काठमाडौं । किरात समुदायको ‘किरात येले संवत्’ भोलि माघ १ गतेदेखि ५०८० सुरु हुँदैछ । यो संवत् नेपालकै सर्वाधिक प्राचीन संवत् हो ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने किरात राईहरुले भोलि राष्ट्रिय सभागृहमा भेला भएर नयाँ वर्ष मनाउँदैछन् ।
सो अवसरमा किरात राई यायोक्खाले सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङलाई भब्य कार्यक्रमको आयोजना गरी ‘यलम्बर हाङ स्मृति सम्मान पुरस्कार–५०८०’ प्रदान गर्दैछ ।
२ लाख २२ हजार २२२ रुपैयाँ राशिको उक्त पुरस्कार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको हातबाट प्रदान गर्ने तयारी छ ।

यायोक्खाले चाम्लिङलाई काठमाडौंमा ल्याएर सम्मान गर्दै किरात येले संवत् मनाउने व्यापक तयारी गरेको छ । यसका लागि उसले सक्दो प्रचार गरिरहेको छ ।

यायोक्खाले भोलि माघ १ गते दिउँसो १ बजे राष्ट्रिय सभागृहमा भेला हुन किरात समुदायमा अपिल गरेको छ ।
किरात येले संवतका बारेमा भने किरात समुदायका अगुवाहरुबीच मतान्तर देखिएको छ । येले संवत् ५०८० कलिगत तथा मनोगत मात्र हो ।

यसबारे सन् २०१० देखि चार वर्षसम्म किरात समन्वय समितिले विभिन्न गोष्टि छलफल र अन्तरक्रिया गरी तथ्यगत र प्रमाणिक येले संवत् तय गरेको छ, जसअनुसार यस वर्ष ३७९९ मात्र हुन्छ । किरात येले संवत् तथ्यगत वर्ष प्रयोगमा ल्याउने कि अप्रमाणित चलाउने भन्ने मतान्तर छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here