरिन् । उनी टुँडिखेलमा आइनन् ।

नेपाल तामाङ घेदुङको आयोेजनामा टुँडिखेलमा सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा राष्ट्रप्रमुखको नाताले राष्ट्रपति भण्डारीलाई प्रमुख अतिथिको रुपमा निम्तो दिइएको थियो ।

तर, सोनाम ल्होछारको व्यानरमा ‘ताम्सालिङ प्रदेश स्थापना’को नारा समावेश गरिएको थाहा पाएपछि राष्ट्रपति भण्डारीले कार्यक्रममा सहभागी हुन अस्विकार गरेको घेदुङका अध्यक्ष मोहन गोले तामाङले बताए ।

उनका अनुसार ल्होछारमा राष्ट्रपतिलाई प्रमुख अतिथि भएर सहभागी हुन २५ दिनअघि नै चिठी पठाइएको थियो ।
राष्ट्रपति भण्डारीले कार्यक्रममा सहभागी हुने तयारी गरेकी थिइन् । जसका लागि घेदुङका प्रतिनिधि र राष्ट्रपति कार्यालयका कर्मचारीहरुबीच पटक पटक कार्यक्रमबारे छलफल समेत भएको थियो ।

ल्होछार समारोहमा राष्ट्रपतिको भाषण तयार पार्न राष्ट्रपतिको सचिवालयले घेदुङलाई केके बोल्नुपर्ने लेखेर दिनु भन्दै सहयोग मागेको थियो ।

घेदुङले कार्यक्रमका व्यानर, कार्यक्रम तालिका, कार्यक्रमको समय, सहभागी हुने अतिथिहरु लगायत सम्पूर्ण विवरण राष्ट्रपतिको सचिवालयलाई पठाएको थियो ।
तर, ल्होछार समारोहको नारामा ताम्सालिङ प्रदेश उल्लेख भएपछि यही विषयमा असहमति जनाउँदै राष्ट्रपति भण्डारी कार्यक्रममा सहभागी हुन नसक्ने खबर घेदुङलाई गत माघ ९ गते प्राप्त भएको हो ।

‘सोनाम ल्होछारको नारामा अरु सब ठीक छ तर ताम्सालिङ प्रदेश भन्नेचाहिँ हटाउनुस् भन्नुभो,’ राष्ट्रपतिको सचिवालयले भनेका कुरा निकाल्दै घेदुङ अध्यक्ष गोलेले भने, ‘हामीले यो नारा हटाउन सक्दैनौ भन्यौ । उहाँहरुले त्यसो भए राष्ट्रपति तपाईहरुको कार्यक्रममा आउनुहुन्न भनेर उहाँहरुले भन्नुभयो ।’

माेहन गाेले तामाङ

आदिवासी तामाङ समुदायको राष्ट्रिय चाडमा पहिचानको नारा राखिएकै कारण राष्ट्रपति भण्डारी सहभागी नभएपछि तामाङ समुदायका अगुवा तथा पहिचानादीहरुले असन्तोष प्रकट गरेका छन् ।

घेदुङ अध्यक्ष गोलेले तामाङहरुका लागि राष्ट्रपति भण्डारी अब आफ्नाे राष्ट्रपति नभएको बताए ।
‘के राष्ट्रपति भनेको एउटा धर्म र जातिको मात्र हो र ?,’ सार्वजनिकसँगको कुराकानीमा उनले भने, ‘राष्ट्रपति त सबै जनताको हुनुपर्ने हो, उत्पीडित आदिवासी जनजातिहरुको पनि हुनुपर्ने हो । तर, हाम्रो लागि राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति होइन रहेछन्, एउटा नश्ल र समुदायको मात्र रहेछन् ।’

गोलेले दश वर्षे जनयुद्ध, २०६२÷६३ को जनआन्दोलन, विभिन्न आदिवासी जनजाति, मधेसी, दलित र उत्पीडितहरुको आन्दोलनपछि घोषणा गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र र नेपाल बहुभाषिक, बहुधार्मिक र बहुजातीय भन्ने कुरा कागजमा मात्रै लेखिएको रहेछ भन्ने अनुभूत भएको बताए ।

