–राजकुमार राई

नेपालको मुर्धन्य विद्वान दुर्गाहाङ याक्खा राईको पुस्तक किरातः हिजो र आज (प्रकाशक– किरात राई यायोक्खा, बाँसबारी काठमाडौं–२०५५) मा पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तार अभियान सन्दर्भमा संग्रहित थुप्रै सामग्रीहरुमध्ये चारवटा सामग्रीहरु मननयोय छन् । ती यसप्रकार छन्ः

१. पृथ्वीनारायण शाहले आफ्नाे सरदार रामकृष्ण कुँवरलाई लेखेको चिठी
‘किरात हान्यूँ ४/५ सय कत्तल भयो भन्या पत्रबाट जाहेर भयो. बहुतै बढिया गर्यौ. तिमी देषी बहुतै खुषी भया. नेपाल मार्दाको मिहिनेत अरु सर्दार भन्दा तिमी मुष्यै भयौ. तिम्रो मिहिनेत देषी खुषी भै २२ जोर सिरोपाउ बक्सी पठायाकोे छ. पैह्र अरु सुबा सर्दारलाई पनि पठायाको छ. नाउको कागज हेरी बाडी देऊ. बन्दुक नाल ५५ पठायाको छ पुग्ला’
(वि.स १८३० फाल्गुन वदि ९ (१७७३ ई) पृ. ५८)

२. पृथ्वीनारायण शाहले दाङको भैरव मन्दिरमा बस्ने आफ्नाे तान्त्रिक गुरु भगवन्तनाथ योगीलाई लेखेको चिठी
‘स्वस्ति… सास्टाङ्ग दण्डवत् प्रणामपूर्वक पत्रमिदम्.. उप्रान्त..पूर्वका काजलाई (तरवार सहित) आशीर्वाद बक्सी पठाया गये थ्यो. आशीर्वाद शिर चढाइकन किरातको काज गर्या थ्यौ. आफ्ना आशीर्वादले अरुण साँध लाग्यो. हजार एक बैरि काटियो. सय चार बैरि नदीमाहा वगी मर्यो. सय चौध जहान बच्चा पकडिया. वल्लो किरात फत्ते भयो. किरात फत्ते भयाको पगडी एक चढाई पठायाको पहुँचाला..’ (१७७३ ई पृं ५९)

३. पृथ्वीनारायण शाहले अर्को पटक उनै तान्त्रिक गुरुलाई लेखेको चिठी
‘.. उप्रान्त किरातका काजलाई तरवार हुकुम बक्सी पठाया गयेथ्यो.. आशीर्वादले सबै फत्य भयो. मधेश माहाँ कनकाई नदी पहाड माहा साभा षोलो तमोर नदीको साँध लाग्यो. मानिस काट्न पाइयेनन्. भाग्यो. कति मोगलाना तिर गयो. कति सुषिम तिर गयो. अरु झार जंगल माहा जना ८५ बेसि काटिया. बाँकी सुषिम संग हाम्रो घा (सन्धि) हुन लागिरहेछ. घा बन्या देषि किरातबाट भागी जान्या कन पकरेर हामिलाई सौंपि दिन्याछ..’ (११ सेप्टेम्बर १७७४ पृ ६६)

४. पृथ्वीनारायण शाहले आफ्नाे सैनिक अधिकृत अभिमान सिंह बस्न्यात लगायतलाई लेखेको चिठी
‘बुद्धिकर्ण ‘राई’ का हातिराम्रो छ गरे. त्यो हाति माहुतलाई.. कमाइकन सय ४/५ रुपैञा कबोलि कन चोरि ल्याउन पठाउन्या हो,….’ (५ अक्टोबर १७७४ ई पृं ४२)

तथ्यहरु आफै बोल्छन् । उल्लेखित सामग्रीहरुबाट नेपाल एकीकरणकर्ता राष्ट्र निर्माता आदि विभुषणले महिमामण्डन गरिएका पृथ्वीनारायण शाहको बारेमा वास्तविकता उजागर हुन्छ । यथार्थमा उनी नेपाल एकीकरणकर्ता होइनन् । गरिबी र कंगालपनमा हुर्किएका लुब्ध व्यक्ति हुन् । नेपाल त स्थापनाकालदेखि नै एक प्रकारको परम्परागत संघीय शासन प्रणाली भएको एकीकृत देश थियो ।

