[sharethis-inline-buttons]

सधैँजस्तै औँसी हाटमा

म सुँगुरपाठा बेच्न ढाकरभरी बुदुने, लामकाने बुच्चाबुच्चीहरु बोकेर

यसो उँधो झर्दाखेरी

तिमीपनि चेप्टे, डल्ले, लाम्चे मर्चाहरु थुन्चेभरी बोकेर

उकाली उसै चढी आउनू

हाउ, यसपाली औँसी हाटमा

कसो हजुरको पछ्यौरीको एक कुनामा

मेरो मुटुको एकटुक्रा कस्ने आँट छ

झुसी-झुसी मायासरी !

पोरै साल घरबार जोडौँ भनी बिन्ती बिसाउँदा

जो यो साल आउँदै छ भनी

बारबार चोर औँला यही साललाई ताकिथ्यौ

कठै, तेसै टरेर गयो पोहोर सालपनि !

अनि सालैभरी बिना तिम्रो साथ एक्लिएर

दाउराघाँस जाँदा, मेलापात भर्दा

तिम्रै मायाको हावाहुन्डरीसंगै

विरहमा मुरली हिर्काएँ, बाँसुरी फुकेँ, पकन्दी हालेँ

यो साल त, हाकिमे कान्छी

धरोधर्म सत्ये

धर छैन पोहोरको सालझैँ अर्को सालको कसम

यो साल त,

तिम्रो हातैमा मेरो हाते हतकडी

मायाको तगारो, पालामको जञ्जिर

कसरी जाउली

तिमीले तर्ने फड्केमा बुकीफूल तेर्साउँछु

तिमीले तर्ने नाउमा तिमीलेनै चिनो दिएको

बर्षौँ माया र आँसू बोकेको रुमाल झुन्डाउँछु

चूलीचूली मायानैसरी

कसरी नाघी जाउली

कसरी तरी जाउली

मेरो माया भुलेर, मेरो मुटु टेकेर

पछ्यौरीमा झुन्डिन्छु

तिम्रो कपाल र सलमा बेरिन्छु

पहरा र अक्करबाट तिम्रै अघि

हामफाल्ने साहस गर्छु

तमोरको घमाउरो दहमा डुब्ने आँट गर्छु

ए, हाकिमे कान्छी

सधैँजस्तै औँसी हाटमा

पोरोरझैँ कसरी मलाई एक्लै छाडेर जान्छौ यो साल

हेर्छु मपनि !

औँसी हाट (कविता)

-राजा माबो 

1 COMMENT

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here