काठमाडौं । सुपरिचित साहित्यकार राजन मुकारुङले ‘लहरले भन्छ’ बोलको गीत रेकर्डिङ गराएका छन् ।

‘हाटा जाने अघिल्लो रात’ नामक आफ्नाे पछिल्लो कविता कृतिमा रहेको यो गीत मुकारुङले सोमबार सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गराएका हुन् ।

मारुनी भाकामा रहेको यो गीतमा गायिका सुनिता थेगिमको स्वर छ । संगीत भने दिनेश वान्तावाले गरेका छन् ।
लहरले भन्छ बोलको गीतलाई प्रेमभाव र राजनीति दुवै ढंगले बुझ्न सकिने मुकारुङले बताए ।

‘विशेष गरेर मबाट मेरा पाठकहरु, मेरा शुभचिन्तकहरुले पोलिटिकल कन्टेन आउँछ भन्ने सोच्नुहुन्छ,’ मदन पुरस्कार विजेता समेत रहेका मुकारुङले भने, ‘यो गीतलाई प्रेमभाव बढी भयो कि भन्ने लाग्छ । तर, यसलाई दुवै ढंगले हेर्न सकिन्छ । पोलिटिकल कथा के हो भने जो किनारामा पारिएका मानिसहरु, जसको दुःख, पिर, वेदना, बेथालाई कुनै न कुनै शक्तिले म तिमीलाई तिम्रो मुक्तिको लागि तिम्रो रुपान्तरणको लागि नेतृत्व गर्छु भनेर भनिरहेको हुन्छ । तर, अन्तमा उसलाई झुक्याइन्छ र निराश बनाइन्छ । यो गीतको पोलिटिकल पाटो हो ।’

प्रेमभावको रुपमा भने यो गीतले बाल्यकालदेखि सँगसँगै हुर्किएको एकजना युवकले जो आफू वयस्क भइसक्दा पनि प्रेमको ख्याल नगरेपछि युवतीले नदीको लहरलाई बिम्ब बनाएर नदीको लहरले त बुझ्छ तिमीले किन बुझ्दैनौ भन्ने प्रेमाक्रोश व्यक्त गरेको छ ।

म्युजिक भिडियाेसहित गीत सार्वजनिक गरिने छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here