-धीरेन्द्र रुम्दाली राई

गत मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको इपिसेन्टर धरान उपमहानगरपालिका नै रह्योभन्दा फरक नपर्ला । कास्की-२ र भक्तपुर-३ लाई समेत ओझेल पार्दै धरान उपमहानगरपालिकाको निर्वाचनको मत परिणामले सबैको ध्यान खिच्यो । तथापि, अधिकांशको पूर्वानुमान वामपन्थीहरुको लालकिल्ला तोडिन्न भन्ने मनोविज्ञानले काम गरेको पाइन्थ्यो । झिनो प्रतिशतमा मात्र लालकिल्ला तोडिन्छ भन्ने थियो ।

यसैबीचमा धरानका एक ज्योतिष मित्रले धरान उपमहानगरपालिकाका मेयरका प्रत्यासीहरु प्रकाश राई र तिलक राईको जन्मकुण्डली नै तयार पारेर फेसबुकमार्फत् सार्वजनिक गरे । ज्योतिष मित्रले विभिन्न ग्रहगोचरलाई केलाउँदै नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको भन्दा नेकपाका उम्मेदवार प्रकाश राईको सूर्य ग्रह उच्चस्थानमा रहेको निस्कर्ष निकाल्दै अन्ततोगत्वा निर्वाचन प्रकाश राईले नै जित्ने ठोकुवा गरे ।

ज्योतिषीको यो निस्कर्षले फेल खाने चान्स नै थिएनझैं लाग्थ्यो किनकि उहाँ धरानमा यही विद्याले गर्जो टार्दैछन् । पक्कै पनि उनी सही भएर नै त अहिलेसम्म सेवाग्राहीले विश्वास गरे होलान् भन्ने लाग्यो । तैं चुप मै चुपको अवस्था ज्योतिषीको त्यो फेसबुके प्रक्षेपणले गरायो । ज्योतिषीहरुको शक्तिको बारेमा म यहाँ चर्चा गर्न चाहन्न । किनभने, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्दा कालो बोको काटेको वा पूर्वप्रधानमन्त्री  प्रचण्डले भैंसी पुजा गरेको प्रसङ्ग हामीले बिर्सेका छैनौं ।

यसरी एक चर्चित ज्योतिषले अहिलेसम्म जानेको सबै अनुमान विद्यालाई समेत खरानी पार्दै नेकाका उम्मेदवार तिलक राईले कसरी पल्टाए त पासा ? वा भनौ झण्डै ६० बर्षभन्दा बढी समयदेखि रहेको कम्युनिष्टको लालकिल्ला कसरी भत्काए ? सायद त्यही भएर नै ‘अनुमानको कुरा हनुमानले समेत जान्दैन’ भन्ने उक्ति बनेको होला । यसर्थ, अनुमानको कुरालाई छाडेर धरानको मत परिणामलाई हेर्दा निम्न कुराहरुले काम गर्यो भन्ने प्रष्ट हुन्छ ।

परिवर्तनको चाहना

जनताको परिवर्तनको चाहाना तिलक राईले निर्वाचन जित्नुको पहिलो आधार हो । लामो समयसम्म धराने जनताले कम्युनिष्ट पक्षधरलाई विभिन्न नाममा सहयोग र संरक्षण गर्दै आए । यसले प्रजातन्त्र पुनर्वहाली भएपछिसम्म त आंशिक रुपमा काम गरेकै थियो । तर, विस्तारै जनताको विश्वासले नागबेली निकास खोज्न थाल्यो । जुन सतहमा आउँदा इतर वामपन्थमा नगए पनि २०६४ सालको निर्वाचनमा तत्कालिन नेकपा माओवादीलाई सत्तासिन गरेर नै भए पनि व्यक्त गरेका थिए ।

सुनसरी क्षेत्र नं १ को निकै ठूलो संख्याको मतदाताहरु धरानमै भएकाले उक्त निर्वाचनमा समेत धराने जनताले नयाँ जनमत दिएकै हुन् । पछिल्लो निर्वाचनमा भने पुनः आफ्नो पकडमा राख्न सफल नेकपा नामक कम्युनिष्टले धराने जनताको परिवर्तनमुखी चाहनालाई सुझबुझपूर्ण ढङ्गले सम्बोधन गर्नुको सट्टा पार्टीको अनुशासन नामक छडीले डाम्न थाल्यो । जसले जेसुकै भनोस् वा गरोस्  घाम जुन रहेसम्म धरानमा हाम्रो सत्ता रहन्छ भन्ने नाममा अलोकप्रिय कामहरु गर्दै रहे । यसको एउटै मात्र उदाहरण सर्दु जलाधार क्षेत्र । जसलाई भूमाफियाको हातमा थमाए । अनि धरानमा जे काम बिग्रेको भए पनि कांग्रेसले बिगारेको भन्दै रटान लगाए ।

