पाल्पा । समाजवादी पार्टीका केन्द्रीय सदस्य नवीनकुमार सुनुवारले रुपमा प्रजातन्त्रवादी भनिने तर सारमा दलाल पुँजीवादको नेतृत्व गर्ने नेपाली कांग्रेस र तथाकथित साम्यवादको नारा लगाउने व्यवहारमा सामन्तवाद दलाल कमाउनिष्ट नेकपाजस्ता पार्टीले श्रमजीवी वर्ग र उत्पीडित समुदायको पक्षमा सुशासन र समाजवाद लागू गर्न नसक्ने दाबी गरेका छन् ।

आइतबार पाल्पाको तानसेनमा समाजवादी पार्टी जिल्ला समन्वय समितिको बैठक तथा वलिदानी दिवसको अवसरमा आयोजित भेलामा समाजवादी पार्टी प्रदेश नं ५ का सहइन्चार्जसमेत रहेका सुनुवारले सो कुरा बताएका हुन् ।

उनले नेपाली कांग्रेस दलाल पुँजीवादको नेतृत्व गर्ने पार्टी र नेकपा पनि सामन्तवाद दलालहरुको नेतृत्व गर्ने पार्टी भएको प्रष्ट पारे । नेकपा र कांग्रेसले संघीयता, सुशासन र समृद्धिको लागि समाजवाद ल्याउन नसक्ने उनले बताए । उनले भने, ‘यिनीहरु दुवै पार्टी श्रमजीवि एवं उत्पीडत वर्गको प्रधान सत्रु हुन् ।’

उनले पहिचानसहितको मगरात थरुहट प्रदेश प्राप्तिको अधुरो क्रान्तिलाई समाजवादी पार्टीले पूरा गर्ने बताए ।

समाजवादी पार्टीले संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) सुरु गरेकामा नेता सुनुवारले जनताको घरघरमा पुगेर पार्टीको विचारलाई स्थापित गर्न कार्यकर्ताहरुको दायित्व भएको बताए ।

उनले नेकपा नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको आरोप लगाए । उनले स्थानीय तहका जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त भएको भन्दै देश कंगाल हुने दिशामा रहेको भन्दै चिन्ता व्यक्त गरे ।

‘कालाबजारी र महंगी आकाशिएको छ, नेपाली जनता आक्रान्त बनेका छन् । प्रदेश सरकारका मन्त्रीहरु अधिकारविहीन भएर कार्यकर्ताको जुत्ता पसलको उत्घाटन गरिरहेको दृश्य देख्न पाइन्छ,’ उनले भने, ‘संविधान संसोधन गरेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था र पहिचानसहितको संघीयता प्राप्त नभएसम्म उत्पीडितहरुको मुक्ति हुन्न ।’

उनले विदेशीसँग भिख मागेर घ्यु खाने प्रवृतिका कारण नेपालको राष्ट्रिय स्वाधिनतामाथि वैदेशिक हस्तक्षेप भइरहेको बताए  उनले वैदेशिक सहयोगको नाममा नेपालको बहुमूल्य यूरेनियम, जलविद्युत, पिउने पानीमा कसले एकाधिकार कायम गर्ने भनेर नेपालमा त्रिदेशीय होडवाजी चलिरहेको भन्दै त्यसले नेपाल कतै अफगानिस्तान र इराक त हुने होइन भन्ने शँका उब्जाएको बताए ।

समाजवादी पार्टी जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष मेहरमान रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजवादी पार्टी प्रदेश नं ५ समितिका सचिव हिमानी थापा मगर, प्रदेश सदस्य कुमबहादुर घर्ती मगर, घनश्याम पोखरेललगायत नेताहरु सहभागी थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here