–जुद्ध ढाक्रे

यो वर्षको दसैं ताकाको समय विपश्यना साधनामा खर्च गर्ने मौका मिल्यो । मैले साधनाका बारेमा केही किताब पढेको थिएँ । केही साधु सन्तहरुको संगत पनि गरेकै थिएँ । मलाई सन्यासी जीवनको एक झलक महशुस गर्ने इच्छा थियो । त्यो मौका यसचोटि मिल्यो ।

विपश्यना साधना भगवान् गौतम बुद्धले पत्ता लगाउनुभएको ध्यान विधि हो । जो शासद्वारा मनलाई स्थिर वा नियन्त्रण गर्ने विधि हो । यही विधिद्वारा बुद्धले २५०० वर्ष अगाडि भारतमा ध्यान सिकाएर लाखौ करोडौ मानिसहरुको सेवा गरेका थिए । यो ध्यान गुरुशिष्य परम्पराद्वारा सिकाइने शिक्षा हो ।

बुद्धको परिनिर्वास भएपछि ५०० वर्षसम्म चल्यो । त्यसपछि भने भारतमा पनि लोप भएर गयो । त्यसपछि यसलाई बर्माले जोगाएर राखेको थियो । भगवान् बुद्धपछि घोषित आचार्यहरु जम्मा दुई जना मात्र छन् । स्व. आचार्य सयाजी ऊ बा खिन (बर्मा) र स्व. संत्यनारायण गोयन्का (भारत) । यी दुवै आचार्यहरुको विपश्यना साधना सुरु गर्ने बेलाको अनौठो सुनौलो कथा छ ।

हालको म्यानमार तत्कालिन बर्मा अंग्रेजहरुबाट स्वतन्त्र भएपछि सयाजी ऊ बा खिनले एउटा गाउँमा विपश्यना साधना गर्न १० दिनका लागि विदा मागे । उनी बर्माको महालेखापरीक्षण कार्यालयका सहायक स्तरका कर्मचारी थिए । उनको योग्यता मेट्रिक पास मात्र थियो । उनले विपश्यनामा भाग लिन विदा दिन धेरै अनुरोध गरे । तर, विदा मिलेन ।

नमिलेपछि उनी विदै नलिई जागिर गए पनि जाओस् भनेर ध्यान शिविरमा गए । १० दिनको शिविर सिध्याएर आउँदा कार्यायलमा उनको टेबलमा एउटा चिठ्ठी थियो । जागिरबाट अवकाश गरिएको चिठ्ठी होला भनेर खोल्दा प्रमोसनको चिठ्ठी थियो । साधना गरेर आएपछि उनले झन धेरै राम्रो काम गर्न थाले । उनको कामलाई देखेर बर्मा सरकारले पहिलोचोटि बिनाग्रेजुएशनको मान्छे मेट्रिक मात्र पास गरेको मान्छेलाई एडिटर जनरल बनायो । सयाजी ऊ बा खिनले मेरो योग्यता पुग्दैन, म काम गर्दिनँ भन्दा सरकारले मानेन । काम गर भनेर आदेश दियो । उनले सरकारसँग एउटा सर्त राख्यो । त्यो सर्त के थियो भने साधना गर्ने एउटा फाल्टो कोठा हुनुपर्छ ।

सरकारले सर्त मान्यो । र, साधना गर्ने कोठाको व्यवस्था गरिदियो । त्यसपछि त्यो साधना गर्ने कोठामा कर्मचारीहरुलाई पालैपालो विपश्यना साधना सिकाइयो ।

उनको कार्यालयको भ्रष्टाचार शून्यमा झर्यो । बर्मा सरकारले उनलाई अति राम्रो काम गरेको देखेर अरु तीनवटा विभागको जिम्मा थप्यो । मेट्रिक मात्र पास गरेको मान्छे उनले एकैचोटि चार वटा विभागको प्रमुख भएर काम गरे । बर्मा सरकारले उनको लागि मात्रै संविधान संशोधन गरेर उनलाई ६७ वर्षको उमेरसम्म सरकारी सेवामा राख्यो ।

