प्रिय महराजी,
हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत पनि तरंगित त छँदैछ । म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु ।

यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसंग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु ।

१. माओवादी नेतृत्व तहमा हामी (विशेषत: प्रचण्ड र म) सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमान्दार पात्र मान्थ्यौं । हामीवीच विवाद पर्दा तपाईं दुइ जनाको कुरालाई हामीले विशेष महत्व दिन्थ्यौं । प्रचण्ड र मेरोबीचमा २०५५-५६ मा पहिलो ठुलो वैचारिक-सांगठनिक बहस हुँदा २०५६ साउन/भदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुइ जनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौं । (दुर्भाग्यवश त्यो बैठक सकेर फर्कने बित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो)

पछि पोष्टबहादुर बोगटी र तपाईँ पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो । २०७१ सालमा बोगटीजीको दु:खद निधन र पार्टीको क्रमश: ओरालो लाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्ण बनाउँदै लग्यो । कांग्रेस-एमाले पहिले नै भ्रष्टाचार र सुरासुन्दरी काण्डले बदनाम भैसकेका थिए । तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक-राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ । यसलाई तपाईं हामी सबैले स्वीकार्नैपर्छ ।

२. माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्यो ? त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला । हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पुर्याएकै हो । यसमा हामीले सामुहिक गर्व गर्नुपर्छ । तर रोजा लक्जेम्बर्गले भने झैं क्रान्ति स्थीर भएर बस्दैन, कि त त्यो अघि बढाइनु/बढ्नुपर्छ । नत्र त्यो पछाडि हट्छ । त्यस्तै अर्को भनाइ छ- शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ । अझै अर्को भनाइ छ- क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रन्तिक्रान्तिकारीमा बदलिन्छन् ।

यहींनेर हामी चुक्यौं । मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौं भनेको थिएँ । तर मैले साथीहरूलाई मनाउन सकिनँ । साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो । तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन । त्यसैले अब क्रमश: साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहनुभएको छ । तपाईं (महराजी) को पछिल्लो प्रकरण त्यसैको एउटा नमूना हो ।

३. यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ । सत्य कि तपाईंलाई थाहा छ कि सम्बन्धित महिलालाई थाहा छ । तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ । हामीले SLC मा पुष्कर शमशेरको “परिबन्द” कथा पढ्थ्यौं । त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ ।

यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेबारे स्कूलमा पढ्दा गुरूले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छु:

‘विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना।
तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता।।
साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबा:।
तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम्।।’

तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन । अझै गम्भीर कुरा त महिलालाई उपभोग्या वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको बलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानूनी दृष्टिले समेत दण्डनीय हुन्छ ।

हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीड़ित हुने भए पनि कहिलेकाही पुरूष पनि उत्पीडन वा प्रतिशोध/षड्यन्त्रको जालमा पर्नसक्छ । तपाईंको हकमा पनि अन्यथा भएको हुनसक्छ । त्यसनिम्ति पनि तपाईंले सत्यतथ्य बाहिर ल्याएर कानून बमोजिम न्यायको निरूपण गर्न र आफूलाई निर्दोष सावित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ । त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ ।

यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित्त गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ । भनिन्छ- गल्ती गर्नु अपराध हैन, गल्ती नसच्याउनु अपराध हो ।

तपाईंको शुभेच्छुक,
बाबुराम

डा. बाबुराम भट्टराईको फेसबुकबाट ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here