इलाम । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेपालको राजनीतिक क्रान्ति बाँकी नै रहेको बताएका छन् ।
बिहीबार इलाममा आयोजित समाजवादी पार्टी इलाम नगर समितिको घोषणासभामा नेता राईले उत्पीडितहरुले परिवर्तनको महशुस नगरेसम्म राजनीतिक क्रान्ति अधुरो रहने बताए ।

‘आदिवासी, विपन्न, महिला, दलित, मधेसी, मुस्लिम एवं उत्पीडितहरुले अझै परिवर्तनको महशुस गरेका छैनन्,’ उनले भने, ‘जबसम्म उत्पीडितहरुले परिवर्तनको महशुस गर्दैनन् तबसम्म क्रान्ति अधुरै रहन्छ । अब आम उत्पीडितहरुसम्म परिवर्तनको महशुस पुर्याउने काम समाजवादी पार्टीले गर्नेछ ।’

उनले पहिचानसहितको संघीयता, सुशासन र सदाचारसहितको शासन व्यवस्था, गरिबी र बेरोजगारीको अन्त्य भएको समृद्ध र न्यायपूर्ण समाजवाद आफ्नाे पार्टीको लक्ष्य रहेको बताए ।

उनले संविधान संशोधन गर्ने लिखित सहमतिपछि मात्र आफ्नाे पार्टी सरकारमा गएको स्मरण गर्दैै संविधान संशोधनका लागि नेकपा तयार नहरे आपूूूmहरुले सरकार छोड्ने बताए ।
उनले चाडै नै नेकपासँग संविधान संशोधनबारे अन्तिम पटकको वार्ता गर्ने बताए ।

सो क्रममा उनले नेकपा सधैंभरि अहिलेकै अवस्थामा नरहने दाबी गरे ।

‘नेपालमा राणाहरुले पनि सधैं राज गर्छु भन्ने ठानेका थिए । पछि राजाले पनि त्यही सोंचे । तर उनीहरुको हालत के भयो ? सबैलाई थाहा छ,’ उनले भने, ‘अहिले नेकपालाई पनि त्यस्तै लागेको होला तर त्यो सम्भव छैन, जनताले सधैं परिवर्तन खोजिरहेका हुन्छन् ।’

कार्यक्रममा समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्की, सचिव पर्शुराम बस्नेत, प्रदेश नं १ का अध्यक्ष प्रविण चाम्लिङलगायत नेता समेत थिए ।

सो क्रममा नेकपा र कांग्रेसका एक दर्जन कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।
कार्यक्रममा गोपाल सोराली मगरको अध्यक्षतामा २१ सदस्यीय समाजवादी पार्टी इलाम नगर समिति घोषणा गरिएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here