झापा । संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले अर्काे चुनावमा आफ्नाे पार्टीले ६० जना संघीय सांसद जित्ने गरी तयारी गरिरहेको बताएका छन् ।

शनिबार मञ्चअन्तर्गत संघीय लिम्बुवान मञ्च नेपालको मेची नगरको पाँचौ अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।

उनले नेकपाका अध्यक्ष केपी ओली, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुलाई भेट्न नै नचाहेको भन्दै उनीहरुलाई भेट्नका लागि पनि आफू अब संघीय संसदमा जाने बताए ।

संघीय संसदभित्र पुगेपछि तार चुडाएर माइकले प्रधानमन्त्रीको छातीमा टाउकोमा हान्ने आफ्नाे चाहना भएको लिङ्देनले बताए ।

उनले भने, ‘सुरक्षा निकायले पनि सुनोस् हामी आगो बोकेर हिडिरहेका छौ । संसदमा पुगेर तार चुडाएर माइकले प्रधानमन्त्रीको टाउकोमा हान्न सकिन भने त्यही आत्महत्या गर्न तयार छु ।’

लिङ्देनले आफूहरुलाई न ओली, प्रचण्ड देउवाले भेट दिएको न सिंहदरबार छिर्न दिएको गुनासो गरे ।
पहिचानविरोधी ठुला पार्टीका नेताहरुलाई भेट्नका लागि नै आफूहरु केन्द्रमा जाने उनले बताए ।

‘अर्को पटक केन्द्रमा ५०, ६० जना सांसद जितेर जाने प्रयास गरिरहेका छौ । तर हामी मन्त्री खान हैन, ओली प्रचण्ड देउवाहरुलाई भेट्न जाँदैछौ,’ उनले भने ।

उनले असोज ३ लाई कालो दिनकै रुपमा मनाउने प्रष्ट पारे ।
संविधानमा लिम्बुवान, खम्बुवान लगायतको प्रान्त नभएकोले संविधान स्वीकार्य नभएको लिङ्देनले बताए ।
उनले आफूहरु कुनै पनि धर्मको विरोधी नभएको बताए ।

सो क्रममा उनले ५ हजार वर्ष पुरानो इतिहास भएको धरानको विजयपुर दरबार क्षेत्रमा एमालेका नेताले बुल डोजर चलाएर ध्वस्त पार्न खोजेको बताए ।

तर उक्त क्षेत्रको संरक्षण गर्न मञ्च मात्रै लागि परेको उनले बताए । विजयपुरको संरक्षण गर्दा प्रहरीसँग लड्दा आफ्नाे पार्टीको विश्वकर्मा र मियाँ थरको हात भाँचिएको तर राई याक्खा देवानहरु भने रमिते बनेको आरोप लगाए । उनले भने, ‘यस्तो निकृष्ट नबनौ साथी हो ।’

लिङ्देनले आफूलाई कुनै बेला विरोधीले राजावादीसँग समेत जोडेको भन्दै सोको प्रतिवाद गरे । तर आफूमाथि राजावादीहरुको प्रस्ताव भने आएको उनको भनाइ छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here