उनले भने, ‘मुलुक त फेरि पञ्चायती शासनमै गएको रहेछ, अब फेरि आमूल परिवर्तनका निम्ति जनआन्दोलन नगरी हुँदैन । र, जनआन्दोलनको नेतृत्व उत्पीडक समुदायले होइन उत्पीडित समुदायकै नेतृत्व हुनुपर्छ ।’

उनले प्रदेश नं ३ लाई बहुपहिचान सम्बोधन हुने गरी आफूहरुले नेवा ताम्सालिङ प्रदेश बनाउन माग गरिरहेकै बेला राजा महेन्द्रकै पथमा गएर बाग्मती प्रदेश बनाएकोमा आफूहरुको गम्भीर असहमति रहेको बताए ।

बाग्मती प्रदेश नामाकरण गरिएको पुस २७ गते तामाङ समुदायको इतिहासमा कालो दिन दर्ज गरिएको उनले बताए ।
उनले ढिलोचाडो नेपालमा ठुलो आन्दोलन हुने भन्दै आफूहरुले चाडै नयाँ स्वरुपको आन्दोलन घोषणा गर्ने बताए ।

यसअघि पनि
गत पुस १५ गते गुरुङ (तमू)हरुको राष्ट्रिय चाड तमू ल्होछारमा राष्ट्रपति भण्डारीलाई प्रमुख अतिथिको रुपमा टुँडिखेलमा बोलाइएको थियो ।

उनी कार्यक्रममा आइन् । कार्यक्रमको उद्घाटन पनि गरिन् । तर, तमू ल्होछारको शुभकामनासहित सम्बोधन हुने अपेक्षा गरिएको भए पनि उनी कार्यक्रम उद्घाटनपछि एकछिन बसेर उठेर हिडिन् । त्यसबेला पनि राष्ट्रपतिको सहयोगीहरुले तमू ल्होछार कार्यक्रमको तालिका बदलेर छिटो कार्यक्रम सक्न दबाब दिएका थिए ।

राष्ट्रपति बिचमै उठेर हिडेपछि तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले मञ्चबाटै ‘हामीले राजा महाराजा जस्तो हेर्ने मात्र राष्ट्रपति चाहेका हैनौ’ भन्दै राष्ट्रपति भण्डारीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले भनेका थिए, ‘हामीले राजा महाराजा जस्तो हेर्ने राष्ट्रपति चाहेका हौ र ? हामीले कस्तो खालको व्यवस्था ल्याएछौ भन्ने अनुभूति भयो ।’

ल्हाेसारमा रेशम गुरुङको प्रश्नः हामीले हेर्ने राष्ट्रपति चाहेका हौ र?

4 COMMENTS

  1. राष्ट्रपति कार्यक्रममा आउन नसक्ने र आएपनी तमुहरुको लोछार कार्यक्रममा जस्तै, कार्यक्रमको अवमूल्यन गरेर शुभकामना नदिई विचमा नै जानसक्ने यतिजावो अनुमान गर्न नसक्नु तामाङ नेतृत्वको कमजोरी हो। बरु सुरुदेखि नै पहिचान विरोधी भनेर चिनिएका नेकपासङ्ग सम्बद्ध राष्ट्रपति लगाएत कोहि कसैलाई वास्तै नगरिएकोभए एककिसिमको आन्दोलन हुन्सक्थ्यो।

  2. HO, HO, HARI SIR LE BHANEKO PANI THIKAI HO. ARKO KURO BHANEKO TAPAI-HAMI (AADIBASI JANJATIHARU) LE JATINAI THULO KURO GARE PANI 12.03 % ‘BAHUN’ NETRITBA KO HALI-MUHALI RAHEKO ‘RAJNITIK DAL’HARUKAI “JHOLE-POKE !” BANESAMMA …
    CHETANA BHAYA !

  3. 3 no pradesh vaneko tamang Ko atyadhik janasangkhya vako pradesh ho yetro jani jani thaha vaye kana bagmati pradesh rakhnu vabeko chahi tamang harulai hepnu ho ani tamang harulai manxe naganeko ho yiniharule k garlan vanera . Hunu pani ho tamang tamba harule vasan matra dinu jannu vo tyo bahek aru kehi garnu jannu vayena yedi yo bagmati namekaran rakhne bitikai 3 no pradesh kai jilla jilla bata birodhko nara julus anischitkal gareko va kehi tah hunethyo Khoi tyo pani xaina

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here