भारतका संत्यनारायण गोयन्का उनैका शिष्य हुन् । भारतको राजस्तानबाट व्यापार गर्न गएका मारवाडी उतै बर्माका नागरिक भइसकेका मान्छे हुन् । उनको पनि आफ्नै कथा छ । उनी दिर्घरोगी भए । बर्माको डाक्टरहरुले नसकेपछि उनी आफ्नाे उपचारका लागि जापान, जर्मनी, बेलायत र स्विजरल्याण्ड गए । त्यहाँ पनि डाक्टरहरुले तिम्रो रोग निको हुँदैन, औषधि खाइरहनुपर्छ भनेर सुझाए । फेरि बर्मा फर्केर आए । एकजना उनका मित्रले तिम्रो रोग मानसिक जस्तो छ । विपश्यना साधुकहा जाऊ भनेर सयाजी ऊ बा खिनलाई देखाए ।

मनलाई लगाम लगाउन सक्ने वस्तु भनेको शास हो । शास रोक्यो मन पनि रोकिन्छ शास फेर्यो मन पनि आफूखुसी डुलिरहन्छ ।

गोयन्का ऊ बा खिनकहाँ गए र भने यस्तो टाउको दुख्ने रोग छ मलाई यो हटाउने साधना सिकाउनुस् भने । यति सानो कुराको लागि मसँग नआउनू, बोधीसत्व प्राप्त गर्ने मात्र आउनू भनेपछि मनमा शंका गर्दै गए । पछि टाउको दुख्ने मात्र होइन उनै संत्यनारायण गोयन्का विपश्यनाका आचार्य भए ।

भारतमा साधना सिकाउन बर्माबाट गोयन्कालाई ऊ बा खिनले भनेका थिए–यो भारतबाट आएको विधा हो । म जसरी भए पनि भारत फर्काउन चाहन्थे । म भारत जान सकिन । तिमीले भारतमा गएर सिकाउनू । यो विधा भारतबाट संसारमा पैmलने छ भनेका थिए । गुरुको आदेश अनुसार उनले भारत आएर १९६८ जुलाईमा पहिलो शिविर सञ्चालन गरे । अहिले भारतभरि हजारौ शिविर सञ्चालन भइरहेका छन् ।

सन् १९८१ मा पहिलोचोटि नेपालमा काठमाडौंस्थित आनन्द कुटी बिहारमा आचार्य गोयन्काले शिविर सञ्चालन गरेका थिए । त्यस शिविरमा २५० जना साधकहरुले भाग लिएका थिए । तिनै साधकहरुले शिवपुरी जंगलसँगै जोडिएको करिब ३ एकड जमिन खरिद गरी नेपाल विपश्यना केन्द्र धर्मसृङ्ग स्थापना गरी हाल सञ्चालन भइरहेको छ । प्रत्येक अंग्रेजी महिनाको १ र १४ तारिखमा महिनाको दुई पटक कार्यक्रम सञ्चालन हुन्छ । नेपालमा धेरै स्थानहरुमा विपश्यना केन्द्रहरु स्थापना भइसकेका छन् । विपश्यना शिविर १० दिनको बाहेक २०, ३० र ४५ दिनको सञ्चालन हुन्छ ।

यो साधना सिक्ने विधि भनेको मौन रहन कुनै पनि आसनमा बसेर आँखा बन्द गरी सिकाइन्छ । साधक भएर धर्मसृङ्ग छिरेपछि कसैसँग बोल्न पाइँदैन । त्यहाँ महिला र पुरुषको क्षेत्र छुट्याइएको छ । महिला र पुरुष ध्यान हलभित्र भने एउटै हल हुन्छ । तर, हलभित्र छिर्ने ढोका आआफ्नाे हुन्छ । अति जरुरी भयो भने केही कुराको भने पुरुषले पुरुषलाई धम्यसेवकलाई बोलाएर कुनामा सानो स्वरले बोलाउने र महिलाहरुका लागि महिला धम्यसेवक नै हुन्छन् ।

धम्यसेवकहरु अति सहयोगी हुन्छन् । सहायक आचार्यहरु पनि महिलातिर महिला नै हुन्छन् पुरुषतिर पुरुष नै हुन्छन् । त्यहाभित्र पसेपछि एउटा फाल्टै संसारको महशुस हुन्छ । सयौ मान्छे एक शब्द नबोली आआफ्नाे काम गरिरहेका हुन्छन् ।