उदाहरणका लागि कोशी अस्पताललगायत अन्य प्रशासनिक कार्यालयहरु कांग्रेसले नै धरानबाट अन्यत्र सारेका हुन् भन्नेजस्ता आरोपहरु निरन्तर लगाइरहे । जुन बासी कुरा भइसकेका थिए । उनीहरुले यसो भनिरहँदा के कुरा चाहिँ बिर्सिएका थिए भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कसको पालामा धरानमा आएको थियो त ? लामो समयदेखि एउटै खालको राजनीतिक स्वाद चाखिरहेका धराने जनताले यसपटक भने आफ्नो मतमार्फत् परिवर्तित गर्न चाहे ।

स्थानीय सत्ताविरुद्धको जवाफ

स्वाभाविक रुपमा सत्तामा रहने शक्तिलाई काम गर्न धेरै अप्ठ्याराहरु हुन्छन् । अझ धरानको सन्दर्भमा पूर्वमेयर तारा सुब्बाले छोटो समय मात्रै काम गर्न पाए भने बाँकी समय उपमेयर मञ्जु भण्डारीको नेतृत्व रह्यो । पक्कै पनि यस अवधीमा उनले आफ्नो क्षमता अनुसार काम गर्न सकेनन् । फेरि लामोसमयदेखि सत्तासीन रहेको कम्युनिष्टका झोला बोकेका कर्मचारीहरुले समेत आफ्नो लुटको स्वर्गलाई निरन्तरता दिई नै रहे । जसले जनतामा राम्रो छाप नपर्ने नै भयो । आफ्नो पार्टीका झोला बोकेका कर्मचारीलाई उपमेयरले काम लगाउन सक्ने कुरा नै रहेन । किनभने, कर्मचारीको जरोकिलो पार्टीका उपरवालेसम्म गाँसिएको हुन्छ । कर्मचारीको उक्त जरोकिलोका कारण धेरै धराने जनताले सामान्य कामकारबाही गर्न समेत हैरानी खेप्नु परिरहेको थियो भने स्थानीय व्यापारी, व्यवसायी समेत चरम करवृद्धिका कारण रुष्ट थिए ।

समुदायमा पकड

तेस्राे कुरा किरात राई समुदायमा तिलक राईको राम्रो पकड हुनुले पनि निर्वाचनको नतिजालाई प्रभावित तुल्यायो । किरात राई यायोक्खाको सुनसरी जिल्लामा काम गर्दागर्दै केन्द्रीय समितिको २ कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने मौका पाए भने केन्द्रीय अध्यक्ष समेत भए ।

केन्द्रीय समितिको अध्यक्ष हुँदाहुँदै अघिल्लो निर्वाचनमा मेयर पदमा उम्मेदवार बन्दा उनले किरात राई समुदायको मन नजिते पनि यसपटक भने उनले सहानुभूतिको मत पाए । त्यसो त धरानको १७ नं को रत्न चौकबासी प्रकाश राईभन्दा त्यसैसँग टासिएँको १८ नं वडाको बुद्ध चौकबासी तिलक राईलाई नै किन छाने त धराने किरात राई समुदायले ? माथि पनि चर्चा गरियो कि तिलक राई किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् भने प्रकाश राई किरात राई यायोक्खासँग खुलेर लागेका थिएनन् ।

त्यति मात्र होइन सर्वसाधारणलाई के थाहा छ भने तत्कालिन एमालेले जातीय संगठनलाई महत्व दिँदैन्थ्यो । अन्तराष्ट्रिय जाति बनाउने अभियानमा रहेको कम्युनिष्ट भन्दा आफ्नै समुदायको नेता समेत भैसकेको तिलक राईलाई मत हाल्न किरात राई समुदायलाई सहज लाग्यो ।

पहिचानवादी मत कता ?

