काठमाडौं । नगरकोट क्षेत्र र सो क्षेत्रका सार्वजनिक सवारी साधनमा ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो टासिएका छन् ।

दुई वर्षमा बनिसक्नुपर्ने भत्केकोपाटी–नगरकोट सडक साढे सात वर्षमा पनि नबनेपछि उक्त सडकका ठेकेदार अधिकारीको विरोधमा सडकका पोलपोल र सवारी साधनमा उनको फोटो टासेर फरक तरिकाले विरोध गरिएको हो ।

अधिकारी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन् ।

अधिकारीको फोटोमा लेखिएको छ, ‘शारदा अधिकारी ठेकेदार सडक कालोपत्रे छिटो गर ।’ र फोटोमा कतै कुकुर र कतै बाँदरको फोटो पनि जोडिएको छ ।

स्थानीयले सडक निर्माणका लागि जति अनुरोध र विरोध गरे पनि अधिकारीले ठाडो कान नपारेपछि नयाँ तरिकाले विरोध गरेका हुन् ।

सडक छिटो बनाउनका लागि यसअघि २५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरी स्थानीयले आन्दोलन गरेका थिए ।

४० किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे गरिसक्ने गरी उक्त कामको जिम्मा अधिकारीको कम्पनी शैलुङ कन्सट्रक्शनले पाएको थियो ।

अधिकारीको लापरवाहीकै कारण हाल सडकमा खाल्डैखाल्डा छन् । सडकमा हिड्न गाह्र्रो भएको छ ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलोले स्थानीय हैरान हुने गरेका छन् । आफ्नाे हैरानी सम्बन्धित निकाय र सबैले थाहा पाऊन् भन्नका खातिर स्थानीयले यस तरिकाले विरोध गरेका हुन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here