यो सबै सेवा निःशुल्क हो । र, अरुले सहयोग गरेको भरमा चलेको छ । यसको समय तालिका बिहान ४ बजे उठ्ने । संगीतको नादमा बज्ने घण्टी बज्छ मिठो स्वरमा । कानमा सुनिएको ह«दयमा रमरम गरेर बज्छ । साढे ६ बजेसम्म धम्य हलमा ध्यान हुन्छ । त्यसपछि जलपान तथा विश्राम । एवं रुपले बेलुकाको साढे ९ बजेसम्म ध्यानमै रहनुपर्छ । धम्य हलमा पहिलो आसन गराएर बसेपछि अडियोबाट अचार्य गोयन्काले निर्देशन दिन्छन् हिन्दी र अंग्रेजी भाषामा । उनले दिने पहिलो महत्वपूर्ण निर्देशन भनेको आँखा बन्द गरेपछि नाकको प्वालबाट शास फेर्दा नाकको कुनकुन ठाउँमा छुन्छ त्यो याद गर्नू भन्छ ।

साधनाको मुख्य चुरो यहीबाट सुरु हुन्छ । यसलाई विपश्यनाको भाषामा ‘आनापान’ भनिन्छ । यो कुरा साधकले राम्रोसँग बुझ्यो भने अगाडि बढ्यो बुझेन भने अलि ढिलो हुन्छ । यो साधना चञ्चल मनलाई स्थिर बनाउनका लागि हो । मनलाई लगाम लगाउन सक्ने वस्तु भनेको शास हो । शास रोक्यो मन पनि रोकिन्छ शास फेर्यो मन पनि आफूखुसी डुलिरहन्छ ।

यो आनापान सकिएपछि ल मन टाउकोमा पुर्याएर शास फेर भन्छ । शास फेर्दा त्यो फेरेको शास टाउकोमा सामान्य गति वा मन्द गतिको हावाले फुकेको जस्तो अनुभव हुन्छ । यसको अर्थ के बुझियो भने शास र मनको सम्बन्ध जोडिएको छ । मान्छेले मनलाई नियन्त्रण गर्नलाई शासको सहायता लिनुपर्छ । मान्छेले मनलाई नियन्त्रण गर्न सक्यो भने जहिले पनि सफलता प्राप्त गर्दछ । यही ध्यानको आनापाना अभ्यास गर्दागर्दै त्यही तरंगहरुले मनले अंगको कुन भागमा देख्यो त्यही तरंगहरु बहन थाल्छन् । आचार्यले अब शिरदेखि पाउसम्म मनलाई डुलाएर ल्याउनु भन्छ । शिरबाट पानी खन्याएको जस्तो अंगअंगमा महशुस हुन्छ । यहाँसम्म ध्यानको अभ्यास पुग्यो भने १० दिने शिविरमा गएको सफलता मानिन्छ । यो पक्ष चाहिँ अनुभवको पाटो रह्यो, शरीरले गर्ने अनुभव । ध्यान विधिले बाहिर के हुन्छ छोड आफ्नो शरीरभित्रका घटनापरिघटनालाई नियाल भन्छ ।

यी त रहे विधि र महशुस भएका कुराहरु । अब ध्यानले साधकलाई कहा पुर्याउन चाहन्छ र के दिन चाहन्छ भन्ने कुरा चाहिँ ठुलो हो । जहिले पनि अध्यात्म कुरा आएपछि मुक्ति, राग द्वेष, आत्मा उल्झन आदि शब्द आउँछन् ।
विपश्यनामा अर्को शब्द खुब आउँछ । त्यो हो समता भाव । यसको मुख्य अर्थ हो कुनै पनि घटनाको पक्षमा पनि नलाग, विपक्षमा पनि नलाग । अनि, तिमीले सत्य के हो बुझ्ने मौका पाउँछौ । त्यही हो समता भाव । रहेक घटनामा समता भावले तटस्थ भावले हेर्ने बानी बसाएपछि साधक सफल हुँदै जान्छ र आत्मशान्ति मिल्छ ।

समता भावले बुझ्ने विधि विपश्यनाले तोकेको छ । त्यो भनेको जति बेला मनसँगै शासको तरंग शरीरमा बगाइन्छ त्यतिखेर शरीरको कुनै अंगमा दुख्ने कुनै अंगमा सितलना महशुस हुन्छ । शरीरको अनित्य परिवर्तन सम्झी दुखेकोलाई द्वेषको रुपमा नलिनु र सितलतालाई रागको रुपमा नलिनु दुवै भावलाई बराबरी भावले लिनु भनेर विपश्यनाले निर्देशन गर्छ ।

