–राजकुमार राई

पन्ध्र दिनको फरकमा मनाइने किराँत चाडहरु दसैं र तिहार अहिले आम नेपालीको साझा चाड बनेको छ । भर्खरै दसैं सिद्घिएर अर्को किराँत चाड तिहार मनाइरहेका छौ । कतिपयले तिहारलाई हिन्दू चाड भनेर दाबी गर्ने गरेका छन् । यो कुरा कपोलकल्पित हो ।

किरात राई बान्तावा भाषामा तिहारलाई ‘टिः वारा’ भनिन्छ । जसको शाब्दिक अर्थ हुन्छ लुगा लगाउनु । यही टिः वारा शब्द नै अपभ्रंश भएर तिहार भएको हो । किनभने खस नेपाली भाषामा तिहारको कुनै शाब्दिक अर्थ छैन र हिन्दू मतावलम्बीले किन तिहार मनाउँछन् भन्ने बारेमा कुनै आधार र प्रमाण छैन । त्यति मात्र होइन तिहार उनीहरुको शास्त्रको विरुद्घ पनि छ । किरात समुदायमा भने यस चाडको उत्पत्ति र यसलाई मनाउनुपर्ने सम्बन्धमा ठोस आधार छन् ।

तिहारको उत्पत्ति सम्बन्धमा किराती समाजमा दुईवटा लोकोक्ति प्रचलित छन् । एउटा लोकोक्ति अनुसार प्राचीन समयमा सानैमा आमाबाबु मरेका किराती दिदीभाइ धेरै दुःख कष्टसाथ हुर्किए । युवावस्थामा पुगेपछि एकदिन भाइलाई ठूलो कष्ट आइपर्यो । दिदी घरमा नभएको बेला उसलाई कालले आएर भन्यो– ‘अब तिम्रो मर्ने समय भयो । तिम्रो ऋण धन जे छ सबै तिर र नातागोता आफन्तसँग भेटघाट बिदावारी गरी तयारी भएर बस । म तिमीलाई लिन आउँछु ।’ यसपछि कालले आफू आउने दिन तोकेर गयो । त्यसबेला काल देखिने गरी मान्छेलाई लिन आउँथ्यो र किराती परम्परामा बाधा पर्ने ऋण तिर्नको लागि समय दिन्थ्यो । ऋण नतिरेमा आत्माले बाटो पाउँदैन भनेर जिवितै हुँदा ऋण तिर्ने र कथं कदाचित तिर्न नसकेमा मृतकका उत्तराधिकारीले तिरिदिने प्रचलन अहिले पनि किरात समुदायमा छंँदैछ । यसरी खाउँखाउँ लाउँलाउँको अवस्थामा नै कालले लाने भएपछि भाइलाई ठूलो पिर पर्यो । यो कुरा दुखित हुँदै उसले आफ्नो दिदीलाई बतायो । दिदीले निकैबेर सोचेर भाइलाई कालबाट आफूले बचाउने र चिन्ता नगर्न भन्यो । दिदीको ढाडसले भाइ केही चिन्तामुक्त भयो । साँच्चिकै काल भने आफूले भनेकै दिनमा भाइलाई लिन आयो । तर त्यस दिन काल आउनुभन्दा अगावै किराती युवतीले आफूले बुनेको नयाँ लुगा लोक्छुम र फेटा भाइलाई लगाइदियो र भुइँमा बसाएर कलसको पानीले सात फन्को छेकी टिका र माला लगाइदियो र रक्सी, मासु, रोटी, फलाहार खान दियो । यसरी चेलीले माइतीलाई सात फन्को पानीले छेकेको सात समुद्र, बसेको जमिन टापु, लगाइदिएको नयाँ लुगा र फेटा रक्षा कवच, टिका सात सूर्य, फूलमाला घनघोर जङ्गल, सेलरोटी, मासु, फलाहर बिकट पहाड, रक्सी छाँगा छहरा भएको र यस बिचमा आफूले लाने मान्छे बसेको कालले देख्यो । यस अवस्थामा लिएर जानु त कता हो कता किराती युवा बसेको ठाउँतिर आँखा तिर्मिराएर कालले हेर्न पनि सकेन र ऊ रित्तै फर्केर गयो । यसरी कालबाट चेलीले जोगाएको हुनाले त्यसैबेलादेखि किरात समुदायमा टिः वारा (तिहार) चाड सुरु भएको होे र खबर गरेर आउँदा कर्तब्यबाट च्युत हुनु परेकोले सोही समयबाटै खबरै नगरी मान्छेलाई लिन काल सुटुक्क आउने गरेको हो ।

