काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले नेपालको कम्युनिष्ट आन्दोलन ‘कुहिरोको काग’जस्तो बनेको बताएका छन् ।

बिहीबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित समाजवादी पार्टीको संघीय परिषद्को पहिलो बैठकमा उनले सो कुरा बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ विषयक १९ बुँदे राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

जसमा उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बारे विश्लेषण गर्दै प्रतिवेदनमा कम्युनिष्ट आन्दोलनबारे लेखेका छन् ।

‘नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको छ । एकातिर उनीहरुले माक्र्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गरिरहेका छन्, अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निराशा र हिनताभाष छ । यही वैचारिक संकटबिच उनीहरुले आफूलाई दार्शनिक तथा वैचारिक कम्युनिष्ट नभएर केवल राजनीतिक रुपमा मात्र कम्युनिष्ट बुझिदिन आग्रह गर्दै आएका छन्,’ प्रतिवेदनमा उल्लेख छ, ‘एकातिर लोकतन्त्रप्रतिको आफ्नाे निष्ठामा शंका नगर्न विनय गर्दछन् अर्कोतिर कम्युनिष्ट कम्युनिष्टको नाममा सामिप्यता र आडभरोसा खोज्न पनि छोडेका छैन् । एकदलीय सर्वहारा राज्य वा कम्युन प्रणालीलाई मौका पर्ने बित्तिकै गौरवीकरण गर्दछन् । यसरी नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले सुरुङभित्रको यात्रा गरिरहेको छ ।’

भट्टराईले संगठन राम्रो भए पनि वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेको नेकपा केही दशकभित्र उठ्नै नसक्ने गरी पतनको दिशामा उन्मुख भएको उल्लेख गरेका छन् ।

नेकपा एकैसाथ संसदवादी र कम्युनिष्ट बन्ने अन्तरविरोधपूर्ण बाटोमा अग्रसर रहेको उल्लेख छ ।

नेकपाभित्रका ठूल्ठूला नेताहरुको भ्रष्टाचार तथा नैतिक पतनका घटनामा लज्जास्पद ढंगले उदांगिदै गएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक क्षेत्रमा नेकपाले कांग्रेसको नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहेको छ । शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिष्ट नेतृत्वको सरकारमा पनि रोकिएको छैन । एनसेलको पुँजीगत लाभकर, बुढीगण्डकीको गेजुवा तथा वाइडबडी कमिशन प्रकरण भएका छन् । सम्पति शुद्धिकरण आयोगलाई निस्क्रिय बनाउने तथा ठूला आयोजनाहरु पनि विना टेन्डर सिधै सम्झतौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिशनतन्त्रसँगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन ।’

नेकपाले वर्तमान संविधान जारी गर्ने क्रममा कांग्रेससँग मिलेर मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित, खस, महिला आन्दोलनलाई निर्मम दमन गर्ने, सप्तरीको मलेठजस्ता घटना गराउन उद्यत हुने, टिकापुरमा थारु विद्रोहको निर्ममतापूर्वक दमन गर्ने, संसदीय शासकीय प्रणाली कायम राख्ने, दश प्लस एक मोडेलमा प्रदेश सीमांकन हुन नदिने काम गरेको भट्टराईले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here