काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सिमा मिचिएको विषयमा बल्ल बोलेका छन् । उनले नेपालको एक इन्च जमिन पनि मिच्न नदिइने बताए ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको भेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सक्षम रहेको प्रष्ट पारे ।

मुलुकको सीमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै एकजुट भएर एकताको सन्देश प्रवाह गरिएको उनले बताए ।

अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सरकारलाई जनताबाट प्राप्त बलियो समर्थनका लागि प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।

‘दशकौं अघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेको छ,’ उनले भने, ‘यो देशभक्त सरकार कसैलाई पनि हाम्रो एक इन्च पनि जमिन मिच्न दिदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’

संसारसामु शान्तिप्रिय छबि भएको नेपालले आफूले पनि कसैको एक इन्च जमिन नमिच्ने र अरुलाई पनि आफ्नो जमिन मिच्न नदिने उनको भनाइ छ ।

कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्सा सच्याउनु भन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताए ।

‘कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिनुभएको छ,’ उनले भने, ‘हामी नक्सा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं ।’

दशकौं अघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर अतिरिक्त देशभक्ती देखाउने नाममा उत्श्रृंखल गतिविधि गर्ने काम अनुचित रहेको उनको भनाइ छ ।

‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ रहेको छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘तर आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उत्श्रृंखल गतिविधि अनुचित छन् । हामी कुटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौं ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here