अर्को लोकोक्ति अनुसार प्राचीनकालमा किरात देश पाल्पामा किराती राजा बलिहाङ शासन गर्थे । उनी पराक्रमी, प्रतापी, बरि साथे अत्यन्त दानी पनि थिए । उनको दानको ख्याती देश–देशान्तरसम्म फैलिंदै बिष्णुको दरबार बैकुण्ठसम्म पुग्यो । जसले गर्दा बलिहाङप्रति बिष्णुमा ठुलो इष्र्या जाग्यो । इष्र्याले दरबारमा आकुलब्याकुल भएर भेष बद्लेर एकदिन बिष्णलेु याचकको रुपमा बलिहाङको दरबारमा पुगेर भन्यो– ‘हे बलिराजा ! तपाईंको सुनाम यस धरतीभरि दानी भनेर फैलिएको छ । म पनि तपाईंको सुनाम सुनेर दान माग्न तपाईंको दरबारमा याचकको रुपमा उपस्थित भएको छु । मेरो याचना पूरा गरिदिनुहुन्छ कि ? ’ बलिहाङले आफूसँग भएमा दान दिने बताए । बिष्णुले तीन पाइला जग्गा दान पाऊँ भन्यो । बलिहाङले तीन पाइला जग्गा दान दिएँ भने । बिष्णुले आफ्नो परिचय खुलाउँदै तीन पाइला जग्गाको जाली अर्थ लगाउँदै भने– ‘मेरो एउटा पाइलाले तिम्रो राज्य र अर्को पाइलाले तिम्रो राज्यमाथिको आकाश ढाकियो, अब बाँकी एक पाइला जग्गा देऊ भन्दै बलिहाङको निधारमा टेक्यो । यसरी बिष्णुले जालझेल गरेर बलिहाङलाई राज्यच्युत गर्यो । बिष्णुको जालझेलबाट सत्ताच्युत भएका बलिहाङ आफ्ना परिवार, भाइ भारदार, सर्वसाधारण जनतासँग जंगलतिर लागे । यस अवस्थामा उनी र उनको जनताहरुको ठूलो बिजोग भयो । यस दयनीय अवस्थाबाट पार पाउन उनले एउटा उपाय निकाले दान दक्षिणा बटुल्ने । उनले पुरुषहरुको टोली देउसी र महिलाहरुको टोली भैलो खेल्न देश देशान्तर पठाई संकलन भएको नगद र खाद्यान्नबाट भोक, प्यास, नाङ्गोपनबाट बचाए । यसरी त्यहीबेलादेखि किरात समाजमा देउसी भैलो र टिःवारा (तिहार) चाडको सुरुआत भएको हो । त्यसैले अहिले पनि तिहारमा देउसी भैलो खेल्दा ‘…यहाँ बस्ने होइन, पाल्पा बस्ने…..हामी त्यसै आएको हैन, बलिराजको हुकुम हुँदा, आएको हामी…..’ भन्ने गर्दछन् । बलिराजा भनेर उनै किरात राजा बलिहाङको पुकारा गरिएको हो । पाल्पा किरात शब्द हो । यहाँबाट उत्पत्ति भएर तराई झर्ने तिनाउ खोलाको नाम पहिला बलिहाङ थियो भनेर डा. गोपाल गुरुङले उल्लेख गरेका छन् ।

