–रामसुकुल मण्डल

भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरे पछि त्यसको तरंगबाट काठमाडौं कम्पित भएको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।

जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो । भारत सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्ना भिन्नै केन्द्रशासित प्रदेश (युनियन टेरिटरी) जम्मू–कश्मीर र लद्दाखसहितको देशको औपचारिक राजनीतिक नक्सा सार्वजनिक गर्दा नेपालको भूभाग पनि आफ्नो सीमाभित्र मिसाएको भन्ने दाबी नेपालमा छ ।

भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूभागसमेत हालेपछि नेपाल भारत सीमा विवाद फेरि एक पटक सतहमा आएको छ । अहिले भारतले आफ्नो नक्सामा राखेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालले सार्वजनिक गरेको नक्सामा पनि राखेको छ । नापी विभागले तयार पारेको नक्सामा अहिले भारतले राखेको क्षेत्रलाई पनि समेटेको थियो ।

नेपालको भूभाग आफ्नो भन्दै भारतले नयाँ नक्सामा समेटेपछि भने नेपाली पक्षले विरोध जनाएको छ । नेपालका विभिन्न राजनीति दल, नेताहरूले भारतको विरोध गर्दै ‘गो ब्याक इण्डिया’को नारा पनि लगाएको । यस विषयमा नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरी कालापानी नेपालमै रहेको स्पष्टीकरण दिएको छ । भारतले सार्वजनिक गरेको नयाँ नक्साअनुसार नेपालको केही भू–भाग भारतमा परेको सन्दर्भमा जसरी नेपालमा अहिले व्यापक विरोध भइरहेको छ यसबाट दुई देशको सम्बन्धमा असर पर्न सक्छ । नेपालमा भारतको विरोध गरेर राष्ट्रवादी बन्ने चलन धेरै पुरानो हो ।

भारतीय नक्साको विरोध जसरी नेपालमा अहिले भइरहेको छ, त्यो संकीर्ण राष्ट्रवादको नमूना मात्र हो । किनभने भारतले नेपालको भूमि मिचेको जसरी दाबी गरिएको उता अर्को छिमेकी चीनले नेपालको भूमि मिचेको विषयमा ती दलहरू मौन छन् । आखिर ती दलहरूभित्र किन भारत विरोधी मानसिकता छ त ? प्रमाण अनुसार चीनले नेपालको उत्तरी सिमानामा ११ ठाउँमा सीमा मिचेको छ । चीनले नेपालका विभिन्न ४ जिल्लाकाका सीमाना मिचेको हो । चीनले हुम्ला, रसुवा, सिन्धुपाल्चोक र संखुवासभामा नेपालको भूमि मिचेको पाएको छ । तर यस विषयमा राष्ट्रवादको नारा दिने दलहरू मौन रहन्छन् ।

चीनले हुम्ला, रसुवा, सिन्धुपाल्चोक, संखुवासभाका विभिन्न स्थानहरूमा सीमा मिचेको कृषि मन्त्रालयको नापी शाखाले जनाएको छ । चीनले हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालमा चार हेक्टर, रसुवाको सन्जेन खोलामा दुई हेक्टर, भुर्जुग खोलामा एक हेक्टर, लेम्दे खोलामा एक हेक्टर, जबमु खोला ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा सात हेक्टर, भोटेकोशीमा चार हेक्टर, समजुँग खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर र संखुवासभाको अरूण नदीमा ४ हेक्टर जमीन कब्जा गरेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।

चीनसँग जोडिएको उत्तरी नेपालमा पूर्वदेखि पश्चिमसम्म ४३ भन्ज्याङ–नाकाहरू रहेका छन् । ती भन्ज्याङहरूले नेपाल–चीन सीमा नाकाको काम गरेका छन् । तिब्बत स्वासित चीन क्षेत्रमा सडक सुविधा विस्तार हुँदै गएको सडकको सञ्जाल फिजिँदै आएकोले त्यहाँका नदी, खोला पनि नेपाल सीमाभित्र पस्दै आएकोले नेपालको भू–भाग तिब्बततर्फ गइरहेको कृषि मन्त्रालयको नापी शाखाले जनाएको छ ।

दोलखामा मात्र चीनले करिब ९ बिघा नेपाली जमिन आफ्नो भएको दाबी गरेको छ । नेपालले अस्वीकार गरेपनि विवादको समाधान हुन सकेको छैन ।
दोलखाको लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्चा चुलीमा सीमा चिह्न चिनियाँले नेपालतिर सारेपछि उत्पन्न विवाद अझै समाधान भएको छैन ।