चौथो कुरा धरानमा तिलक राईले चुनाव जित्नुमा पहिचानवादीको ठूलो ‘हात’ रहेको कम्युनिष्टहरूको आरोप छ । तर, बाहिर खुलेर बताउन चाहदैनन् । कारण हो उनीहरुले पहिचानवादीहरुलाई किटान गरियो भने घाउमा नुनचुक गरेको भन्ठान्छन् । किनभने, उनीहरुले प्राविधिक रुपले कांग्रेसलाई आफ्नो विपक्षी ठाने पनि वैचारिक हिसाबले पहिचानवादी शक्तिलाई नै आफ्नो प्रधान शत्रु ठानेका थिए र छन् । तसर्थ, उनीहरुलाई आफू हारेकोमा भन्दा पहिचानवादीहरुले मत कम ल्याएकोमा स्वाद लिइरहेका छन् । तर, आफ्नो हातबाट बल अरुले खोसेको भने चालै पाएनन् । उनीहरुले गत निर्वाचनलाई आधार बनाएर निकै ठूलो मतान्तरले निर्वाचन जित्ने दाबी मात्र गरेका थिएनन् कि मंसिर १४ लाई एउटा सामान्य औपचारिकता मात्रै ठानिरहेका थिए । उनीहरुको यिनै दम्भलाई तोड्न धराने जनतालाई भने मंसिर १४ को प्रतिक्षा लामो जस्तो भइरहेको थिएछ । जुनकुरा उनीहरुले आफ्नो मतमार्फत् व्यक्त गरे । र, उनीहरुले चलाखी के गरे भने नेकपाको नजिकको प्रतिद्वन्द्वी जो हो उसैमार्फत् जवाफ दिने । त्यसका लागि तिलक राई नै उनीहरूले उचित ठाने र पार्टीको सीमारेखा केही पनि ख्याल गरेनन् ।

लिम्बुवान र किरातबीचको दुरी

पाँचौ कुरा धरान लिम्बुवान र किरात पक्षधरको सामरिक महत्व बोकेको स्थल पनि हो राजनैतिक हिसाबले । यहाँ अदेखा रुपले लिम्बुवान र किरात पक्षधरबीच कुनै न कुनै रुपले भूसको आगो बलिरहेकै छ । यसलाई ज्योतिषले गरेजस्तो अनुमानको आधारमा मात्रै यहाँ प्रस्तुत गर्न खोजिएको छैन कि मतदानको प्रकृतिले समेत त्यस्तै देखाउँछ । सायद त्यही भएर नै होला किरात र लिम्बुवानको ‘डबल स्ट्याण्ड’मा रहेको समाजवादी पार्टीका उम्मेदवार गजेन्द्र इस्बो भन्दा लिम्बुवानकै लडाईंमा रहेका अमर इजमले बढी मत ल्याए ।

तर, पहिचानको मुद्दामा तिलक राई रहेको पार्टी धृतराष्टझैं अन्धो भए पनि उनी व्यक्तिगत रुपमा सकुनीभन्दा पनि चालबाज थिए । त्यसैले उनले किरातको पक्षमा खुलेर लागेका थिए । यसो हुँदा उनलाई पहिचान पक्षधरको मत समेत राम्रै पाए । यसरी भित्रभित्रै किरात र लिम्बुवानबीच रहेको राजनीतिक दुरीले समेत तिलक राई नै फाईदा पुग्यो भने प्रकाश राई व्यक्तिगत रुपमा होलान् नहोलान् तर उनको पार्टी स्पष्ट पहिचानको विरोधी हुनुको कारण उनलाई पहिचानवादीहरुको सहानुभूति पक्कै पनि नरहन सक्छ ।

विपक्षी पार्टीभित्रको अन्तर्द्वन्द्व

छैटो कुरा विपक्षी पार्टीहरुभित्र रहेको अन्तरद्वन्द्व । यसले समेत कांग्रेस र तिलक राईलाई नै फाइदा पुग्यो । नेकपाभित्र मेयरका धेरै आकांक्षी थिए । यसो हुनुमा पार्टी भर्खरै समायोजनको चरणबाट गुज्रनुले मात्र काम गरेको थिएन कि पूर्व पार्टीभित्रकै आन्तरिक गुट उपगुटले समेत काम गरेको थियो । चुनावका बेला कांग्रेस र कम्युनिष्टमा के फरक छ भने असन्तुष्ट कांग्रेसहरु त्यही झण्डा बोकेर अर्को देखिने समूह लिएर विद्रोहमा उत्रिन्छन् । छुट्टै उम्मेद्वार छुट्टै चुनाव चिन्ह छुट्टै चुनावी सभाको तालिका लिएर हिँड्छन् । तर, कम्युनिष्टहरु त्यसो गर्दैनन् । उनीहरु पार्टीले तय गरेकै उम्मेदवारको पछिपछि पार्टीले नै तय गरेको कार्यक्रममा हिँड्ने गर्छन् । अझ धरानको निर्वाचनको सन्दर्भमा थप के भयो भने प्रत्येक घण्टा उम्मेदवारसँगको सेल्फी फेसबुकमा पोष्ट गर्ने काम पनि कम्युनिष्ट कार्यकर्ताहरुले गरे । तर, आन्तरिक रुपमा भने उनीहरुले आफ्नो कार्यकर्ताको मनोभावनालाई पक्कै पनि बुझ्न नसकेको निर्वाचन परिणामले बतायो ।

