बुटवल । गत मंसिर पहिलो साता लुम्बिनीमा आयोजित ‘लुम्बिनी न्यूज फेस्टिवल’को बेला एक महिला सञ्चारकर्मीमाथि बलात्कार आरोपमा पक्राउ परेका पत्रकार शिव सुवेदीलाई हिरासतमा राखेर अनुसन्धान जारी राख्न सात दिन म्याद थप गरिएको छ ।

सुवेदीलाई दोस्रो पटक म्याद थप गरिएको हो । यसअघि उनलाई चार दिनको म्याद थपिएको थियो ।

बुटवलस्थित रेडियो समावेशीमा कार्यरत १६ वर्षीया मगर थरकी युवतीले गत मंसिर ११ गते उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सुवेदीलाई पक्राउ गरेको थियो ।

अर्घाखाँची घर भएका सुवेदीले मंसिर १ गते आफूमाथि बलात्कार गरेको पीडित युवतीको भनाइ छ ।

पत्रकार सुवेदी सत्तारुढ नेकपाका पत्रकार संगठनमा आवद्ध छन् । पीडित युवतीकी आमा आशा मगरले घटनालाई सामसुम बनाउने प्रयास गरिएको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

सुवेदी पक्राउ परेको समाचार स्थानीय मिडियाहरुले नदिनु, घटनासँग सम्बन्धित अन्य व्यक्तिहरु पक्राउ नपर्नुले आफूहरुले न्याय नपाउने हो कि भन्ने चिन्ता भएको उनले बताइन् ।

उनले भनिन्, ‘यहाँका पत्रपत्रिकाहरु कसैले पनि समाचार लेखेको छैन, पार्टीगत रुपमा लागेर घटनालाई लुकाउने प्रयास भइरहेको छ ।’

लुम्बिनी न्यूज फेस्टिवलमा देशभरिका ३०० भन्दा बढी ठुला पत्रकारहरु भेला हुन्छन्, केही सिक्ने मौका मिल्छ भन्दै युवतीलाई सो कार्यक्रममा रिया बस्नेत नामका उनका साथीले लगेकी थिइन् ।
सो बेला होटलमा बस्दा उनीमाथि जबरजस्ती गरिएको बताइएको छ ।

‘मैले त राम्रो कुरा सिक्ला भनेर छोरी पठाएकी थिए । तर, पत्रकारहरुभित्र पनि नराम्रो मान्छे हुने रहेछ मलाई के थाहा,’ युवतीकी आमाले भनिन् ।

उनले मगर पत्रकारहरुले पनि आफ्नाे छोरीको बारेमा समाचार नलेखेको गुनासो गरिन् । हुन पनि प्रदेश नं ५ का एकाध बाहेक पत्रकारले यसबारे समाचार नै लेखेका छैनन् ।

यता मगर पत्रकार संघका अध्यक्ष मनोज घर्तीले भने आफूहरुकै पहल र दबाबका कारण पत्रकार सुवेदी पक्राउ परेको सार्वजनिकसँग बताए ।

‘पीडक पक्राउ परिसकेका छन् बाकी कुरा अदालतले गर्नेछ,’ आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका महासचिव समेत रहेका घर्तीले भने ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here