माथिका उनका चिठीहरुमा उल्लेख भएको विवरण हेर्दा पहिलो चिठीमा उनका सैनिक कारिन्दा रामकृष्ण कुँवरबाट चारदेखि पाँच सय संख्यामा किरातहरुलाई मार्यौं भन्ने जानकारी पाएको कुरा छ । जसको लागि गोरखाली सेना र सरदार रामकृष्ण कुँवरको प्रशंसा गर्दै पुरस्कारको रुपमा शिरपाउ पोस र ५५ नाल बन्दुक पठाइदिएको देखिन्छ । उनले आफ्नाे तान्त्रिक गुरुलाई लेखेको चिठीमा उल्लेख गरे अनुसार गुरुले मन्त्र गरेर दिएको तरवारको तागतले किरात भूमि जितिएको र त्यस क्रममा एक हजार जना किरातहरुलाई काटिमारिएको, चार सय जति नदीमा बगिमरेको र किरातका चौध सय जहान बच्चा गिरफ्तार गरिएको तथा पल्लो किरातमा वैरीहरु भागेकोले काट्न नपाएकोमा बेमज्जा महशुस गरेको तथापि झोर जंगलमा लुकी बसेका ८५ जनाभन्दा बढी किरातहरुलाई काटिमारेको कुरा पृथ्वीनारायण शाहले सगर्व बताएका छन् । सिक्किमसँग सन्धि भएपछि किरातबाट भागी गएकाहरुलाई सुपुर्दगी गरेपछि काटिमार्ने मनसाय व्यक्त गरेका छन् । गिरफ्तार गरिएको चौध सय जना जहान बच्चाको भाग्यको बारेमा उल्लेख नभएको भएता पनि गोरखाली सेनाको रवैया हेर्दा र किर्तिपुर कब्जा गरेपछि नेवारहरुको नाक, कान काटी साढे सत्र धार्नी थुपारेको कुरा इतिहासमा उल्लेख भएकोले किरातका बालबच्चालाई पनि काटिमारेको वा अंगभंग बनाइएको प्रष्ट छ । यसरी किरातीहरुको किरात स्वायत्त राज्य कब्जा गर्ने क्रममा नदीमा बगी मरेको समेत गरेर दुई हजारको संख्यामा पृथ्वीनारायण शाहले किरातहरुलाई निर्मम रुपमा मारेको र पक्रिएकाहरु समेत जोड्दा ३४ सयलाई हत्या गरेको देखिन्छ । यो संख्या त संयोगले उनका सैनिक अधिकृत र उनले उल्लेख गरेका विवरण मात्र हुन् । अरु उल्लेख नभएका हजारौ हजारको संख्यामा किरातहरुको पाशविक रुपमा हत्या गरिएको लख काट्न सकिन्छ ।

उनले चिठीमा किरातलाई वैरी भनी उल्लेख गरेका छन् । वास्तवमा इतिहासको कुनै कालखण्डमा पनि किरातले पृथ्वीनारायण शाहको हानी नोक्सानी गरेको वा दुस्मनी साँधेको पाइँदैन । कृतिम सत्रु करार गरेर उनले अनाहकमा किरातहरुको आमसंहार गरेको, उनीहरुको गढी, दरबार, घरगाउँ ध्वस्त पारेको, धन सम्पति लुटेको र स्वायत्त राज्यलाई बलपूर्वक कब्जा गरेको देखिन्छ । उनको कोपभाजनमा परेर धेरै किरातहरु भारतको सुपौल, पूर्णिया, आसाम साथै भोटाङ, बर्मा (म्यान्मार)तिर पलायन हुन बाध्य भए । अनेकौं दुःख हन्डर पाए । उनीहरुको पहिचान नै मेटियो । तसर्थ, अन्य कुनै समुदायको निम्ति पृथ्वीनारायण शाह आफ्नाे जातीय, धार्मिक, भाषिक, सांस्कृतिक उत्थान गरिदिने मुक्तिदाता, राष्ट्रनिर्माता वा एकीकरणकर्ता मानिएलान् तर किरातको भावनाबाट हेर्दा उनी आफ्नाे पूर्खाहरुको हत्यारा, लुटेरा र स्वायत्त राज्य हरणकर्ता आततायी हुन्, पिडक हुन् र बर्बादीका कारण हुन् ।

उनीहरुका यस्ता बेतुकका क्रियकलापहरुले इतिहासको आततायी कालखण्डमा निर्मम दमनबाट पीडित भई खाटा बसिसकेको किरातहरुको घाउलाई पुनः उप्काउने, वर्तमानमा पनि अपमान गर्ने, खिसीटिउरी गर्ने, आत्मसम्मान र भावनामा चोट पुर्याउने काम भइरहेको छ ।

