काठमाडाैं । किरात राई अन्तराईष्ट्रिय सम्मेलनको तेस्रो श्रृंखला आगामी बेलायतमा हुने भएको छ ।
उक्त सम्मेलन आगामी २०२० मे २४ र २५ मा हुनेछ ।
किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष दिवस राईको अध्यक्षतामा शनिबार काठमाडौंमा सम्पन्न भएको बैठकले सम्मेलनको मिति र देश टुंगो लगाएको हो ।
बैठकले सम्मेलन मूल आयोजक समितिका साथै १२ वटा उपसमितिहरु समेत गठन गरेको छ । संसारभरि रहेका राईहरुको भाषा, धर्म, संस्कार संस्कृति, लिपि, साहित्य, इतिहास र पहिचानको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनाम किरात इतिहास, किरात राज्य अभियान, भाषा तथा संस्कृति, लिपि, माङ्खिम, जनगणना, यलम्बर र आदिम पुर्खाको रेखाचित्र लगायत विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । र, ती कार्यपत्रमाथि छलफल गरिने निचोड निकालिने छ ।
बैठकले सम्मेलन सम्पर्न गर्नका लागि आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायत विषयमा पनि निर्णय गरेको छ ।

बैठकमा यायोक्खा केन्द्रीय समितिका उपाध्यक्ष टिकासरि राई, जिवन हाताचो राई, महासचिव जनक राई, विदेश विभाग तथा केन्द्रीय सदस्य कपिल राई, यायोक्खा बेलायत अध्यक्ष कल्पना राई, यायोक्खाका पूर्वअध्यक्ष यशोदा राई, यायोक्खा मलेसिया अध्यक्ष युवराज राई, किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति जयकुमार राई, प्रतिष्ठानका सदस्य सचिव डा. तारामणि राई लगायतको उपस्थिति थियो ।
यसैगरी किरात खम्बू राई सांस्कृतिक संस्थानका महासचिव बिनिता खम्बू राई, यायोक्खा हङकङका सदस्य जजिन चाम्लिङ, यायोक्खा कुवेतका संस्थापक अध्यक्ष अमित चाम्लिङ, यायोक्खा कतारका सल्लाहकार भूपाल राई, तुवाचुङ जायजुम संरक्षण समितिका अध्यक्ष राकेश राई लगायतको उपस्थिति थियो ।
किरात राई अन्तर्राष्ट्रिय सम्मेलन पहिलोपटक २०६७ सालमा काठमाडौंमा भएको थियो । दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सन् २०१४ मा भारतको सिलिगुडीमा भएको थियो ।