काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौंको तिनकुनेस्थित बागमती नदीकाे पुल निर्माणमा पप्पु कन्स्ट्रक्सनको बदमासी भएको ठहर गर्दै पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले पुल निर्माणमा गम्भीर त्रुटिहरु गरिएको भेटिएपछि पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

साेअघि समितिले पुल निर्माणको स्थलगत निरीक्षणसमेत गरेको गरेको थियो । पुलको पाइल्स (पानी बग्ने ठाउँमा रहने पिल्लर) मा गम्भीर त्रुटि गरिएको भेटिएको थियो ।

२९.५ मिटर गहिरो (लम्बाई) मा १६ वटा (१२ सय एमएम) को पाइल्स निर्माण गर्नेगरी पुलको डिजाइन स्वीकृत भएकामा हालसम्म एउटा पाइल्स १६.५ मिटरको मात्र निर्माण गरिएको पाइएकाे थियाे भने अन्य निर्माणाधीन दुईवटा पाइल्स पनि क्र्याक भएको पाइएको थियो ।

उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरीत गुणस्तरहिन काम गरेको पाइएकाले पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिनुपरेको समितिकी सभापति कल्याणी खड्काले बताइन् ।

पछिल्लाे समय पप्पु विवादित निर्माण कम्पनीको रुपमा चिनिएको छ । यसले अन्य विभिन्न ठाउँमा पाएको निर्माणकाे ठेक्का पनि समयमा नबनाउने, अलपत्र छोड्ने र गुणस्तरहिन वस्तु प्रयाेग गर्ने गरेकाे आरोप छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here