जनकपुर । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ बिहीबार जनकपुरबाट गरिएको छ ।

हिन्दुहरुको महान चाड छठको पूर्वसन्ध्यामा नेपाल भ्रमण वर्ष संयोजन समिति, संघीय सरकार र प्रदेश सरकारको संयुक्त तत्वाधानमा जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित कार्यक्रम मार्फत उपप्रधानमन्त्री सहितका अतिथिहरुले हातेमालो गर्दै नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालको प्राकृतिक, धार्मिक र सांस्कृतिक संगम विश्वकै लागि अनुपम रहेको दाबी गरे । उनले हिमालको चुचुरोदेखि तराई मधेशका फाँटसम्मको प्राकृतिक सौन्दर्यताको वर्णन गर्दै धार्मिक आस्थाका केन्द्र जनकपुर, लुम्बिनी लगायतका क्षेत्रहरु पर्यटक लोभ्याउन पर्याप्त रहेको जिकिर गरे ।

कार्यक्रममा संघीय सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटनको विकासको लागि संघीय सरकार तत्पर रहेको उल्लेख गर्दै पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकार संग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेशभित्र धार्मिक करिडोरको निर्माण गर्ने प्रक्रिया शुरु गरिसकेको उल्लेख गर्दै यसमा सहयोग गर्न संघीय सरकारलाई आग्रह गर्दै पर्यटकीय विकासमा संघ सरकारसँग हातेमालो गर्न एक कदम अघि बढने प्रतिवद्धता जनाए ।

उनले प्रदेश नं २ को विकास विना मुलुकको समृद्धि सम्भव नरहेको जिकीर गरे ।

प्रदेशका उद्योग वन तथा पर्यटनमन्त्री रामनरेश रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव सहितका वक्ताहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिएका  थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here