किरात जातिहरु स्वाभिमानी हुन्छन् । उनीहरु हत्तपत्त माग्ने काम गर्दैनन् । तर तिहारमा भने बलिहाङको नाम पुकार्दै देउसी भैलो खेलेर दान दक्षिणा माग्दछन् । पहिला पहिला किराती बस्तीमा देउसी भैलोमा चामल, पैसा, सेलरोटी, रक्सी, मासु, अचार मात्र होइन तेल, बेसार, नुन, खोर्सानी जस्ता चिजहरु पनि दिने गरिन्थ्यो जुन बलिहाङ विपद परी जंगलबास हुँदाखेरिको प्रचलन हो । शक्तिशाली र धनी राजा बलिहाङ सत्ताच्युत भएपछि आर्थिक रुपले अत्यन्त दयनीय अवस्थामा पुगेकोले धनको महत्व दर्शाउँदै किरात समाजमा तिहारमा धन पूजा गर्ने गरिएको हो ।

किरात समुदायका लिम्बुहरुले तिहारलाई बलिहाङ तङ्नाम भन्दछन् । यस चाडमा किरातहरुले सन्देशवाहक भएकोले काग, शिकारी युगदेखिको सहयोगी भएकोले कुकुर, बाह«ैमास खेती गर्न सघाउने भएकोले गोरु, सुख सम्पन्नता दिने भएकोले धन सम्पत्ति र कालबाट जोगाउन माइतीको पूजा गर्दछन् । राज्यबिहिन भएका जनसेवक दानी बलिहाङको राज्य, दरबार, धन सम्पत्ति, ऐश्वर्यको पुनःप्राप्ति र सुखको कामनाको लागि दियो बालेर घर दलान उज्यालो पार्दछन् ।
किरात परम्परामा तिहारमा माइतीले चेली मान्न चेलीको घरमा जानु पर्दछ । चेलीले पनि माइतीलाई रितपूर्बक टिका माला लगाइदिएर नयाँ लुगा दिनु पर्दछ र सेलरोटी, रक्सी, मासु, फलफूल खान दिनु पर्दछ । आर्थिक हैंसियतको कारण लुगा दिन नसकेमा नयाँ टोपी वा रुमाल नै भए पनि दिनुपर्दछ । बास्तबमा यही नै टिः वारा (तिहार) अर्थात् नयाँ लुगा लगाउनु हो । माइतीले पनि चेलीलाई टिका लगाइदिएर कपालमा फूलको थुँगा लगाइदिनु पर्छ र गच्छे अनुसार नगद पैसा दिएर गोडामा ढोग्नुपर्छ । यसरी प्राचीनकालदेखि मानिआएको तिहार किरात चाड हो ।

अब गत २०४६ साल यताको सेरोफेरोबाट आदिवासी जनजातिका केही हिस्साले दसैं र तिहार राज्यले लादेको हिन्दू चाड भएको हुनाले बहिष्कार गरेको भन्ने कुरातर्फ जाऔं । शाहवंशको सुरुआत नेपाललाई असली हिन्दुस्तान बनाउने ध्येयबाट भएको थियो । तसर्थ यस अवधिमा हिन्दु धर्म, दर्शन, मूल्य मान्यतालाई राजतन्त्रको रक्षा कवज बनाइयो । यस क्रममा नेपालका विविध जातिका सँस्कृति, रीतिथिति, प्रथा, परम्परा, देवी देउराली, आध्यात्मिक–धार्मिक सम्पदा मात्र नभएर गाउँठाउँ, नदी, खोलानाला, हिमाल, डाँडाकाँडा, गुफा, पोखरी, पहिरन, भेषभुसा आदि भेटे जत्ति सबै कुराको राज्यले हिन्दुकरण गर्यो जुन अभियान आफूलाई यो धर्तीको सबैभन्दा समानताको मसिह र प्रगतिशील दाबी गर्ने कम्युनिष्टहरुले नेत्रित्व गरिरहेको वर्तमान राज्यसत्तासम्म जारी छ । यसको प्रतिक्रियाको रुपमा कतिपय अज्ञानता र कतिपय मुख्र्याइँबस आदिवासी जनजातिका कतिपय ब्यक्तिले तिहार बहिष्कार गरेका हुन् । यसको साथै जातिहरुलाई मार्नु छ भने उसको भाषा सँस्कृति मारिदिनुपर्छ ऊ आफै मर्छ भन्ने पश्चिमा क्रिस्चियन धार्मिक मिसनहरुले धार्मिक साँस्कृतिक शुन्यता सृजना गरेर आफ्नो धर्म फैलाउने निहित उदेश्य पूर्ति गर्न पनि किरात चाड बहिष्कारको अफबाह फैलाइरहेका छन् । यसको शिकार सोझा र सरल जीवनयापन गरिरहेका आदिवासी जनजाति बनिरहेका छन् ।

