काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ह्वील लक गरी कारबाही गर्ने ट्राफिक प्रहरीलाई स्याँबास दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले विधिको शासन सबैलाई समान रुपमा लागू गर्न सके मात्रै लोकतन्त्र बलियो हुने र सुशासन कायम हुने भन्दै ट्राफिक प्रहरीको राम्रो कामको सबैले प्रशंसा र सम्मान गर्नुपर्ने समेत बताए ।

ट्वीट गर्दै भट्टराईले लेखेका छन्, ‘विधिको शासन सबैलाई समान रुपमा लागू गरे लोकतन्त्रको जग बलियो हुन्छ र सुशासन कायम हुन्छ । अनि सबैका लागि समृद्धि आउँछ । ट्राफिक प्रहरीको यो सानो तर राम्रो सुरुवातको सबैले प्रशंसा र सम्मान गरौ । साथै सबैले पालना गरौ । यस्तो साना साना कुरा जोडेर ठूलो परिणाम आउँछ र देश बन्छ । स्याँबास् ।’

मन्त्री महासेठको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडी बानेश्वर क्षेत्रमा पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरिएको पाइएपछि बुधबार ट्राफिक प्रहरीले ह्वील लक गरेको थियो ।

पछि गाडीका चालकलाई एक हजार रुपैयाँ जरिवाना समेत गराइएको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here