उनले आफ्ना सैनिक अधिकृत अभिमान सिंह बस्न्यात लगायतलाई लेखेको माथिको चौथो नम्बरको चिठीको विवरण हेर्दा उनको मनोवृत्ति र औकात देखिन्छ । यसमा किरात राज्य विजयपुरका शासक बुद्धिकर्ण राई (जो ईष्ट इन्डिया कम्पनी सरकारसँग कलकतामा भेटवार्ता गरेर फर्कदै गर्दा गोरखाली गुप्तचरहरुद्वारा मारिए) को हाती माहुतेलाई चार पाँच सय घुस दिएर चोरी गरेर ल्याउन अह्राएका छन् । यसबाट पृथ्वीनारायण शाह आर्थिक र मानसिक रुपमा कति दरिद्र थिए भन्ने प्रष्ट हुन्छ । मकवानपुरे सेन शासकको छोरी इन्द्रकुमारीसँग बिहे गर्न ठिक्क गरेकोमा आफूले माग गरे अनुसारको दाइजो एक दन्त हाती र नौ लाख हिराको हार जेठानले नदिएकोले कन्या छाडेर रित्तै फर्किने उनी वास्तवमा कंगाल थिए । यही कंगालीपनाको अवसाद मेटाउन नै उनले भोट मुग्लान (तिब्बत भारत) बिचको व्यापारिक केन्द्रको रुपमा रहेको नेवारहरुको स्वायत्त राज्य काठमाडौं उपत्यका र नकलबन्द हुँदै आसाम र कलकतासम्मको व्यापार हुने नेपालको पूर्वमा अवस्थित किरात स्वायत्त राज्य कब्जा गरेर आफ्नाे लालची चित्त तृप्त पारेका थिए । हाती र हिराको हार नदिएको रिस फेर्न मकवानपुर कब्जा गरेपछि जेठानहरुलाई छाला काढेर घाममा टागेर मारेका थिए । वास्तवमा उनी देशको एकीकरणकर्ता नै होइनन् । किनभने नेपाल कहिल्यै टुक्रिएकै थिएन । एक खाले संघीय शासन प्रणालीमा आबद्ध थियो । नेपाल देशका संस्थापक त किरातहरु हुन् । उनीहरुले नै यस देशको नाम नेपाल राखेका हुन् । किरातहरुको पालामा किरात देश नेपाल मात्र नभएर कश्मिरदेखि सुरु भएर कैशाल मानसरोवर हुँदै पूर्वमा भोटाङ, कामरुप (आसाम) देखि महाचीनसम्म र दक्षिणमा नागहरुको नगदेश, विन्ध्या पर्वत र गंगाको मैदानसम्म थियो । यो कुरा योगिनीतन्त्रमा उल्लेख गरिएको छ ।

युगान्तकारी परिवर्तन भएर नेपाल अहिले संघीय गणतन्त्रात्मक देश बनेको छ । यसबेला गणतन्त्र र संघीय शासन प्रणालीलाई संस्थागत गर्नु हामी सबैको कर्तव्य हो । संघीयता सम्बन्धी कतिपय सम्बोधन हुन नसकेका मुद्दाहरुलाई संविधान संशोधनको माध्यमबाट पूरा गर्नु तत्कालको हाम्रो काम हो । यसको विपरीत राज्यसत्ताको नेतृत्वकर्ताहरु विगतमा २४० वर्षसम्म कायम रहेको निरंकुश शाह पारिवारिक वंशको शासनको संस्थापक पृथ्वीनारायण शाहको यसोगान गर्ने, प्रशस्ती गाउने, उनको मूर्तिमा माल्यार्पण गर्ने, सलामी दिने, उनले ध्वस्त पारेका र जितेका गढीहरुमा सरकारी कार्यक्रम आयोजना गर्नेजस्ता क्रियाकलाप गरिरहेका छन् । यसबाट उनीहरुले गणतन्त्र र संघीयता आत्मसात गर्न नसकेको देखिन्छ भने युगिन परिवर्तनबाट स्थापित गणतान्त्रिक राज्यसत्ता सञ्चालनका लागि औकात नपुगेको पाइन्छ । पार्टी स्थापनाकालमा दस्तावेजमा गणतन्त्रको कार्यक्रम राखेर हाल सत्तामा पुगेका आफूलाई कम्युनिष्ट दाबी गर्नेहरुको यस्ताखाले कार्य हेर्दा उनीहरु इतिहासको उल्टो गतितिर हिडिरहेको प्रतित हुन्छ । उनीहरुका यस्ता बेतुकका क्रियकलापहरुले इतिहासको आततायी कालखण्डमा निर्मम दमनबाट पीडित भई खाटा बसिसकेको किरातहरुको घाउलाई पुनः उप्काउने, वर्तमानमा पनि अपमान गर्ने, खिसीटिउरी गर्ने, आत्मसम्मान र भावनामा चोट पुर्याउने काम भइरहेको छ । युग परिर्वतन पश्चात्को वर्तमान संघीय गणतान्त्रिक कालमा यस्ता अवान्छित कार्यहरु सह्य हुँदैन । इतिहासको समिक्षा गर्दै सबै जातिहरुको, सबै सभ्यताहरुको, सबै संस्कृतिहरुको सम्मान र शासनमा साझेदारी नै आजको प्रमुख आवश्यकता हो ।
(सन्दर्भः पुस २७)

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here