एउटा प्रष्ट कुरा के हो भने तिहार नेपालका सबै आदिवासी जनजातिहरुको चाड नहुन सक्छ । किनभने विविध भौगोलिक आवाहवामा रहने आ–आफ्ना मौलिक भाषा, सँस्कृति, चाडबाड हुने उनीहरु महासागर हुन् । समग्र आदिवासी जनजातिको के कुरा किरात जाति र यसको एक शाखाको रुपमा रहेको राई जाति आफैमा महाजाति हो । हाल पनि २८ भाषा बोल्ने किरात राई जातिको आ–आफ्ना मूल्य मान्यता, रीतिथिति, भेषभुसा, चाडबाडहरु छन् । धनकुटामा सानो सँख्यामा रहेका आठाप्रे (आठपहरिया) राई र आँखिसल्लाका छुलुङभााषी राईले दसैं तिहार मनाउँदैनन्, तर सँगै एउटै गाउँमा बस्ने अरु थरी राईहरुले भब्यतापूर्बक मनाउँछन् । त्यसरी नै हिमाली क्षेत्रका शेर्पा, भोटे, थकाली आदि जनजातिले पनि दसैं तिहार मनाउँदैनन् ।

अब तिहार हिन्दू चाड हो होइन भन्नेतिर जाऔं । पहिलो कुरा हिन्दु धर्म, दर्शन, सँस्कृति उत्पत्ति र बिकास भएको आर्यवर्त भारतमा तिहार नै मनाउँदैनन् । उनीहरु लक्ष्मीपूजा र दिपावली गर्छन् जसको तिहारसँग कुनै सम्बन्ध छैन । अर्को कुरा तिहारमा बलिराज (बलिहाङ)को नाममा देउसी भैलो खेलिन्छ । हिन्दू ग्रन्थमा बलिराजालाई दानव राजा भनी दुत्कारिएको छ । आफैले घृणा गरेको ब्यक्तिको पुकारा गर्दै तिहार मान्नु हिन्दुको लागि बिरोधाभासपूर्ण देखिन्छ । यसको साथै तिहारमा टिका माला लगाएपछि चेलीलाई सम्मान गर्दै गोडामा ढोग्ने गरिन्छ जुन किरात सँस्कृति हो । किनभने किरात सँस्कृतिमा नारी र पुरुषमा समानता छ । तिहारमा चेलीलाई सम्मान गर्ने बिषय हिन्दू सँस्कृति विपरित छ । हिन्दू ग्रन्थमा नारीलाई शुद्र, नोकर, पशुको कोटिमा राखेर अपहेलित गरिएको छ । हिन्दू समुदायमा बिसं १९७७ सम्म लोग्नेको लाससँगै स्वास्नीलाई जिउँदै जलाउने सतिप्रथा कायम थियो । आजसम्म पनि हिन्दूहरुलाई दाहसँस्कार गर्ने ठाउँमा रहेको सतिघाट नामले एकसय वर्ष अगाडिसम्म प्रचलनमा रहेको हिन्दू नारीमाथिको त्यही दर्दनाक अमानवीय इतिहास बताउँछ । वर्तमान २१औं शताब्दीको सभ्य समाजमा समेत नारीमाथ छाउपडी प्रथा, दाइजो प्रथा, बिधवाले विवाह गर्न नपाउने प्रथा, पत्नी बुहारीलाई परिवारको सदस्य नभै नोकर्नीको रुपमा ब्यवहार गर्ने, स्वतन्त्रता नदिने जस्ता नारी उत्पिडन हिन्दु समुदायमा विद्यमान रहेकोले नारीलाई ढोगेर सम्मान गर्ने तिहार चाडलाई हिन्दू चाड भन्नु बिरोधाभासपूर्ण हुन्छ । तिहार किरात चाड हो । यसलाई राज्यसत्ताको बलमा हिन्दुकरण गर्ने दुष्प्रयत्न गरिएको हो ।
