धरान । कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका ४२६ जना कार्यकर्ताहरुले सोमबार एकसाथ पार्टी परित्याग गरेका छन् ।

मञ्चका केन्द्रीय सिनियर कमान्डर प्रेम गुरुङ र सिजन राजधामी, प्रान्तीय सदस्य गोकर्ण सिंघक, मञ्जका सुनसरी जिल्ला उपाध्यक्ष सन्तोष केदेनलगायत नेता तथा कार्यकर्ताहरुले धरानमा पत्रकार सम्मेलन गरी आपूmहरुले मञ्च परित्याग गरेको घोषणा गरेका हुन् ।

अरुणपूर्वका ९ जिल्लालाई लिम्बुवान प्रान्त बनाउने मुख्य राजनीतिक एजेण्डा बोकेको मञ्चले आफू नै खाँटी पहिचानवादी पार्टी भनेर दाबी गर्ने गरेको छ ।

तर, मञ्च निकट विभिन्न संगठनका १४ जना पदाधिकारीसहित ४२६ जनाले एकसाथ पार्टी छोड्नु आश्यर्चपूर्ण छ ।
उनीहरुले पार्टी परित्याग गर्नेहरुको नामावलीसहितको विज्ञप्ती निकालेका छन् ।

समानुपातिक समावेशी र सहअस्तित्वका लागि २०६३ सालदेखि नै मञ्चमा रहेर काम गरेको बताउने उनीहरुले हालसम्म पनि पार्टीले सही निर्णय गर्न नसकेको, पार्टीभित्र नातावाद कृपावाद र जातीय भेदभाव गरिएको जस्ता गम्भीर आरोप लगाउँदै पार्टी परित्याग गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनीहरु अधिकांश मजदुर कार्यकर्ता हुन् । उनीहरुले मञ्च परित्याग गरे पनि तत्काल अन्य पार्टीमा प्रवेश नगर्ने बताएका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here