यसलाई एउटा नेपाली भनाइबाट प्रष्ट पार्न सकिन्छ । जस्तो भनाइ छ–मिठोको जरै नराख्ने र तितोको पात पनि नछुने भन्ने चलन छ । यसको अर्थ जीवनमा मिठैमिठो मात्र मिल्दैन । त्यसैले मिठो र तितो बराबरी महत्व दिनुपर्छ । बल्ल समता भाव प्राप्त हुन्छ ।

यही समता भावले आत्मशुद्धिकरण गर्र्दै जान्छ र राग र ध्दे्षलाई न्यूनीकरण गरेर लान्छ । अनि मानिसको आत्मामा रागध्दे्ष पैदा हुने स्थान बन्द हुन्छ । तब मानव जीवन शान्ति तर्फ उन्मूख हुन्छ ।
यही आनापान मार्फत सबै शरीरको अंगभरि गंगा बगाउँदै ध्यान निरन्तर गर्दै जाँदा भगवान् बुद्धले बोधीसत्व प्राप्त गरेको स्थानमा जुनसुकै साधक पुग्न सक्छ भनेर विपश्यना ध्यान विधिले दाबी गर्छ ।

यसै क्रममा आचार्य संत्यनारायण गोयन्का भन्छन्– बोधीसत्व प्राप्त गर्ने कुनै सिद्धान्त गौतमको पेवा होइन । हरेक साधकले साधना गर्यो भने त्यो प्राप्त गर्न सक्दछ । किनभने मानव आत्माको अन्तिम मुकाम आत्मशान्ति नै हो ।
माथिको व्याख्या अलिक गहिरो छ । जो धर्मसृङ्गमा गएर धम्य हलमा ध्यान गर्न पुग्छ । त्यही साधकले सजिलो गरी बुझ्न सक्छ । अब अलिक सरल भाषामा ध्यानका केही कुरा प्रस्तुत गरिएको छ । त्यसले बुझ्न सजिलो बनाउने छ ।
पहिलो कुरा ध्यानले साधकलाई स्वअनुशासन सिकाउँछ । र धैर्य हुन सिकाउँछ । संसारमा जति पनि मानिसहरु सफल भएका छन् ती सबै स्वअनुशासित र धेर्यवान् मानिसहरु नै सफल भएका छन् । त्यसैले ध्यानले साधकलाई सफलताको मार्गतिर लैजान्छ ।
ध्यान कसरी सुरु हुन्छ भन्दा तलका अंग्रेजी भनाइबाट प्रष्ट पार्न सकिन्छ ।

Vipasana means,

Control of speaking

Control of sleeping

Control of eating.

विपश्यनाले साधकलाई सिकाउन चाहेको अन्तिम सत्य ज्ञान हो । त्यस्तो ज्ञान जसले हाँसेर मर्न जानोस् । र, आफ्नाहरुले मर्ने बेलामा हाँसेर विदाइ गरुन् । त्यो विद्या विपश्यनाले सिकाउन चाहन्छ । किनभने, आजसम्मको चलन के भएको छ भने बाचुञ्जेल झगडा गर्ने, मरेपछि केही समयका लागि जोडले रुने चलन छ । मनुस्य जीवन जन्मेपछि अवश्य ढिलो छिटो मर्छ भन्ने सबैलाई थाहा छ । तर, बाचुञ्जेल कहिल्यै नमर्नेजस्तो गरी व्यवहार गर्ने संस्कार छ । यो संस्कारलाई विपश्यना उल्ट्याउन चाहन्छ । अर्को लाइन अंग्रेजीमा भन्न सकिन्छः
The idea of controlling the mind through respiration system is called meditation.

यसरी शासद्वारा मनलाई आत्म नियन्त्रण गरी भगवान् बुद्धले ज्ञान प्राप्त गरी करोडौलाई ज्ञान बाँडेर बुद्ध हाँस्दै परिनिर्वास भए, हो त्यही ज्ञान विपश्यना हो । भवतु सब्य मंगलमय ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here