आज समयले कोल्टे फेरेको छ । हिन्दुवादी जगमा स्थापना भएर यसैको तागतमा मूलतः आदिवासी जनजातिहरुलाई राज्य, भाषा, सँस्कृति लगायत सबै क्षेत्रमा सर्बस्वबिहिन अवस्थामा पुर्याउने राजतन्त्र उन्मूलन भएर इतिहास भएको छ । यस अवस्थामा जबर्जस्ती हिन्दुकरण गरिएका, खोसिएका, नामेट पारिएका, ओझेलमा पारिएका आदिवासी किरात तथा सबै आदिवासी जनजातिका आध्यात्मिक साँस्कृतिक सम्पदाहरुको खोज, अनुसन्धान, पुनर्लेखन गर्दै मौलिक पहिचान पुनस्र्थापित गर्ने बेला आएको छ । यस महान कार्यको लागि जुटौं ।

(लेखक समाजशास्त्र÷मानबशास्त्र विषयमा स्नातकोत्तर हुन्)

3 COMMENTS

  1. धन्यबाद राजकुमार राइ सर, तिहार को बारेमा धेरै गहिराइ मा पुगेर बुझ्ने मौका मिल्यो, मेरो बुझाई मा पनि यो हिन्दु संस्कार संग त मेल खाने कुरै भएन र लक्ष्मी पुजा , तथा अन्य जन्तु (जनावर को ) पुजा ,यी सबै पछि थपिएका जस्तो लाग्छ।जब बलि राजा कै पाला बाट यो तिहार मान्ने चलन बसेको हो भनेर सबै ले थाहा पाई सक्दा पनि कहिकतै बलिराजा को पुजा गरेको देखिदैन मात्र भैलो खेल्दा * हामी त्यसै आएनौ बलिराजा ले पठाएको * रे, बरु काल्पनिक लक्ष्मी को फोटो, शिव को फोटो पो देखिन्छ त हौ हजुर। अनि त्यो समय मा पैसा को कुनै आबिस्कार नै भएको थिएन भने नगद को त कुरै भएन, जिन्सी हरु को चाहि मान्छे को उत्पत्ति देखि नै आबसकिय थियो र छ नै। जे होस् , अहिले सम्म अन्य इतिहास कार ज्यु हरु ,अग्रज हरु बाट धेरै कुराहरु सुनियो,पढियो, गर्व साथ् भन्नु मन लाग्छ, सम्पूर्ण नेपालीहरु को महान चार्ड नै यही हो, यो कुनै जात बिशेस,धर्म भिशेस र क्षेत्र बिशेस को रहेन,हुनु हुदैन। साथै यो चार्ड मनाउदा सबैले आ-आफ्नो जातिय पोसाक लगाउदा कसो होला?

  2. डा जगमान गुरुङ्को भनाइले खै के खै के भकोथेँ । यो बिष्लेशणले अली चित्त बुझ्यो।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here