पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले लिम्बुवान प्रान्त चाहनेहरुले आफ्नाे पार्टीलाई भोट दिनुपर्ने बताएका छन् ।

शुक्रबार पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित मञ्चको चुनावी सभामा अध्यक्ष लिङदेनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘तपाईहरुलाई कोशी प्रदेशमा चित्त बुझ्छ भने ठीक छ, बुझ्दैन भने भोट हामीलाई दिनोस् ।’

उनले हिजो संविधान जारी हुँदा आफ्नाे पार्टीले इटहरीमा विरोध जुलुसहित कालो झण्डा देखाएको दाबी गरे ।

‘यहाँ समाजवादीका साथीहरु पनि छन् । एक दिन उहाँहरुले आन्दोलन गर्नुभो ? जनमुक्तिको साथीहरुले एक दिन आन्दोलन गर्नुभो? गर्नुभएन,’ लिङदेनले भने, ‘संविधान जारी भएको दिन इटहरीमा कालो झन्डा कसैले देखाउन सकेन, हामीले देखायौ । गोली हान्ने हो भने पहिले कुमार लिङदेनलाई हान भनेर म नै सडकमा निस्केको हुँ । आज संविधानलाई कालो झण्डा लिम्बुवानले मात्र देखाएको छ ।’

उनले फाल्गुनन्द गाउँपालिकामा मञ्चलाई राम्रो भोट आयो भने प्रदेश १ को नामाकरण रोकिने पनि बताए ।
मञ्च कमजोर हुनासाथ नेकपा र कांग्रेसले प्रदेश १ को नाम कोशी प्रदेश राख्ने उनले बताए ।

उनले लिम्बू समुदायमा ज्वाइ पनि लिम्बू नै खोज्ने बुहारी पनि लिम्बू नै खोज्ने तर लिम्बूहरुलाई अघि बढाउन लाग्नपर्छ भन्ने तर्क गरे । लिम्बुवान प्रान्त आएको दिन लिम्बुवान क्षेत्र ड्रिमल्याण्ड बन्ने बताए ।

उनले कांग्रेस र नेकपाले पनि लिम्बुवान प्रान्त हुन्छ भनेर आयो भने उनीहरुलाई नै भोट दिए पनि हुने बताए । तर, कांग्रेस र नेकपाकाहरुलाई लिम्बुवान शब्ददेखि नै तनाव हुने उनले बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here