पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा मातृभाषा शिक्षा सञ्चालन हुन नदिने मनशायकै साथ मातृभाषा शिक्षक नियुक्ती प्रक्रियाविरुद्ध उच्च अदालत इलाममा मुद्दा हालिएको पाँच लिम्बुजन्य संस्थाका प्रतिनिधिहरुले दाबी गरेका छन् ।

याक्थुङ साम्नि यम्बुगेन नेपालका सचिव तिलविक्रम नेम्वाङ, लिम्बू भाषा विकास संस्था पाँचथरका अध्यक्ष दिलेन्द्र सुब्बा कुरुम्बाङ, याक्थुङ लेखक संघ पाँचथरका अध्यक्ष राज दिलाञ्जली, याक्थुङ मुन चइत चोःक सयःङ पाँचथरका अध्यक्ष सन्देश सुब्बा र लिम्बू पत्रकार संघ पाँचथरका अध्यक्ष निशा लोवाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उक्त दाबी गरेका हुन् ।

‘शिक्षक नियुक्ती प्रक्रिया गत वर्षदेखि नै प्रारम्भ भएको हो, गत वर्ष कसरी विधिसम्मत भो ? अनि त्यही प्रक्रियाबाट दुईजना अंग्रेजी शिक्षक पनि नियुक्त गरिएको छ, त्यो चाहिँ कसरी नियमसंगत भो ?,’ विज्ञप्तीमा भनिएको छ, ‘यी सबै हर्कत नियाल्दा नियतबस नै मातृभाषा पठनपाठनलाई अवरोध गर्न खोजिएको हो ।’

दुईजना शिक्षक को-को हुन् ? भन्ने विज्ञप्तीमा खुलाइएको छैन ।

उनीहरुले मातृभाषा पठनपाठन कार्य तत्काल सूचारु गर्न सम्बन्धित पक्षसँग आग्रहसमेत गरेका छन् ।

फाल्गुनन्द गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक नारायण आङदेम्बेले आफूहरुले दुईजना अंग्रेजी शिक्षक राहत कोटाबाट नियुक्त गरेको बताए । तर, उनले ती शिक्षकहरुको नाम लिन चाहेनन् ।

गाउँपालिकाको वडा नं ५ स्थित जनकल्याण मावि र वडा नं ३ स्थित सारताम माविमा सो प्रक्रियाबाट अंग्रेजी शिक्षक नियुक्त गरिएको बताइएको छ ।

गाउँपालिकाले आफ्नाे मातहतका ४० सामुदायिक विद्यालयमध्ये गत आर्थिक वर्षदेखि नै नौवटा विद्यालयमा मातृभाषा शिक्षा पठनपाठन लागू गरेको थियो ।

चालू आर्थिक वर्षदेखि थप १६ वटा विद्यालयमा मातृभाषा शिक्षा लागू गर्न खोजिएको थियो । जसका लागि मातृभाषाका शिक्षक नियुक्ती प्रक्रिया अघि बढाइएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी फाल्गुनन्द गाउँपालिकाका सचिव इन्द्रकुमार नेम्वाङले मातृभाषा शिक्षक नियुक्ती प्रक्रिया शिक्षा नियमावली विपरीत रहेको भन्दै उच्च अदालतमा रिट दायर गरे । सोपछि अदालतले मातृभाषा पठनपाठनका लागि शिक्षक नियुक्ती प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ ।

लिम्बुजन्य संस्थाहरुले गत आर्थिक वर्ष पनि सोही प्रक्रियाबाट शिक्षक नियुक्ती गरिएको तर त्यो विधिसम्मत हुने, गाउँपालिकामा त्यही प्रक्रियाबाट दुईजना अंग्रेजी शिक्षक नियुक्ती गरिएको त्यो विधिसम्मत हुने, तर थप १६ विद्यालयमा मातृभाषा शिक्षा लागू गर्नका लागि शिक्षक नियुक्ती प्रक्रिया अघि बढाइँदा यसपटक विधिसम्मत नहुने ? भन्दै नियतबस नै मातृभाषा शिक्षा अवरोध गर्न खोजिएको दाबी गरेका छन् ।

यसपटक शिक्षक नियुक्ती गर्दा आफ्नाे मान्छे नपरेपछि सो विषयलाई लिएर राजनीति गर्न खोजिएको आरोप छ ।

1 COMMENT

  1. कुम्मान केदेबा याक्थुंबारे आफाल्ल थारिक हुन्छि निसिक्पो कुनाम्मलक सेर याक्पा नोबा याम्पक क चोक्मा मेन्छुक्तुन मेलेसुन्नेन कर साङ् केचोक्पाहा आङ् चोक्मा मेन्बाङ्सीन कुन्बो केम्भारे मेमेतुसीबान लक्क मेकुयु र मेवा आनी साक्थीम, साम्यो,पान,सापसक हा यरिक याक्थुंङ्ले याम्बकहा वा चोक्माग मेन् फेलाम्मा रक मेलेसु हेकेले यम्बा पोङ्नाबाबि कुम्माङ् केदेभा चिताङ् सिर

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here