हुम तमू

पाेखरा । कास्की क्षेत्र नं २ मा समाजवादी पार्टीले चुनावी अभियान तीव्र बनाएकाे छ ।

समाजवादीका उम्मेदवार धर्मराज गुरुङलाई विजयी गराउन सोमबार पोखरा महानगरपालिका वडा नं १५, १७, ७, ३३, २० र १६ मा चुनावी कार्यक्रम गरिएकाे छ ।

पटनेरीस्थित नेपाल मगर संघ ढुंगेसाँघु इकाई समितिको सभाहलमा आयोजित कार्यक्रममा नमुना आमा समूहसहित स्थानीयबासीले उमेदवार गुरुङलाई फुलमालाले स्वागत गरे ।

समाजवादी पार्टी वडा नं १५ का अध्यक्ष जसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उमेदवार गुरुङले चुनावी प्रतिवद्धता व्यक्त गरे भने पार्टीका नगर सदस्य मिनबहादुर गुरुङले चोटिला मुक्तकहरु प्रस्तुत गरे ।

क्या. नरेश थापाले संचालन गरेकाे कार्यक्रममा स्थानीयको तर्फबाट नमूना आमा समूहकी अध्यक्ष देवीमाया भण्डारीले मन्तव्य व्यक्त गरिन् ।

कार्यक्रम पश्चात पटनेरीमा घरदैलो गरिएको थियो भने त्यसपश्चात वडा नं १५ कै अमिनतारा, टुटुंगा, आँपको बगैचा, वनविज्ञान क्याम्पस, ढुंगेसाँघु, स्यानी पाटन, गलेश्वरचोक, क्रान्तिटोल, शिवशक्ति टोल, फुलवारीलगायत क्षेत्रमा घरदैलो गरिएको थियो ।

घरदैलोसँगै पटनेरी, टुटुंगा, आपको बगैचा, ढुंगेसाँघु चोक, गलेश्वर चोक, शिवशक्तिचोक लगायत क्षेत्रमा कोणसभा सम्पन्न गरिएकाे थियाे ।

उक्त कार्यक्रमहरु सचेत युवाहरुको तर्फबाट नेत्र चापागाईं, रेशम सापकोटा, डिवी गुरुङले मुलुकको विकृति र विसंगति, पार्टी र नेताहरुले गरेका विभिन्न अपराधिक घटना जानकारी गराउँदै बैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टीको हात चिन्हमा मतदान गर्न आग्रह गरे ।

शिवशक्ति टोलमा वडा निर्वाचन परिचालन समितिका संयोजक जसबहादुर गुरुङको अध्यक्षता र डिवी गुरुङको संचालनमा भएको कार्यक्रममा उमेदवार गुरुङ, केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज देवीप्रसाद सुवेदी, स्थानीय रविलाल पोखरेलले मन्तव्य व्यक्त गरे ।

घरदैलो तथा मतदातासँग भेटघाटमा हात चिन्हका साथ चुनावी अभियानमा रहेका गुरुङलाई मतदाताहरुले इमान्दार, खोजे जस्तैदेखि लिएर अर्को कुलमान उपमा जस्तै उम्मेदवार प्राप्त गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

पोखरा १५ पटनेरी, अमिनतारा, क्रान्तिटोल लगायतका मतदाताहरुले विगतमा धेरै नेताहरुले आफूहरुलाई ढाटेकाले इमान्दार उमेदवार प्राप्त गरेकाले हात चिन्हमा मतदान गरी विजयी गराउने बताएका थिए ।

चुनावका बेला चिल्ला कुरा र उधारो आश्वासन बाँडे, हामीले विश्वास गरी मतदान गर्यौं, अमूल्य हाम्रो अभिमतलाई मागिखाने बनाएकाले यसपटकको निर्वाचनमा इमान्दार उमेदवारलाई मतदान गर्ने उनीहरुको भनाइ छ ।

पटनेरीस्थित नमूना आमा समूहकी अध्यक्ष देवीमाया भण्डारीले उमेदवार गुरुङलाई फुलमाला र खादाले स्वागत गर्दै धेरैले आश्वासन दिए तर धेरै पटक निर्वाचित भएर गए पनि व्यवस्थित बसोबास, बाटो, खानेपानीको अत्यन्तै समस्या भएको बताइन् ।

उनले पटनेरीमा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएका कारण जन्मदर्तादेखि नागरिकता बनाउन समेत समस्या भएकाले आफूहरु विवेकी बन्दै मतदान गर्ने बताइन् ।

यसरी नै अमिनतारा निवासी रामबहादुर मगरले धेरै पटक मत दुरुपयोग भयो, अहिले इमान्दार भूपू सैनिक उमेदवार घरदैलोमा मत माग्दै आउदा खोजेको जस्तै प्रतिनिधि पाएजस्तो लागेको भने ।

राम्रो मान्छे चिन्न सक्नुपर्छ भन्दै उनले कुलमानलाई पहिला कसले चिनेका थिए र ? लोडसेडिङ मुक्त गराएपछि सबैको हाईहाई भएजस्तै कुलमानको रुप लिएर आएका धर्मराज गुरुङलाई हात चिन्हमा मतदान गर्न आफूले आग्रह समेत गर्ने बताए ।

टुटुंगा निवासी राममाया गुरुङले पूरानाहरुलाई भोट हालेर केही भएन नयाँ जोशका साथ लाहुरे आउनु भएछ हाम्रो रोजाई धर्मराज गुरुङको हात चिन्ह हुनेछ, भनिन् ।

शिवशक्ति टोल निवासी दानबहादुर क्षेत्रीले नेताहरुले स्वार्थका लागि आफूहरुको मत दुरुपयोग गर्दै आएको भन्दै अब इमान्दार र मुलुकका लागि सोच्ने नेता आवाश्यक रहेको बताए ।

उनले तुलनात्मक रुपमा भूपू सैनिकहरु इमान्दार र बोलेका वचन पुरा गर्ने भएकाले उमेदवार गुरुङ भने जस्तै उमेदवार पाएको बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here