काठमाडौं । गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक खारेज गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीले पानीको फोहोराले हानेर आन्दोलनकारीहरुलाई तितरबितर बनाएका हुन् ।
सरकारले ल्याएको विधेयकले मौलिक धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै विधिन्न संघसंस्थाका प्रतिनिधिहरुले माइतीघरमा प्रदर्शन गरेका थिए ।

सुरुमा मण्डलामै बसेर प्रदर्शन गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधि विस्तारै सडकमै निस्किएका थिए। प्रदर्शनका क्रममा सडकमै सुतेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

पटकपटक सम्झाउँदासमेत सडकमा सुतेका प्रदर्शनकारी नउठेपछि प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।

प्रदर्शनकारीले ‘गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ खारेज गर’, ‘परम्परागत सनातन धार्मिक सांस्कृतिक धरोहर अतिक्रमण गर्ने प्रस्तावित गुठी विधेयक २०७५ अबिलम्ब खारेज गर’लगायत लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

यसैबिच आन्दोलनमा प्रहरी हस्तक्षेप भएको विरोधमा आज आइतबार ५ बजे असनबाट विरोध जुलुस निकालिने भएको छ । उक्त विरोध जुलुसमा सहभागी हुने न्याय तथा संस्कृतिप्रेमीहरुलाई सहभागी हुन अपिल गरिएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here