सायद त्यसैले नै होला नवनिर्वाचित मेयर तिलक राईले विजयसभालाई सम्बोधन गर्दै पब्लिक हाईस्कूलको प्राङ्गणमा भने, ‘यो जित म तिलक राई र कांग्रेसको मात्र होइन । यो जित नेकपाका इमान्दार कार्यकर्ताहरुको पनि हो, जसले मलाई मतदान गर्नुभयो ।’ तिलक राईको यो भनाइले निकै ठूलो व्यङ्ग्य गरेको छ इमान्दार कम्युनिष्टहरुलाई ।

उम्मेदवारकाे व्यक्तित्व

प्रतिष्पर्धी दुई उम्मेदवारहरुमध्ये तिलक राईको व्यक्तित्वको सामु प्रकाश राईको व्यक्तित्वले टक्कर गर्न सम्भव भएन । शारीरिक रुपमा समेत मजबुत रहेका तिलक राईले पछिल्लो समय आफ्नो व्यक्तित्वमा समेत सुधार गरेको देखिन्छ । हक्की स्वाभावका तिलक राई ‘एक्स्ट्रोभर्ट’ छन् भने संयम देखिनु हुने प्रकाश राई ‘इन्ट्रोभर्ट’ छन् । जसले गर्दा धराने जनता के निष्कर्षमा पुगे भने उचालेको बाघले स्यालको सिकार गर्दैन । बरु कसैले नउचालेको डमरु नै ठीक भन्ने मनोविज्ञानले समेत काम गरेको छ । यो मनोविज्ञान बोकेका मतदाताले समेत तिलक राईलाई नै आफ्नो नेता चुने ।

यसका अलावा थुप्रै ‘फ्याक्टर’हरुले काम गरेका हुन्छन् । तर, ती कतिपय कुराहरु सतहमा आएनन् । र, आउन जरुरी पनि नहोलान् । तर, यो निर्वाचनमा सदा सुनिने आरोप प्रत्यारोपमध्ये फलानो र ढिस्कानोले पैसा बाँड्यो भन्ने कुरा भने सतहमा आएन । सायद त्यो फ्याक्टरले यसपटक मौका पाएन कि ? या पाए पनि अर्कै विधिबाट व्यवस्थापन भयो । जे भए पनि त्यो राम्रो पक्ष रह्यो । जुन कुराले सबैभन्दा बढी सुकुम्बासीहरुको मानमर्दन हुने काम गरेको थियो प्रत्येक निर्वाचनमा । सायद त्यही भएर नै होला सुकुम्बासीहरुलाई मतदानस्थलसम्म लिएर आउँदा पनि मतदान गरेनन् भन्ने कुरा । पक्कै पनि चुनावको समयमा पैसा बाँडिने कुराले सबैभन्दा बढी बदनाम सुकुम्बासीलाई गरेको थियो । यो पटक यस्तो सुन्नु परेन । यसले सुकुम्बासी दाजुभाई दिदीबहिनीहरुको समेत शीर उच्च बनाएको छ ।

अन्त्यमा

फेरि पनि ज्योतिषको अनुमान कुण्डली नै दिमागमा दोहोरिने तेहरिन काम गरिरहेको छ । एउटा प्रतिष्ठित विद्ये अङ्गाली रहेका ती ज्योतिषको विद्येमा खोट थियो वा छ कि ? उनी प्रायोजित थिए कि ? के भएर उनले हावा खाए त ? यिनै कुराले धरानको चुनावलाई नजिकबाट नियाल्न मलाई झन् प्रेरित गर्यो । चुनावको नतिजापछि मैले फेरि ती ज्योतिषको फेसबुक आइडी सर्च गरेर हेरेर । उनले आफ्नो फेसबुक वालबाट प्रकाश राईले निर्वाचन जित्ने भन्ने दावीसहितको कुण्डली त हटाएछन् नै बरु त्यसको सट्टा तिलक राईलाई बधाई सन्देश र विजय जुलुसको भिडियो समेत अपडेट गर्न भ्याएछन् । सबैलाई बधाई ।

win2warcha@gmail.com

ADVERTISEMENT

5 COMMENTS

  1. धरान उपमहानगर चलाउने भ्रष्टाचार गर्ने बाहिन नै हुन।ज्योतिष पनि बाहुन बाहुनबादी नै हुन।अंक गणितको हिसाबले विश्लेषण गर्ने पनि बाहुन र बाहिनबादी नै हुन।

  2. केस्रा केस्रा केलाएर नै लेख्नुभएछ दाईले ।

  3. मध्यावधि को समय छ्। चुनौती धेरै छ्। स्थापित हुन कठोर छ तर पनि प्रमुख जनमुखि योजना र बिगत मा नगरपालिका ले गरेको नराम्रो काम हरु लाइ समाप्त गर्दै जनता को मन जित्ने काम गरे त्यो आगामी दिन को लागी पनि त्यो थप टेवा हुनेछ्।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here