विजय चाम्लिङ

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टिकापुर घटनामा झुटो मुद्दा लगाएर जन्मकैद गरिएका रेशम चौधरीसहित ११ जना थारुहरुलाई मुद्दा खारेज गरी रिहाई गर्न सरकारलाई २० दिनको अल्टिमेटम दिएको छ ।

मोर्चाले आज बुधबार काठमाडौंको बानेश्वरस्थित अल्फा हाउसमा पत्रकार सम्मेलन गरी १० बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गरको छ ।

सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २० दिनभित्रमा माग सम्बोधन नगरे आगामी फागुन १ गतेदेखि कैलालीमा मोर्चाका संयोजक लक्ष्मण थारुको नेतृत्वमा सामूहिक अनसन सुरु गर्ने सरकारलाई चेतावनी दिइएको छ ।

मोर्चाले प्रनिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली–१ बाट निर्वाचित सांसद समेत रहेका रेशम चौधरीका साथै विरबहादुर चौधरी, हरिनारायण चौधरी, बृजमोहन चौधरी, राजेश चौधरी, प्रदिप चौधरी, श्रवण चौधरी, गंगाराज चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया र सन्तकुमार चौधरीलाई लगाइएको झुटो मुद्दा खारेज गरी तथा आममाफी दिई रिहा गर्न माग गरेको छ ।

मोर्चाको दोस्रो बुँदाको मागमा टिकापुर घटनाबारे छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल र देवीराम शर्माको नेतृत्वमा गठन गरिएको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

मोर्चाको तेस्रो मागमा २०७२ भदौ ८ गतेको टिकपुर घटनापछि लगाइएको कफ्र्युकै बेला थारुहरुको घर, पसल तथा व्यवसायिक केन्द्रहरुमा गरिएको आगजनी, लुटपाट, चोरीमा संलग्न अपराधीहरुलाई पक्राउ गरी कारबाही गर्नुपर्ने उल्लेख छ ।

मोर्चाले थरुहट संयुक्त संघर्ष समिति र सरकारबीच २०६५ चैत १ गते गरेको ६ बुँदे सहमति र २०६८ जेठ १० गते गरिएको १० बुँदे सम्झौता अबिलम्ब पालना गर्नुपर्ने, जातीय ऐतिहासिक सघनता र पहिचानको आधारमा प्रदेश निर्माण र नामाकरण गर्नुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने, राज्यको हरेक तह र अंगमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, आदिवासी जनजातिका चाड पर्वमा राष्ट्रिय विदा दिनुपर्ने लगायत माग राखेको छ ।

आन्दोलनका कार्यक्रम
२०७६ माघ ८ गतेः पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने ।
२०७६ माघ १४ गतेः प्रधानमन्त्रीलाई १५ दिने अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाउने ।
२०७६ माघ १५ देखि माघ मसान्तसम्मः पत्रकार सम्मेलन, अपिल, पर्चा पोस्टर, भित्ते लेखन, माइकिङ, व्यानर टाग्ने ।
२०७६ माघ १८ गतेः धनगढीमा बृहत अन्तरक्रिया गर्ने ।
२०७६ माघ २४ गतेः संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोग र मानवअधिकार आयोगमा आन्दोलनबारे जानकारी गराउने ।
२०७६ माघ २५ गतेः काठमाडौंमा पहिचान पक्षधरको बृहत अन्तरक्रिया गर्ने ।
२०७६ फागुन १ गतेः कैलालीको धनगढी र काठमाडौंमा आमरण अनसन थाल्ने ।
२०७६ फागुन २ गतेः धनगढीमा विशाल जनप्रदर्शन गर्ने ।
२०७६ फागुन ५ गतेः माग सुनुवाई नभए दिनदिने बन्द गर्ने ।
सोपछि पनि सुनुवाई नभए अनिश्चिकालिन बन्द गर्ने ।

मोर्चाको पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्याल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, खम्बुवान राष्ट्रिय पार्टीका अध्यक्ष आरके खम्बु, नेवा राष्ट्रिय पार्टीका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

उनीहरुले मोर्चाको आन्दोलनमा ऐक्यवद्धता समेत जनाएका छन् ।

ADVERTISEMENT

1 COMMENT

  1. He desh ka dhamira ho desh lae ladauna ra judhaun bhanda aru kehi chhaina kamse come desh ma aru thulo pragati garera dekhauna sadai banda ra hadatal bhaneko chha nepal ka janne bujne haru ko kam yahi ho aru kehi chhain ali kehi garne lai sahayag gar khutta tanne kam nagar he deshka neta ho andolan ra julush gare ra desh dubaune kam nagar ya sab yajana garnu ko sato kehi kam gare ra dekhau dhanyabat mero manma lage ko kura yaso sare ko chhu

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here