नेपालको भारत र चीनसँगको सीमा विवादको समाधान सडकमा विरोध गरेर हुँदैन । यसको स्थायी समाधान कुटनीतिक माध्यमबाट मात्र सम्भव छ । दलहरूले पनि सडकमा भारत वा चीन विरोधी चर्को नारा लगाउनुको साटो सरकारलाई यसको कुटनीतिक समाधान गर्न दबाब दिनुपर्छ । निश्चित रूपमा देशको सीमा मिच्नु असह्य हो र यो कसैले गर्न खोज्छ भने त्यसको डटेर विरोध गर्नुपर्छ । तर शालीन विरोध भयो भने यसले दुई देशको सम्बन्ध कायम राख्न पनि सहयोग पु–याउँछ भने सरकारलाई कुटनीतिक संवाद गर्न सजिलो हुन्छ ।

सीमाको विषय प्राविधिक पक्ष हो । यो विषयमा यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर हुँदैन । दुवै सरकारले बनाएको प्राविधिक समिति पछि छ । अब दुवै देशका सरकारले उक्त समितिलाई क्रियाशील बनाएर सीमा विवादको स्थायी समाधान खोज्नुपर्छ । नेपाललाई न त भारतको भूभाग चाहिएको छ न त भारतलाई नै नेपाली भूभाज चाहिन्छ । अहिले जे परिस्थिति उत्पन्न भएको हो त्यसमा कतै न कतै भ्रम पनि हुनुपर्छ वा केही गल्ती पनि हुन सक्छ । त्यसैले यो गम्भीर विषय आवेशमा आएरमात्रै समाधान हुँदैन । तसर्थ नेपालले भारतीय पक्षसँग कूटनीतिक पहलका आधारमा नेपाल–भारत विवाद समाधान गर्न गठित कार्यदलमार्पmत नै दुवै देशको हित हुने दीर्घकालिक समाधान खोजिनुपर्छ । संवाद र वार्तामार्पmत नेपाल–भारत र चीनको त्रिदेशीय सम्बन्ध रहनेगरी सीमा विवादलाई टुङ्ग्याउने निर्णायक भूमिकामा नेपालका सरोकारवाला सबै लाग्नु आवश्यक छ ।

नेपाल र भारतबीचको सम्बन्ध धेरै पुरानो छ । नेपाल र भारत एकअर्कोको छिमेकी मात्र होइन, असल मित्र पनि हो । नेपाल र भारतले एअर्कालाई मित्रवत् व्यवहार गर्दा कसैलाई हानि हुँदैन । भारतसँग नेपालको मित्रवत् सम्बन्ध नरहँदा नेपालले मात्र हानि बेहोर्नुपर्दैन । प्रकारान्तरमा भारतले बेहोर्नुपर्ने घाटा नेपालको भन्दा ठूलो हुन सक्छ । पछिल्लो दिनमा नेपाल–भारत सम्बन्ध सुधारमा थप आयामहरू देखिएका छन् । भारतीय पक्षले पनि सकारात्मक हात अघि बढाएको अनुभव नेपाली नागरिकले गरेका छन् । प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले पटक–पटक गरेको नेपाल भ्रमणले दुई देशको मित्रतामा मधुरता थपिएको छ । भारत नेपालको स्थिरता र विकासप्रति सकारात्मक छ ।

पछिल्लो सीमा विवाद नयाँ घटना होइन । न त यो बीज आज रोपिएको हो । नेपालका तथाकथित राष्ट्रवादीहरूलाई नै भारत–चीन युद्धका समय १९६२ मा आएर बसेको भारतीय सेनालाई फर्काउन नसक्नुमा भारतको गल्ती हो र ? राजा महेन्द्रले तात्कालीन वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सत्तालाई कुल्चिएर सुरू गरेको सामन्ती व्यवस्थालाई जोगाउनकै लागि भारतीय सेनालाई नेपालमा बस्न दिए । राजा महेन्द्रकै कारण आज यस्ता प्रकारका सीमा विवादहरू उब्जिएका हुन् । नेपालमा राष्ट्रवादको अनौठो परिभाषा छ ।

एकथरी अर्कोलाई अराष्ट्रिय देखाएर आफू राष्ट्रवादीको पगरी लगाउँछन् । राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्ममा पनि यो प्रवृत्ति थियो । आफ्ना हरेक कुकर्ममा भारतको सहयोग खोज्ने तर ती कुकर्मबाट सुरक्षित हुन भारत पुग्नुलाई अपराध ठानेर अराष्ट्रिय घोषणा गरेर आफू राष्ट्रवादी हुने गरियो । यो प्रवृत्तिका रूपमा फेरिएको छ । तर, सारमा अहिले पनि यो प्रवृत्ति कायमै छ । नेपालमा भारतको विरोध गर्नुलाई राष्ट्रवादी हुनु हो भन्ने ठान्छन् र त्यसो गरेबापत कोही चीनबाट र कोही पाकिस्तानबाट आशिर्वादको अपेक्षा गर्छन् । वस्तुतः कसैको विरोध र कसैको समर्थन गरेर राष्ट्रवाद हुन सक्दैन ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here