२९ वर्षीय कलाकार सुमन राई उदयपुरमा जन्मिएका हुन् । उनी पेशाले रेस्टुरेन्ट व्यवसायी र सेफ हुन् । बेरी जोन थियटर, नेपालमा अभिनय सिकेका सुमनले यसअघि नाटक ‘तुम्बी बाजे’मा अभिनय गरेका छन् ।

पौष ११ गतेदेखि ललितपुरस्थित बेरी जोन थियटरमा प्रदर्शन भइरहेको नाटक ‘मधेशमा रावा’मा रावाको भूमिकामा अभिनयगरिरहेका सुमन राईसंग हामीले केही प्रश्नहरु गरेका छौं ।

नाट्यक्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

नाट्यक्षेत्रमा लाग्ने मेरो कुनै योजना थिएन । पहिला त म नृत्यतिर आकर्षित थिएँ । तर त्यता लाग्ने आफ्नो चाहना पुरा हुन नसकेपछि मैले त्यसलाई थाती राखें । पछि काठमाडौँ आइयो । यहाँ आएपछि थियटरबाट उत्पादित कलाकारहरुले फिल्ममा गरेको अभिनयले मलाई तान्यो । ममा पनि केही कलाकारिता छजस्तो लाग्यो र मैले सातदिने अभिनय प्रशिक्षण लिएँ । यसले मलाई आफूमा अभिनयक्षमता छ भन्ने आत्मविश्वास दिलायो । आफूलाई थप निखार्ने क्रममा बेरी जोन थियटरमा आएर छ महिने नाट्यप्रशिक्षण लिएपछि नाटक ‘तुम्बी बाजे’मा अभिनय गर्ने मौका मिल्यो । त्यस नाटकमा मैले गरेको कामको प्रतिफल भनौं, अहिले नाटक ‘मधेशमा रावा’मा म रावाको भूमिकामा छु ।

नाट्यक्षेत्रमा तपाईं आफ्नो भविष्य कस्तो देख्नुहुन्छ ?

यो बारेमा म यकिनका साथ भन्न सक्दिनं । प्रयास गर्दै जाने हो, के हुन्छ हेर्दै जाऊँ भन्ने छ । यो मैले आफैं रोजेको विधा भएको हुनाले मलाई यता लाग्नुमा कुनै पश्चात्ताप छैन । किनभने नाटकमा काम गर्दा मलाई सबैभन्दा बढी आनन्द महसुस हुन्छ । म एक रेस्टुरेन्ट व्यवसायी पनि भएकाले नाटकमा काम गर्दै हिंड्दा आवश्यक पर्ने खर्चको जोहो गर्ने समस्या मलाई छैन । यो कारण पनि म नाट्यक्षेत्रमा रहिरहन सक्छु भन्ने लाग्छ ।

नाट्यक्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण कुरा के रहेछ ?

अभ्यासलाई निरन्तरता दिन सक्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । अनुशासनको पनि उत्तिकै महत्त्व हुन्छ । लेखकले दिएको चरित्रलाई हामीले निभाउन सक्नुपर्छ । आफ्नो चरित्रलाई न्याय दिनका लागि लगाइने उर्जाको ठूलो अर्थ हुन्छ । यसैमा कलाकारको भविष्य पनि निर्भर हुन्छ ।

युवाहरुको वृत्तिविकाशमा नाटकको के भूमिका रहन्छ ?

प्रायः सबै नाटकले एउटा न एउटा सन्देश बोकेको हुन्छ । युवाहरुमाथि केन्द्रित नाटक बनाउने होभने त्यसले उनीहरुको मनोविज्ञानलाई सकारात्मक बनाउन ठूलो भूमिका खेल्छ । नाटकबाट युवाहरुले सिक्ने कुराहरु धेरै छन् ।

नाटक ‘मधेशमा रावा’मा तपाईंले अभिनय गरिरहनुभएको पात्र रावा कस्तो चरित्र हो ?

रावा भन्ने मान्छे पहाडदेखि आएर मधेशमा बसेको पात्र हो । माझकिराँत भएर बग्दैबग्दै मधेश पुग्ने रावा खोलाबाट उक्त पात्रको रावा नाम राखिएको हो । रावाले आफ्ना अभिभावक गुमाएपछि उनका मीतबाले उनलाई मधेशमा ल्याएर हुर्काएका हुन् । मधेश आन्दोलनताका रावाले आफू पहाडी भएकै कारण भोग्नुपरेका उतारचढावहरुको मार्मिक प्रस्तुति नाटकमा छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here