-डा मित्र परियार

कतिपय दलित साथीहरू आफूलाई दलित होइन “शिल्पी” भन्न रुचाउँछन् । कुनै जमानामा हाम्रो कला र सिर्जनाको उच्च सभ्यता थियो भन्दै पनि छन् । भलै, यस तर्कमा कुनै धार्मिक वा ऐतिहासिक सत्य छैन ।

दलित भन्नेहरू पनि, शिल्पी भन्नेहरु पनि धेरै आफ्नो परम्परागत जातिगत शीपलाई गौरव ठान्ने र त्यसैको माध्यमबाट आर्थिक उन्नति पनि गर्ने, डिग्निटीको लडाइँ पनि लड्ने कुरा गर्दछन् । एकहदसम्म नेपालको खासगरि पहाडको परिप्रेक्षमा त यो ठिकै लाग्छ । किनकि कामीले हलो, कोदालो नबनाएकाे भए दाउराले खोस्रिएर खेती त कसरी लाउँथे होला र ! दमाईले लुगा नसिलाइदिए स्याउला र घासले लाज छोप्थे कि?

तर, हाम्रो पेसामा गौरव गर्ने कुनै ठाउँ छैन । भगवानको घरदेखि नै हातमा सियो, धागो र कैंची लिएर आएको होइन मैले । धातुको काम गर्नेलाई कुनै शास्त्रमा विश्वकर्मा भगवान् भनिएको आधारमा इज्जत पाइएला भनेर संबन्धित भारतीय समूदायहरूले आफूलाई विश्वकर्मा नै भने ।

त्यसको सिको पछि नेपालका केही जातिले गरे । तर समाजले संस्कारले गर्ने व्यवहारमा खासै फरक परेन । त्यस्तै, भारतमा एक जाति छ, जसले आफ्नो थर वालमीकी राखेको छ । तर तीनलाई ऋषिमुनि होइन हातले दिशापिसाव सोहोर्ने अत्यन्तै फोहर, अछूत जात भनेर भारतीय समाजले चिन्छ ।

दलितले आफ्नो पेसाको गौरव गर्ने हो भने वालमीकीहरूले त्यस्तो कामको पनि गर्व गरून्? ढलमा नजोडिएका टट्टी सफा गर्ने कामलाई आधुनिकरण गर्दै आर्थिक उन्नति गर्न खोज्ने कि अरू नै पेसा सकेसम्म अपनाउने तीनले?

त्यस्तै नेपाली तराईका दलितहरूका पेसा उस्तै छन् । मरेका गाईगोरू हटाउने जिम्मा छ कसैको । दुई साल पहिले गुजरातका दलितले विरोध स्वरूप सिनो उठाउन इन्कार गरेर आन्दोलनको उभार ल्याएका थिए ।

मैले लुगा सिएर पैसा कमाउला, इज्जत नासिन्छ । जति नै धनी भए नि सुनार अछूतै कहलिन्छ । साक्षात् विश्वकर्माको सन्तति ठान्ने कामी विचरा सार्वजानिक धारा, पधेरा छुँदा पनि मारिइन्छ ।

ए साथी हो, हामीलाई घृणित पेसा गर्न लाएर अपमानित गरेको राज्य सत्ताले हो । हिन्दू संस्कार र परम्पराले हो । नांगो हातले मलमूत्र सोहोर्ने पनि हामी जस्तै दलित हो र त्यो कुनै गौरवशाली पेसा होइन । हाम्रा परम्परागत पेसा पनि त्यस्तै हुन् । सकेसम्म त्याग्दै जानु भनेको पुरानो जातीय संरचना मान्दिन भनेको हो, विद्रोह गरेको हो ।

लुगा सिउने काममा हाम्रै मात्रै कपिराइट हुनपर्छ भन्ने पन्चे बाजा बजाउने अधिकार हाम्रो मात्रै छ भन्ने दमाईहरूले थाहै नपाई पुरानै हेपाहा संरचनालाई जगेर्ना गरिरहेका हुन्छन् । चेतना होस् !

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here